scheduleबुधवार आषाढ़ २ गते, २०७८

खोरबाट निस्केको अजिङ्गर हराएपछि योकोहामामा खैलाबैला, खोजी कार्य जारी

एजेन्सी, २४ बैशाख । जापानको योकोहामास्थित एक एक अपार्टमेन्टबाट हराएपछि स्थानीय बासिन्दा डराएका छन् । हाल उक्त अजिङ्गरको खोजी कार्य जारी छ ।
थुनेर राखेको सिसाको खोरबाट फुत्किन सफल भएपछि उक्त अजिङ्गर अमार्टमेन्टको झ्याल हुँदै बाहिर निस्केको हुन सक्ने स्थानीय समाचार माध्यमले जनाएका छन् ।
बिहीबार मालिकले आफूले पालेको अजिङ्गर हराएको खबर गरेका थिए । उनले कामबाट घर फर्किँदा अजिङ्गर राख्दै आएको सिसाको खोर खाली देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै १० जना प्रहरी परिचालन गरिएको र हाल उनीहरुले वरपरको क्षेत्रमा अजिङ्गरको खोजी गरिरहेका छन् ।
समाचार अनुसार अजिङ्गर पाल्दै आएका मालिकले भेन्टिलेसनका लागि झ्याल खुला राखेका थिए । सिसाको पिँजडामा रहेको अजिङ्गर सोही झ्यालबाट बाहिर निस्केको बताइएको छ ।
हराइरहेको अजिङ्गर पहेँलो रङ्गको रेटिकुलेटेड प्रजातिको हो । यो प्रजातिको अजिङ्गरलाई सबैभन्दा लामो प्रजाति मानिन्छ । दक्षिण र दक्षिणपूर्वी एसियामा पाइने यो प्रजातिको लम्बाइ ९ मिटरसम्म हुन्छ ।
जापानमा अनुमति लिएर घरमा अजिङ्गर पाल्न पाइने व्यवस्था छ । हराइरहेको अजिङ्गरका मालिकले चार वर्षअघि अनुमति लिएका थिए । उनले पाल्दै आएको अजिङ्गर ११ फिट लामो र तौल २८ पाउण्ड भएको समाचार माध्यमले जनाएका छन् ।
रेटिकुलेटेड प्रजातिको अजिङ्गर विषालु भने हुँदैन । तर यसले ज्यान जाने गरी आफ्नो शिकारलाई बेर्ने गर्छ र कहिलेकाहीँ मानिसलाई पनि आफ्नो शिकार बनाउन सक्छ । सन् २०१७ र २०१८ मा खेतमा काम गरिरहेका एक महिला र एक पुरुषलाई इन्डोनेसियामा यही प्रजातिको अजिङ्गरले निलेको थियो ।
यही कारणले पनि पालेको अजिङ्गर हराएपछि योकोहामाका स्थानीय बासिन्दाहरु डराइरहेका हुन् । प्रहरीले समेत स्थानीयलाई घाँसे क्षेत्रबाट टाढै रहन भनेका छन् ।
‘म एकदमै डराएको छु । साना बालिकाहरु सिङ्लै निलिन सक्छन् । मैले आफ्ना केटाकेटीलाई पार्कमा लैजान सकेको छैन’, त्रसित बनेका एक व्यक्तिले ट्विटरमा लेखेका छन् । त्यस्तै अर्का ट्विटर प्रयोगकर्ता लेख्छन्- ‘अजिङ्गर कोरोनाभन्दा लाखौं गुणा डरलाग्दो छ ।’
गुगलको ट्रेन्डिङ अनुसार शुक्रबार रातिसम्म जापानमा सबैभन्दा बढी सर्च गरिएको विषयमा हराएको अजिङ्गर पनि परेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय