scheduleबुधवार आषाढ़ २ गते, २०७८

पूर्व अमेरिकी राष्ट्रपति केनेडीले भोन पोष्टलाई लेखेका प्रेमपत्र बिक्री हुँदै

एजेन्सी, २४ बैशाख । अमेरिकका ३५ औं राष्ट्रपति जोन एफ केनेडीले आफ्नी स्विडिस प्रेमिकालाई लेखेका विभिन्न प्रेमपत्र लिलामीमा राखिएको छ ।

केनेडीले स्विडेनकी गुनिला भोन पोष्टलाई लेखेका घनिष्ठ प्रेमपत्रहरु बोस्टनस्थित एक लिलामी घरमा बिक्रीका लागि राखिएको हो । उनले लेखेका आठ वटा प्रेमपत्रमध्ये एउटा पूर्ण पत्र र दुईवटा छोटा सन्देश रहेका छन् । भोन पोष्टबाट प्राप्त ती प्रेमपत्र ३० हजार अमेरिकी डलर (३५ लाख ४० हजार) मा बिक्री हुने अपेक्षा गरिएको छ ।

हाल लिलामीमा राखिएका प्रेमपत्रहरु केनेडीले राष्ट्रपति हुनुपूर्व अर्थात् सन् १९५५ देखि १९५६ को बीचमा लेखेका थिए । म्यासाचुसेट्सको सिनेटर हुने बेलामा लेखिएका ती प्रेमपत्रमा उनले भोन पोष्टसँग बिताएको क्षणलाई ‘मेरो जीवनको उज्यालो सम्झना’ भनेर उल्लेख गरेका छन् ।

साथै, ती प्रेमपत्रमा केनेडीले भोनपोष्टसँग स्विडेनमा भएको भ्रमण यात्रा र भोन पोष्टको विहे गर्न लागेको खबरबारे जवाफ दिएका छन् । एउटा पत्रमा केनेडीले भोन पोष्टलाई अदभूत भन्दै निकै भेट्न मन लागेको भनेका छन् । अर्को एक पत्रमा भने ‘ज्याक’ मात्रै लेखेर हस्ताक्षर गरेका छन् ।

सन् १९५३ मा ज्याक्वेलिन बुभिएरसँग विवाह हुनु केही हप्ताअघि भोन पोष्टसँग केनेडीको भेट भएको थियो । सन् १९६३ मा उनको हत्या भएको थियो

स्विडेनको सम्भ्रान्त परिवारमा जन्मिएकी भोन पोष्टको निधन भने सन् २०११ मा भयो । उनले १९९७ मा केनेडीसँगको आफ्नो सम्बन्धबारे ‘लभ, ज्याक’ नामक संस्मरण लेखेकी थिइन् ।

(फोटो: न्युयोर्क पोष्टबाट)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय