scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोनाको कारण मोदीमाथि चौतर्फी दबाबः राजीनामाको माग बढ्दै

नयाँ दिल्ली, २५ वैशाख । कोरोना संक्रमण र मृत्यु भयावह हुँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि चौतर्फी दबाब पर्न थालेको छ । मिडिया, नागरिक समाज र विपक्षी नेताहरूले प्रधानमन्त्री पदबाट उनको राजीनामा माग्न थालेका छन् । सामाजिक सञ्जालमा उनले राजीनामा गर्नुपर्ने पक्षमा आवाज बढ्न थालेको छ ।

मोदी सन् २०१४ को आम निर्वाचनपछि पहिलोपटक सत्तामा आएका थिए । सन् २०१९ को आम निर्वाचनमा उनी दोस्रो पटक निर्वाचित हुन सफल भएका थिए । मोदी आफ्नो शासनकालको ७ औं वर्षमा छन् । सन् २०२४ मा हुने निर्वाचनले उनी र उनको पार्टीको राजनीतिक भबिष्य निर्धारण गर्ने ठानिएको छ ।

गत वर्ष कोरोना संक्रमण तीव्र हुन थालेयता भएका प्रादेशिक निर्वाचनमा मोदीको पार्टी भाजपाले मिश्रित परिणाम प्राप्त गर्दै आएको छ । कतिपय प्रदेशमा भाजपाले कोरोना महामारीका बाबजुद राम्रो जनसमर्थन हासिल गरिरहेको छ भने कतिपय प्रदेशमा भने निक्कै कमजोर नतिजा हासिल गरेको छ ।

जस्तो कि भर्खरै सम्पन्न ५ प्रादेशिक विधानसभाको निर्वाचनमा भाजपाले असममा फेरि बहुमत हासिल गर्‍यो भने पश्चिम बङ्गालमा ७७ सिटसहित प्रमुख प्रतिपक्षी दल बन्यो तर केरलामा भने एक सीट पनि हासिल गर्न सकेन ।

कोरोना संक्रमणको भयावहताका बाबजुद भाजपा र प्रधानमन्त्री मोदीको राजनीतिक पकड खासै कमजोर भएको छैन तर उनीमाथि कोरोना नियन्त्रण गर्न नसकेको आरोप र नैतिक दबाब भने चौतर्फीरुपमा बढ्न थालेको छ ।
करिब १५ यता भारतमा कोरोना संक्रमण दर प्रतिदिन औसत ३ लाखभन्दा माथि छ भने प्रतिदिन औसत ३ हजार बढीको मृत्यु भइरहेको छ ।

सरकार र मोदीमाथि बिरलै टिप्पणी गर्ने विपक्षी नेतृ सोनिया गान्धीले मोदी सरकारको चर्को आलोचना गरेकी छन् । उनले कोरोना नियन्त्रण गर्न सरकार पूर्णतः असफल भएको हुँदा सर्वदलीय संयन्त्रको अभ्यास अगाडि बढाउन माग गरेकी छन् ।

करिब दुई हप्ता अघि कोलाकताबाट प्रकाशित हुने प्रतिष्ठित समाचारपत्र द टेलिग्राफले विशेष सम्पादकीय लेखेर ‘मोदी र मोदीको समूह अब सत्ता र शक्तिबाट बाहिर जान जरुरी’ भएको ठहर दिएको थियो । रुचिर जोशीले लेखेको त्यो विशेषः सम्पादकीय टिप्पणी देशभरि चर्चित भएको थियो ।

प्रतिष्ठित लेखक तथा नागरिक अभियानकर्मी अरुन्धती रायले पनि एक लेख लेख्दै मोदीको बहिर्गमनको माग गरेकी छन् । उनले भनेकी छन् कि लोकतन्त्रमा हामी निर्वाचित पार्टीभन्दा बाहिरको सरकारको कल्पना गर्न सक्दैनौं । तसर्थ सरकारमा आउने चुनावअघि भाजपा नै रहने हो तर मोदी विदा होऊन । उनले आफ्नै पार्टीको कुनै नयाँ नेतालाई विश्वास गरून् । मोदी असक्षमताको भार अब देश र जनताले बोक्न सक्दैन ।

बार एशोसिएनसका पूर्व सचिव तथा बरिष्ठ अधिवक्ता दुष्यन्त दुबेले देशको यस्तो हालत बनाएर मोदीलाई सरकारमा बसिरहन कुनै नैतिक अधिकार नभएको प्रतिक्रिया दिएका छन् । उनले जनता दिनहुँ मरिरहँदा पनि मोदी–शाहको अनुहारमा कुनै चिन्ता नदेखिएको, शासक समूह पुरै अमानवीय र संवेदनाहीन भएको समेत आरोप लगाए ।

भाजपाप्रति रुझान राख्ने मानिएका चर्चित उपन्यासकार चेतन भगतले समेत मोदी सरकारले आलोचना गरेका छन् । उनले दैनिक भाष्करमा एक लेख लेख्दै कुम्भ मेला नरोकेकोप्रति लक्षित गर्दै मोदी सरकारको आलोचना गरेका थिए ।

मोदी र मोदी निकटस्थले यस्ता टिप्पणीमाथि कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । विश्लेषकहरू भन्छन् कि जतिसुकै चर्को राजीनामाको माग उठे पनि मोदीले राजीनामा दिने सम्भावना भने छैन । साथै कोरोना संक्रमणको स्थिति यति धेरै बिग्रँदै गएको छ कि मोदी सरकारको रणनीतिबाट त्यसको नियन्त्रण असम्भव देखिँदै गएको छ ।

कोरोना संक्रमितको सूचिमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ भने मृतक धेरै हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । गत हप्तासम्म संक्रमित धेरै हुनेको सूचिमा ब्राजिल दोस्रो र मृतक धेरै हुनेको सूचिमा मेक्सिको तेस्रो स्थानमा थियो ।

विगत १० दिनको संक्रमण र मृत्युदर कायम रहेमा एक महिना बित्दानबित्दै भारत संक्रमित र मृतक दुवैको सूचिमा पहिलो स्थानमा पुग्न सक्ने सम्भावना तीव्र बनेको छ ।

अमेरिकी तथा युरोपेली सञ्चार माध्यमहरूले भारत र ब्राजिलको अहिले चर्को आलोचना गरिरहेका छन् । अधिकांशले भारत र ब्राजिलको असफलतालाई त्यहाँका शासकहरूको विज्ञानप्रतिको अविश्वासको परिणाम भएको टिप्पणी गरेका छन् ।

ब्राजिली राष्ट्रपति जायर बोल्सोनारोले प्रारम्भदेखि नै तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नीतिको अनुशरण गरेका थिए । उनले कोरोनालाई सामान्य फ्लु भएको भन्दै मास्क लगाउन आवश्यक नभएको बताएका थिए । विश्व स्वास्थ्य मापदण्डप्रति पनि उनले कुनै चासो देखाएका थिएनन ।

ट्रम्पको बर्हिगमनपछि अमेरिकामा थोरै सुधार आयो । नयाँ राष्ट्रपति जो वाइडनले कोरोना प्रतिरोधमा व्यापक लगानी र निगरानी बढाए । स्वास्थ्य मापदण्ड लागू गर्न निक्कै मेहनत गरे ।

तर, ब्राजिल र भारतको अवस्था भने झनझन बिग्रँदै गयो । अहिले मोदीको चौतर्फी आलोचना हुन थालेको छ । आधुनिक भारतको चक्रबर्ती सम्राट भनिएका मोदी कोरोनाको सामु निरीह र उपायहीन बन्दै गएका छन् ।

मोदी सरकारको असफलताको मुख्य कारण दोस्रो लहरको अनुमान गर्न नसक्नु र त्यही बेलामा व्यापक चुनावी र्‍यालीहरू गर्नु रहेको देखिन्छ । लोकतान्त्रिक मुलुकमा नियमित निर्वाचन हुनु कुनै नराम्रो कुरा हैन । अमेरिकी राष्ट्रपति निर्वाचन लगायत कयौं देशका आम निर्वाचन कोरोना कहरकै बीचमा भए । तर, चुनावको भारतीय संस्कृति भिन्नै थियो, त्यसको आंकलन सरकारले गरेन ।

पश्चिमा देशहरूमा चुनावका बेला ठूल्ठूला र्‍याली वा आमसभा गरिँदैन । धेरै मतदाताले घरबाटै अर्ली मतदान गर्दछन् । मतदानको दिन धेरै बुथहरू हुन्छन, जसले गर्दा सामाजिक दूरी कायम गर्न सजिलो हुन्छ ।

तर, भारतमा यी संस्कृति र प्रचलन छैनन् । कोरोना महामारी बीचमा चुनाव गराउँदा यस्ता प्रचलनतिर देशलाई प्रवृत गराउन सक्ने ठूलो अवसर थियो । तर, मोदी सरकार, भारतीय निर्वाचन आयोग र राजनीतिक दलहरूले त्यतातर्फ ध्यान नै दिएनन् ।

कोरोनाको दोस्रो लहरबारे विशेषज्ञहरूले ध्यानाकर्षण भने बारम्बार गरिरहे । तर, सरकारले यसलाई महत्व दिएन । दोस्रो लहर र कतिपय अत्याधिक जनसंख्या भएका राज्यहरूको प्रादेशिक निर्वाचन सँगसँगै पर्न गयो । अर्कोतिर कोहोरा महामारी बीच नै मध्यप्रदेशमा ठूलो आकारको दल बदल र उपनिर्वाचन भयो । यी सबै घटनाले कोरोना संक्रमणको भयावहतालाई व्यापक बनायो ।

कारोना संक्रमण बढ्दै गएपछि अस्पतालमा बेडको कमी हुन थालेको छ । अक्सिजन र भेन्टिलेटरको मागलाई सरकारले पुरा गर्न सकेको छैन । कोरोना बिमारीहरू अस्पतालको चौर, गेट र अगाडि सडकमै मर्न थालेका छन् । यो स्थिति कुनै कमजोर वा सानो राज्यमा हैन, दिल्ली, बुम्बईजस्ता ठूला शहर मै देखिएको छ ।

यावत नैतिक दबाबका बाबजुद मोदी राजनीतिकरुपमा भने सुरक्षित छन् । न त पार्टीभित्र उनलाई चुनौति दिन सक्ने कोही देखिएको छ न त संसदमा नै उनले बहुमत गुमाएका छन् । तर, जनस्तरबाट प्रकट भइरहेको तीव्र विरोध र असन्तुष्टिले भने मोदी सरकारलाई अप्ठ्यारोमा पार्दै लगेको छ ।

मोदी समर्थकले भने अझै सरकारको प्रतिरक्षा गर्न छोडेका छैनन् । मोदीले राजीनामा गर्ने हो भने स्थिति झनै बिग्रन सक्ने उनीहरूको तर्क छ । यता भाजपा निकट पत्रकारले लेखेका छन् कि मोदी जस्तो व्यक्तित्व हुँदा त यो हालत छ भने उनको ठाउँ लिन सक्ने अर्को व्यक्ति अहिले को हुन सक्ला र ?

मोदी सरकारको अबको रणनीति के हुन्छ ? अझै प्रष्ट छैन । मोदी-शाह आफैं अनिर्णयको बन्दी बनेको धेरैको आरोप छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय