scheduleमगलवार आषाढ़ १ गते, २०७८

भारत र पाकिस्तानको विडम्बना: आणविक हतियार बनाए तर कोरोनासँग लड्न सकेनन्

शामिल शम्म

एजेन्सी, २५ बैशाख । हाल भारत र पाकिस्तानमा कोरोना भाइरसका कारण जन स्वास्थ्यमा गम्भीर संकट देखिइरहेको छ । भारतमा कोरोना संक्रमितले अक्सिजन पाइरहेका छैनन् । पाकिस्तानले कोरोना संक्रमितलाई खोप उपलब्ध गराउन सकिरहेको छैन ।

तर दुबै मुलुक परमाणु हतियारसम्पन्न मुलुक हुन् । दुबै मुलुकले आफ्नो बजेट ठूलो हिस्सा रक्षा क्षेत्रमा खर्च गर्छन् । भारत र पाकिस्तानले अत्याधुनिक हतियार खरिद गर्न सक्छन् । ब्यालिस्टिक मिसाइल परीक्षण गर्न सक्छन् । तर दुबै मुलुक कोभिड-१९ को संकट समाधान गर्न सकिरहेका छैनन् ।

भारत र पाकिस्तानका लागि अत्याधुनिक हतियार र मिसाइल परीक्षणमा लगानी गर्नुको साटो जन स्वास्थ्यमा लगानी गर्नुपर्ने समय आएको छ । यो कुरालाई पाकिस्तानका प्रगतिशील इतिहासकार डा. मुबारक अलीले हालै सामाजिक सञ्जालमा लेखेको कुराले पनि प्रस्ट पार्छ ।

अलीले सामाजिक सञ्जालमा भारत र पाकिस्तानमा कोरोना संकट सामना गर्ने कुरामा जुन लापरवाही भएको छ, त्यसले दुबै मुलुकका लागि ‘युरेनियमभन्दा अक्सिजनको खाँचो रहेको देखाउँछ’ भनेर लेखेका थिए ।

भारतमा महामारीको स्थिति भयावह बनिरहेको छ । पछिल्लो एक हप्तामा मात्रै त्यहाँ १५ लाख ७० हजार मानिसमा कोरोना भाइरस देखिएको छ भने १५ हजार एक सय जनाले ज्यान गुमाएका छन् । कोरोनाको दोस्रो लहर निकै घातक रहेको र यसबाट भारतमा आधारभूत स्वास्थ्य सुविधा निकै कमजोर रहेको देखिन्छ ।

पाकिस्तानमा दिनदिनै अवस्था खराब बनिरहेको छ । त्यहाँ संक्रमण र मृतकको संख्यामा बढोत्तरी भइरहेको छ । पछिल्लो एक हप्तामा ३० हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । खोप अभियान पनि निकै सुस्त गतिमा अघि बढिरहेको छ किनभने सरकारसँग खोप किन्ने पैसा छैन । चीनसहित केही देशले केही लाख खोप उपलब्ध गराए पनि २२ करोड जनसंख्या रहेको पाकिस्तानमा उक्त संख्या निकै कम हो ।

सरकारी अहंकार

यस्तो अवस्था हुँदा हुँदै पनि भारत र पाकिस्तानको सरकारले आफ्नो खर्च नीतिलाई मूल्यांकन गर्न तयार छैनन् । स्वतन्त्रतापछिका पछिल्ला ७० सालमा दुबै मुलुकले जन कल्याणको तुलनामा रक्षा मामलामा बढी लगानी गरेका छन् । दुबै मुलुकको सेना निकै ठूलो छ । यही भएर दुबै मुलुकमा जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि छ ।

त्यतिबेला मात्रै यस्तो अवस्था देखिन्छ जब कुनै विकासशील मुलुकले सुरक्षासम्बन्धी खर्चलाई प्राथमकितामा राख्छ । भारत र पाकिस्तानसँग अत्याधुनिक टैंक र लडाकु जहाज छन् तर अस्पतालमा बेड, आईसियू र भेन्टिलेटर छैनन् ।

भारत र पाकिस्तानमा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गइरहेको छ तर नागरिक प्रशासनसँग यसलाई सामना गर्ने क्षमता छैन । सरकारले नै ७० सालसम्म स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नगरेको अवस्थामा स्वास्थ्य संस्थाले एक पिढीमा एक पटक आउने कुनै महामारीसँग कसरी लड्न सक्छन् त?

पाकिस्तानको सत्तामा रहेका व्यक्तिको आम जनताप्रतिको उदासीनता त्यतिबेला स्पष्ट भयो जब मार्च २५ मा उनीहरुले परमाणु हतियार बोक्न सक्ने एक मिसाइल परीक्षण गरे । त्यसबेला उनीहरुले खोपका लागि मानिसहरुले पर्खिनु पर्ने भनेका थिए ।

‘शाहीन-१ ए’ ब्यालिस्टिक मिसाइलमा खर्च भएको पैसाबाट कोरोना खोपका कतिवटा डोज किन्न सकिन्छ ? एकछिन कल्पना गर्नुहोस् त।

त्यति नै बेला भारतको सरकार पनि आफ्नो सेनालाई आगामी दुई वर्षभित्र प्रविधियुक्त तहमा पुर्‍याउने र मजबुत बनाउने तयारी गरिरहेको थियो । मिडिया रिपोर्टका अनुसार यसका लागि भारतीय सरकारले ‘दृश्य श्रेणी’ का मिसाइल, ट्याङ्क प्रतिरक्षा हतियार, ड्रोन प्रतिरक्षा प्रणाली, गाइडेड बम तथा एन्टी एयरफिल्ड हतियार जम्मा गर्ने तयारी गरिरहेको थियो ।

गतल प्राथमिकता

कोरोना भाइरसको महामारीले निकै विकसित स्वास्थ्य सेवा/प्रणाली भएका मुलुकको स्वास्थ्य अवस्था समेत धरासायी बनाएको थियो । यो महामारीले विकासशील देशमा समृद्धिका लागि प्रभावकारी स्वास्थ्य सेवा हुनुपर्ने कुरा कति महत्वपूर्ण छ भनेर देखाइदियो ।

शक्तिशाली सैन्य व्यवस्था तथा धेरै रक्षा बजेटबाट भारइससँग लड्न सक्दिँदैन । यही भएर भारत र पाकिस्तानले आफ्ना जनतासामु लामो समयसम्म आफ्नो परमाणु क्षमतालाई न्यायसंगत ठहर गर्न सक्दैनन् । विशेषगरी जनताहरु औषधि, अस्पताल र अक्सिजनका सिलिण्डरको अभावबाट गुज्रिरहेका बेला यो कुरा प्रमाणित गर्न सकिँदैन ।

दुबै मुलुकका शासकले आफ्नो युद्धउन्माद नीतिलाई त्यागेर आपसी विवादलई राजनीतिक तथा कुटनीतिक तरिकाले हल गर्ने प्रयास गर्नुपर्छ । कोभिड वा भविष्यमा आउन सक्ने यस्तै खाले कुनै महामारीसँग जुध्ने सबैभन्दा सही तरिका भनेको छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो हुनु र क्षेत्रीय स्तरमा हुने सहयोग मजबुत बनाउनु हो ।

यो महामारीले एउटा कुरा प्रस्ट पारेको छ- यदि दक्षिण एसियाका छिमेकी मुलुक शान्ति तथा सामन्जस्यतातर्फ अघि बढेनन् भने आगामी दिनमा उनीहरुको अर्थव्यवस्थालाई ध्वस्त हुनबाट कसैले रोक्न सक्दैन । र सेनाले पनि रोक्न सक्दैन ।

(डिडब्लु डटकमको हिन्दी संस्करणमा प्रकाशित शामिल शम्मको ब्लगको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय