scheduleमगलवार आषाढ़ १ गते, २०७८

चीनले अनियन्त्रित बनिरहेको आफ्नो रकेटबारे भन्यो- ‘पृथ्वीमा क्षति गर्ने संभावना अति कम छ’

एजेन्सी, २४ बैशाख । चीनले हालै अन्तरिक्षमा पठाएको विशाल रकेट पृथ्वीतर्फ फर्कने क्रममा छ । ‘सिजेड ५बि’ नामक उक्त रकेट अनियन्त्रित भएर पृथ्वीतर्फ आइरहेको र कुनै पनि स्थानमा खस्न सक्ने त्रास बढिरहेको छ ।

अमेरिकासहितका मुलुकले उक्त रकेटबाट पृथ्वीमा क्षति पुग्न सक्ने चिन्ता व्यक्त गरिरहेका छन् । तर चीनले भने रकेटको भग्नावशेषबाट पृथ्वीमा क्षति हुने संभावना निकै न्यून रहेको बताएको छ । वायमुण्डलमा पुन: प्रवेश गर्ने क्रममा रकेटको अधिकांश भाग जलेर नष्ट हुने भएकाले क्षति गर्ने संभावना निकै कम भएको चिनियाँ विदेशमन्त्रालयले बताएको हो ।

शुक्रबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनविङले पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्न लागेको रकेटलाई आफूहरुले नजिकबाट नियालिरहेको बताएका छन् । वायुमण्डलमा प्रवेश गर्ने बित्तिकै रकेटका विभिन्न अंश जल्ने र अधिकांश भग्नावशेष तत्काल नष्ट हुने उनको भनाइ छ ।

‘आकाश र पृथ्वीको सतहमा रहेका कुरालाई क्षति गर्ने संभावना अति न्यून छ’, वेनविङले भने ।

‘लङ मार्च ५ बि’ पनि भनिने उक्त रकेटमार्फत् केही दिनअघि चिनियाँ अन्तरिक्ष केन्द्रको मोड्युल ‘तिआनहे’ सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । तर उक्त मोड्युललाई अन्तरिक्षमा स्थापित गरेर पृथ्वीमा फर्किने क्रममा रकेट अनियन्त्रित बनेको हो ।

हाल सो रकेट प्रति सेकेण्ड ७ किलोमिटरका गतिले हिडिरहेको समाचारमा बताइएको छ । ‘सिजेड ५ बि’ रकेट मे ९ तारिखमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने संभावना रहेको वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

केही हप्ता पहिला स्पेस एक्सको फालकन ९ रकेटले स्टारलिंक टेलिकम्युनिशेन भू-उपग्रह पृथ्वीको कक्षमा स्थापित गरेर फर्कने क्रममा अनियन्त्रित भएको थियो । त्यतिबेला उक्त रकेट कहाँ र कहिले खस्छ भनेर वैज्ञानिकहरुलाई केही थाहा थिएन । अमेरिकाको पोर्टल्याण्ड र वाशिङ्टन राज्यमाथि हावामा उडिरहेका बेला फालकन ९ मा आगो लागेपछि वायुमण्डलमै नष्ट भएको थियो ।

पृथ्वीमा फर्किने क्रममा कुनै पनि रकेट वा भू-उपग्रहको गति नियन्त्रण गर्न सक्ने हो भने रकेट अवतरण गर्ने स्थान तय गर्न सकिन्छ । तर गति नियन्त्रण गर्न सकिएन भने कहाँ र कुनबेला खस्छ वा अवतरण हुन्छ भनेर निश्चित गर्न सकिँदैन ।

चीनले विकास गरेको ‘सिजेड ५बि’ रकेट निकै विशाल छ किनभने यसले अन्तरिक्षमा विभिन्न सामग्री बोकेर लैजान सक्छ । तर यसबारे धेरै जानकारी सार्वजनिक गरिएको छैन ।

रकेटको लम्बाइ ३३.२ मिटर र चौडाइ ५ मिटर रहेको बताइन्छ । त्यस्तै रकेटको तौन १९.८ टन भएको अनुमान गरिन्छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय