scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

किन राम्रा भएनन् हाम्रा दल ? किन कहिल्यै सुध्रिएन नेपाल ?

डम्बर खतिवडा

मेरा एक ट्वीटर मित्र छन् । ८ वर्ष पुग्यो ट्वीटर प्रयोग गर्न थालेको । झण्डै त्यति नै समयदेखि हामी एक अर्कालाई ‘फलो’ गरिरहेका छौं । उनी अक्सर सिनेमासम्बन्धि ट्वीट गर्दछन् । हिन्दी गीत, गजल, कविता र संवादका टुक्राहरू बढी ट्वीट गर्दछन् ।

स्वभावैले ट्वीट छोटो हुन्छ । यो ‘माइक्रो ब्लगिङ’ को माध्यम हो । तर, उनका ट्वीट मलाई विशाल सिने जगतको व्यापक समीक्षा जस्तो लाग्दछ । उनका ट्वीटबाटै म कयौं सिनेमा हेर्ने नहेर्ने निर्णय गर्छु । त्यसअघि नामै नसुनेका कयौं पुराना सिनेमा युट्युबमा खोजेर हेर्छु । सिने जगतका कयौं ऐतिहासिक घटना, कलाकारका सम्बन्ध र कडीहरू बुझ्छु ।

उनले यदाकदा हिन्दी अनलाईनका महत्वपूर्ण लिंकहरू पनि दिन्छन्, त्यसबाट पाइने आलेखहरू पढ्न भिन्दै मज्जा हुन्छ । उनी ट्वीट जगतमा मेरो लागि सर्वाधिक काम लाग्ने, फाइदाजनक मित्र सावित हुँदै आएका छन् ।

‘प्रभासराज’ छ उनको ट्वीटर एकाउन्ट । उनको वास्तविक नाम के हो ? मलाई अहिलेसम्म थाहा छैन । थर, ठेगाना थाहा छैन । कहिँकतै अहिलेसम्म औपचारिक भेट भएको छैन । भीडभाडमा कतै भएको भए मलाई सम्झना छैन । फोटो हेर्दा ठूलो कालो चश्मा लगाएका छन् । साउथ सिनेमाका ‘राउडी हिरो’ जस्तो लाग्दछन् । यो ‘राउडी हिरो’ शब्द यहाँनेर प्रयुक्त छ-छैन, मलाई थाहा छैन, मैले उनकै ट्वीटबाट टिपेको हुँ ।

तर, आज मैले उनको चर्चा गर्नुको कारण भने बेग्लै छ । उनले अक्सर मेरा ट्वीटमा टिप्पणी गर्दछन् । हिन्दीमा एउटा शब्दाबली छ– मिठी दर्द । यो आफैंमा अनौठो छ । यदि दर्द (पीडा/दुखाई) हो भने मिठी (मिठो) नहुने पर्ने । यदि मिठो छ भने त्यो ‘दर्द’ नमानिनु पर्ने ।

उहिल्यै ‘इङ्ग्लिस फर कलेज’ मा ‘हिरो वाइ चान्स’ भन्ने एउटा लघुकथा थियो । दिनेशरन्जन झा सरले पढाएको त्यो कक्षा मलाई अहिले पनि याद आउँछ । कुनै एउटा जवान केटो अनेक कारणले ‘फ्रष्टेट’ भएर काठे भाडाको घरको माथिल्लो तलामा सुतिरहेको हुन्छ । पढाई, रोजगार, व्यक्तिगत जीवन र भबिष्यबारे ऊ चिन्तित हुन्छ । राति अचानक घरमा आगो लाग्दछ । जब ऊ ब्युझेर तल हामफाल्न खोज्छ, उसको हातमा झुम्रोको एउटा बन्डल कतैबाट झर्छ । ऊ बन्डलसहित हामफाल्छ ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

त्यो बन्डलमा जिउँदो बच्चा हुन्छ । आगलागी भएको घरबाट सबै मानिस अगाडि नै निस्किसकेका हुन्छन् । त्यो युवक र बच्चा अन्तिम हुन्छन् । मानिसले ठान्छन् कि बच्चा जोगाउनकै लागि युवक अन्तिमसम्म आगलागी भएको घरबाट झरेको थिएन । ऊ एक्लै त अगाडि नै निस्कन सक्थ्यो ।

एकाएक उसको ठूलो जयजयकार हुन्छ । ऊ शहरको हिरो बन्न पुग्दछ । तर, यसरी हिरो कहलिनु उसको जीवनको ठूलो पीडा र अवसर दुवै बन्दछ । ऊ जिन्दगीमा यो भन्न सक्दैन कि त्यो संयोग थियो । किनकी आफ्नो ‘हिरो इमेज’ अब ऊ गुमाउन चाहँदैनथ्यो । तर उसको हृदयलाई थाहा छ कि यथार्थमा उसले बच्चा जोगाएकै हैन । झुठो पराक्रमको कथाले उसको मनलाई कहिल्यै शान्ति दिँदैन । यो घटना उसको जिन्दगीमा– ‘मिठी दर्द’ बनेर रहिरहन्छ ।

प्रभासराजका टिप्पणीहरू मेरा लागि त्यस्तै हुन्छन् । मिठा दुखाईहरू । टिप्पणी गर्छन्, त्यो पनि असल मनसायले, त्यो राम्रो कुरा । यसरी च्वास्स घोच्छन् कि उत्तर फुराउन निक्कै गाह्रो पर्दछ । तर किन हो, उत्तिकै मज्जा आउँछ । जस्तो कि मैले यही स्तम्भमा एउटा लेख लेखेको थियो– युनिभर्सल हेल्थ केयर सिष्टमको पक्षमा । उनको टिप्पणी थियो– यो तपाईंको निजी धारणा होला, आफ्नो पार्टीलाई यो मनाउन सक्नु हुन्छ ? तपाईंको पार्टी सरकारमा आयो भने तपाईंका नेताहरू सत्तामा हुने हुन् भने, यसो गर्छन् ? अस्ति भरखरैसम्म तपाईंकै नेता स्वास्थ्यमन्त्री थिए ।

जब मैले वैकल्पिक विचार वा शक्तिको कुरा गर्दछु, उनले ठटाई हाल्छन्– तपाईंको पार्टीको नेतृत्व पङ्क्तिले वैकल्पिक विचार भनेको त बुझ्छ ? त्यही पुरानो पुस्ताले विकल्प दिने कुरा गर्दा कस्ले पत्याउला ?
अघिल्लो हप्ता मैले संसदीय प्रणालीका खराबीबारे एक लेख लेखेँ । उनले सिस्नोपानी लगाई हाले– व्यवस्था वा प्रणाली बद्लिएर के हुन्छ ? मान्छेको सोच पो बद्लिनु पर्‍यो ? त्यत्रो राजतन्त्र, राणाशाही, पञ्चायत गयो, खै मान्छेको सोंच, व्यवहार र आचरणमा कुनै परिवर्तन आएन त ?

यहीनेर मलाई भाउन्न हुन्छ । प्रणाली, पात्र र प्रवृत्तिमध्ये कुन प्रमुख हो भन्ने बहसमा म जहिल्यै प्रणाली प्रमुख हो भन्ने ठान्छु । तर, धेरै युवा, लेखक, विद्वान, पत्रकार वा सार्वजनिक बहसमा भएका मानिसको तर्क भने पात्र नै खराब हुन, प्रवृत्ति नै खराब हो भन्ने हुन्छ ।

उनीहरूको कुरासंग म सहमत छु कि राम्रा पात्र र प्रवृत्ति भइ दिएको भए संसदीय लोकतन्त्र पनि यति निर्लज्ज र बेकामे हुने चाहिँ हैन । जापान, बेलायत, क्यानाडाजस्ता केही देशमा संसदीय लोकतन्त्रले पनि राम्रै काम गरेको छ ।
तर, सम्भाव्यता सिद्धान्त (प्रोव्यावलिटी थ्योरी) ले के भन्छ भने सैद्धान्तिक विकल्पहरू व्यवहारमा बारम्बार पल्टिंदैनन (फ्रिक्वेन्टली अनअक्कुरेन्स) हुन्छ भने त्यो नभए बराबर हुन्छ । सम्भावना त हो, तर त्यो यथार्थ बन्दैन । एकक्षणलाई ३ वटा ‘अप्सन’ बनाएर हेरौं ।

एक– गाडी राम्रो छ, तर ड्राइभर राम्रो छैन, सम्भावना छ– यात्रा तय हुँदैन, दुर्घटना हुन्छ ।

दोस्रो– गाडी बिग्रेको छ । निश्चित छ कि जति नै राम्रो ड्राइभर भए पनि गाडी कुँद्दैन । कि त बनाउनु पर्‍यो नत्र गाडी कुद्दैन । त्यहाँ ड्राइभरको कौशलताले कुनै काम दिँदैन ।

तेस्रो– गाडी राम्रो छ, समाजमा सयौं राम्रा ड्राइभर हुन्छन्, कुनै एउटा ड्राइभर खराब भयो होला, अर्को ड्राइभर आउँछ, गाडी लैजान्छ ।

मलाई लाग्छ कि नेपालका पार्टी, नेता र राजनीतिककर्मीहरूको साँस्कृतिक अनुवंशमै समस्या छ । त्यो ‘हिरो वाइ चान्स’ जस्तो छ । जीवनभरिका लागि ‘मिठी दर्द’ जस्तो छ । केही आउँदैन भनौं, ठूलो नेता भइसकियो । आउँछ, गर्न सकिन्छ, गरौं भन्यो, परिणाम हात नै पर्दैन ।

यी तीनमध्ये तीनै चिज हुन सक्दछ । सम्भाव्यता तीनै चीजको हो । तर, भार कुनको बढी हो त ? निश्चय नै भार बढी तेस्रो विकल्पको हो । गाडी सहिसलामत छ भन्नुको अर्थ सिष्टमले अपरेट गर्ने सामान्य स्थिति छ । व्यक्ति जो आए पनि हुन्छ, व्यक्तिको शर्त भनेको गाडी कुदाउने ज्ञान, सीप र अभ्यास हुनु पर्‍यो । ड्राइभर त समाजमा धेरै उत्पादन भइरहेकै हुन्छन् । उत्पादन गर्न सकिन्छ ।

यति सरल यथार्थ हामीले मानिसलाई कहिल्यै बुझाउन सकेनौं । संसदीय व्यवस्था भनेकै लोकतन्त्र हो, लोकतन्त्र भनेकै संसदीय व्यवस्था हो भन्ने सोचबाट नेपालको राजनीतिक ज्ञान र बौद्धिक वृत्त कहिल्यै बाहिर निस्केन । ‘सिष्टम एप्रोच’ कुनै आलोचना नै गर्न नसकिने अकाट्य सिद्धान्त हैन । त्यस्तो सिद्धान्त त संसारमा कुनै पनि हुँदैन ।

जस्तो कि न्युटनको गति सम्बन्धी सिद्धान्तलाई एकपटक हेरौं । उनी भन्छन् कि कुनै पनि क्रियाको समान र विपरित प्रतिक्रिया हुन्छ । यसलाई सानो उदाहरणमा बुझौं । कुनै भकुण्डो हामी जति जोडले सिधा तल भुईंमा बजार्छौं, त्यति नै त्यो माथिसम्म जान्छ । तर, उहाँनेर ध्यान दिनपर्ने एउटा शर्त छ । भुईंको धरातल कस्तो छ ? यदि भुईमा बालुवाको थुप्रो छ भने जति जोडले बजारे पनि भकुण्डो माथितिर जाँदैन । त्यसै गरी भकुण्डोमा हावा राम्ररी भरिएको छैन भने कडा धरातल भएपनि भकुन्डो माथि जाँदैन । तर के यसले न्युटनको गति सम्बन्धी नियमलाई गलत सिद्ध गर्दछ त ? गर्दैन ।

हाम्रा दलहरू राम्रा भएनन् । त्यो कुनै ‘हाइपोथेसिस’ नभएर ‘टेष्टेट हाइपोथेसिस’ हो । २०४६ पछि एकपटक लाग्थ्यो कि कांग्रेस खत्तम हो । कांग्रेस गिरिजाबाबुको हातमा पर्‍यो, गणेशमानजी र किसुनजी पाखा लगाएको कारणले त्यस्तो भएको हो । कांग्रेसमा संसदीय व्यवस्था अनुकूलको नैतिक नेतृत्व भएन । त्यसैले धेरै चिज बिग्रँदै गए । प्राडो, पजेरो, सुरा-सुन्दरी, सुत्केरी भत्ता अनेक घटना भए । धमिजा, लाउडा, सुडान अनेक काण्ड भए ।

एमालेले यही भन्थ्यो । होला जस्तो लाग्यो । कांग्रेस भएर बिग्रेको हो, एमाले आए सबै राम्रो हुन्छ भन्ने भ्रम पर्‍यो । तर, विस्तारै एमालेहरू नै तिनै काममा लागे । अझ धेरै लागे । कांग्रेसभन्दा पनि धेरै । आज हेर्नुस् त, एमाले त कांग्रेसभन्दा पनि खत्तम निस्कियो । साझै खत्तम । यसले नीति, नैतिकताको कुरा गर्‍यो भने मुख छोपेर हाँस्नु पर्ने स्थिति आयो ।

फेरि त्यही हाइपोथेसिस परीक्षण भयो । पात्र फरक, तर प्रवृत्ति त्यही ।

अब माओवादी आयो– कांग्रेस र एमाले पो खत्तम त ‘हामी राम्रा हौं’ भन्यो । सबैलाई होकी जस्तो लाग्यो । त्यत्रो ठूलो संघर्ष र बलिदानबाट आएको पार्टी सहिदहरूको रगतको डरले पनि कांग्रेस र एमालेजस्तो खत्तम त ननिस्केला भन्ने थियो । १२ बुँदे, शान्ति प्रक्रिया, संविधानसभा, एमालेसंगको एकतादेखि अहिलेसम्म आइपुग्दा त्यसको पनि हविगत देखियो । मधेश–केन्द्रित दलहरूको भिन्नै चर्चा गरिनँ, ती पनि यही प्रवृत्ति र नियतिको वरिपरि रहे ।

यी सबै खत्तम बनेर हामीले ‘नयाँ शक्ति’ बनायौं । नढाँटी भन्ने हो भने नयाँ शक्तिको पनि आन्तरिक संस्कृति र आचरणमा खासै भिन्न थिएन । गर्न खोजियो, भएन । ‘आफू ताक्छु मुडो, बञ्चरो ताक्छ घुँडो’ भने जस्तो भयो । मानिस किन आए, किन भागदौड गरेर गए, आफैंले भोगेर, आफ्नै आँखा अगाडि देखेर पनि अझै म बुझ्दिनँ ।

नयाँ शक्तिमा भागदौड मच्चिएको बेला पश्चिमतिरको एकजना साथी भन्थे– के खान आया हुन्, के खान गया हुन् ?

स्थिति ठ्याक्कै त्यस्तै थियो ।

त्यति सानो पार्टीमा समेत मान्छेहरू पदका लागि मरिहत्ते गर्थे । एकअर्का विरुद्ध षडयन्त्र गर्थे । आज दिनभरि ‘महान बाबुराम’ भनेर भाषण गर्थे, भोलिपल्ट बिहानै ‘बाबुरामले पनि पार्टी चलाउन सक्दछन् ?’ भन्दै निस्केर हिंड्थे । मानिसका अपेक्षा र हाम्रा प्रयासबीच तालमेल नै थिएन । प्रयास, उद्देश्य र मनसाय नराम्रो थिएन, तर घटनाक्रमले ती चिज फितलो, नाटक र असम्भवजस्तै हुँदै गयो ।

आज मलाई लाग्छ कि नेपाली समाजको ‘सांस्कृतिक अनुवंश’ (कल्चरल जिन) मै पक्कै कुनै समस्या छ । यसोभन्दा फेरि अर्को गाली खाइन्छ– हाम्रो संस्कृतिलाई हियाउने ? महान पुर्खा र परम्परालाई ओल्चिने ? हाम्रो धर्मको अपमान गर्ने ? डलरेको जस्तो कुरा गर्ने ? पश्चिमा र एनजीओको जागिरे हुने ? ट्वीटरमा यस्ता गाली खाने मान्छेमा म पनि पर्छु । विशेषतः राजावादी मित्रहरूले अचेल यस्ता कुरा धेरै गर्छन् । यस्ता ‘कन्जर्भेटिभ’ सँग डराउन, आत्तिन वा धेरै महत्व दिन भने जरुरी छैन ।

मेरो जोड कहाँनेर हो भने विगत ७० वर्षदेखि हाम्रो संसदीय लोकतन्त्रको पात्रता र प्रवृत्तिमा कुनै परिवर्तन आउँदैन भने हाम्रो प्रणाली कसरी ठीक छ त ? यहाँनेर तर्क होला यति लामो अभ्यास नै कहाँ भएको छ । २००७–२०१७ र २०४६–२०७७ मात्र जोड्दा ४० वर्ष भयो । तर मेरो दाबी चाहिँ ७० नै हो । किनकी त्यो बेला पनि लोकतन्त्रको पैरवी र स्कुलिङ त थियो ? कस्तो पैरवी र स्कुलिङ सिकाएछौं त हामीले ? यो त सम्भाव्यता सिद्धान्तको ‘फ्रिक्वेन्टली अनअकुरेन्स’ जस्तो भएन र ? फेरि प्रणाली भनेको राजनीतिक व्यवस्था मात्रै हो र ? मानवीय व्यवहार र आचरणको ‘फ्रिक्वेन्टली अकुरेन्स’ हुने प्रवृत्ति पनि प्रणाली नै त हो ।

विख्यात वैज्ञानिक रिचार्ड डकिन्सको सन् १९७६ मा प्रकाशित ‘द सेल्फिस जिन’ किताबले भन्छ कि मान्छेमा दुई अनुबंशिक (जेनेटिक) चरित्र छन् । ‘सेल्फिस जिन’ र ‘मेमे’ । यी दुई जिनको परस्पर संघर्ष र एकअर्कामाथिको प्रभाव नै मानव सभ्यता विकासको आधारभूत शर्त हो । ‘सेल्फिस जिन’ जैविकताबाट आउँछ । यसले आफूलाई ‘सेल्फ–रेप्लिकेट’ गर्दछ । तर, स्थीर भने हुँदैन । प्राकृतिक छनौटको अवस्थामा कयौं सेल्फिस जिनहरू छनौट हुँदैनन्, जुन जिनहरू छनौट हुन्छन्, तिनले मानवीय व्यक्तित्वको चरित्र विकास गर्दै लान्छन् ।

‘मेमे’ भने संस्कृतिबाट आउँछ । भाषण, प्रचलन, साहित्य, चित्रकारिता, अनेक संकेत र मिथक आदि मार्फत् व्यक्तिबाट व्यक्तिमा ‘कल्चरल–रेप्लिकेट’ गर्दछ । ‘सेल्फिस जिन’ तुलनात्मक रुपले ‘मौलिक’ हुन्छ । तर शुद्ध वा जस्तोको त्यस्तै हस्तान्तरण चाहिँ हुँदैन । ‘मेमे’ सुधार हुँदै गयो भने, अझ राम्रो हुँदै गयो भने त्यसको प्रभाव ‘सेल्फिस जिन’ मा पनि पर्दछ । ३ देखि ५ पुस्तामा मानिसको नश्ल, सोच र चरित्रमै जैविक सुधार हुन सक्दछ । त्यसपछि गैर–सांस्कृतिक विधिबाटै नयाँ संस्कृतिहरू स्थापित हुन्छन् ।

यदि यो विश्लेषणलाई पत्याउने हो भने आज हामी जसरी बिग्रेका छौं, त्यो आजको आज बिग्रेको हैनौं, त्यो कम्तीमा हामी ३ देखि ५ पुस्ता अघिदेखि बिग्रिन थालेका हौं । हाम्रो सांस्कृतिक अनुवंशसँग संसदीय प्रणाली फिट भएन ।
त्यसो भए हामीसँग तीनवटा विकल्प छन् । कि त हामीले आफ्नो साँस्कृतिक अनुवंश परिवर्तन गर्नु पर्‍यो र संसदीय प्रणाली अनुरुप बनाउनु पर्‍यो । कि त हामीले प्रणाली फेर्नु पर्‍यो र हाम्रो साँस्कृतिक अनुवंश अनुरुपको बनाउनु पर्‍यो । कित हामीले यी दुवै फेर्नु पर्‍यो, तेस्रो अनुवंशिक संश्लेषण (थर्ड जेनेटिक सेन्थेसिस) निर्माण गर्नु पर्‍यो ।

मेरो विचार जहिल्यै पनि दुवै फेरौं भन्ने हो । तेस्रो विकल्प हो– मेरो सिफारिस । किनकी हाम्रा लागि अहिलेसम्म हाम्रो ‘सेल्फिस जिन’ र ‘मेमे’ दुवै उपयोगी भएनन् । त्यो फेर्न आजबाट हामीले शुरुवात गर्‍यौं भने त्यो राम्ररी सेटमा आउन ३ देखि ५ पुस्तासम्म लाग्न सक्दछ । प्रारम्भिक परिणाम भने १०–२० वर्षभित्र देखिन थाल्दछ । अनि मात्र ‘सभ्यताको पुननिर्माण’ हुन सक्दछ । मेरा मित्र प्रभासराजजीले खोजेको, चाहेको परिवर्तन त्यसरी सम्भव हुने हो । तर, थाल्नु त आजैबाट पर्‍यो ।
अनुवंश विज्ञान, राजनीति र मानवीय आचरण परिवर्तनको अभियानबीच कुनै सम्बन्ध छ कि छैन ? कतिपयलाई लाग्छ कि वैज्ञानिक खोज र सिद्धान्त पनि कहिँ राजनीतिका बिषय हुन सक्दछन् ? विज्ञान भिन्नै हो । राजनीति भनेको त समाज विज्ञान मात्र हो । यो ‘पिओर साइन्स’ हैन, ‘एप्लाइड साइन्स’ हो । अधिकांश मानिसले मलाई दिने अर्तिउपदेश यही हो, जसबाट म हैरानहैरान भएको छु । घाँटीघाँटी आएको छ मलाई यो तर्क सुन्दासुन्दा । तर, मलाई यो मान्यतामा कहिल्यै विश्वास भएन । अहिले पनि छैन ।

यदि त्यस्तो हो भने देश बनेन, यसो भएन, उसो भएन भन्ने गनगन र गुनासो चाहिँ किन त ? ‘एप्लाइड साइन्स’ मा यस्तै हुनुपर्ने हो भने हुन दिनुस् । तर, हैन । संसारमा कुनै पनि विज्ञान न शुद्ध न एप्लाइड मात्र हुन्छ । विज्ञान भन्ने बित्तिकै यी दुवै गुणको समीश्रण हो नत्र विज्ञान नै हैन ।

त्यसका दुईवटा उदाहरणहरू प्रष्ट छन्– मलेसिया र सिंगापुर । महाथिर मोहम्मदको ‘द मले डिलेमा’ पढ्दा उनले मलेहरूको द्विविधामा जैविक अनुवंशको प्रभाव के कस्तो छ भनेर लामो अध्ययन गरेका छन् । उनको बुझाई थियो कि मले अनुवंशमा ‘धान संस्कृति’ को प्रभाव छ, त्यसैले गर्दा मलेहरू गरिब भएका हुन् । यो निष्कर्ष पक्कै हाम्रा लागि अनौठो छ ।

मलेसिया मलिला फाँटहरूको देश हो । त्यहाँ धान असाध्यै धेरै फल्थ्यो । धान खेती गर्न पर्याप्त जमिन थियो । वर्षमा २ महिना काम गरेपछि वर्षभरि खाने धान जम्मा गर्न सकिन्थ्यो । बाँकी १० महिना मलेहरू कामै नगर्ने भए । यो मानवीय आचरण प्रारम्भमा साँस्कृतिक अनुवंश (मेमे) बन्यो । विस्तारै केही पुस्तामा त्यसले ‘सेल्फिस जिन’ को रुप लियो । अब मलेहरू जन्मिँदै अल्छी र कामचोर निस्कन थाले । मलेसिया झनझन गरिब हुँदै गयो ।

एक ठाउँमा महाथिरले लेखेका छन् कि राम्रो धान फल्ने उर्बर जमिन भएको देश मरुभूमिको देशभन्दा पनि गरिब हुँदो रहेछ । मरुभूमिमा मानिसले बाँच्न अनेक विकल्प सोच्नु पर्दछ । त्यो संघर्षले उसको जिन रुपान्तरण हुँदै जान्छ । सर्भाइबल अफ द फिटेष्टको सिद्धान्त मुताविक संघर्ष गर्न र बाँच्न योग्य नयाँ जिनहरू निर्माण हुन्छन् । महाथिरले बुझे कि मलेहरूको साँस्कृतिक अनुवंशमाथि हमला गर्नु पर्दछ र रुपान्तरण ल्याउनु पर्दछ । त्यसका लागि उनले अर्थतन्त्रलाई कृषि र काष्ठ पैदारवारबाट सेवा र औद्योगिकीकरणतिर हुत्याउन खोजे । मलेसियाको आजको उन्नतिको वास्तविक राज यो हो ।

आज पनि मलेसियामा विदेशी कामदारले रोजगार पाउनुको मूल कारण त्यहाँ जनशक्तिको अभाव भएर हैन, मलेहरू काम गर्न अल्छी, श्रम उत्पादकत्व कम भएर हो । उनीहरू आज पनि गाउँमा कृषि गर्न, जंगल काटेर काठ बेच्न र शहरमा सेवामूलक क्षेत्रमा काम गर्न चाहन्छन् । औद्योगिक मजदुर हुनुलाई नराम्रो र बेइज्जतीको बिषय ठान्दछन् । तिनै काम आज नेपालीलगायत अरु देशका कामदारले त्यहाँ पाइरहेका छन् ।

अर्को रोचक उदाहरण सिंगापुरको हो । सिंगापुर निर्माणको आधार अर्थतन्त्र सुधार र भौतिक पूर्वाधार मात्र हैन, जो नेपालमा अक्सर बुझ्ने गरिन्छ । लि क्वान युले मानवीय आचारणगत परिवर्तनको अभियानमार्फत् सिंगापुरीहरूको ‘मेमे’ मा व्यापक हमला गरे । त्यसलाई उनले ‘सभ्यताकरण’ भने । धेरैले उनलाई यो ‘सभ्यताकरण’ हैन, ‘पश्चिमाकरण’ भनेर आरोप लगाए । तर, लि क्वान युले भने कि ‘पिछडिएको साँस्कृतिक अनुवंश बोकेर ‘फियर स्टेट’ र समृद्ध देश बनाउन सकिँदैन । सभ्यताको पुनर्निर्माणमा केही पश्चिमा गुणहरू पनि आउलान् तर हाम्रो उद्देश्य पश्चिमाकरण नभएर सिंगापुरी संस्कृतिको आधुनिकीकरण हो ।’

यो सोच आउनुअघि लि क्वान यु आफैं ‘चेन स्मोकर’ थिए । सिंगापुरमा नरिवल र ताडीका पातले बनेका झुप्रा घर बनाउने प्रचलन थियो । जताततै फोहोर हुन्थ्यो । उनले चुरोट खान, चुइगम चपाउन, बाटोमा थुक्न आदि कुरामा व्यापक प्रतिबन्ध गरे । आवास संस्कृतिमा व्यापक परिर्वतन गर्ने ‘पब्लिक हाउजिङ’ को अवधारणा अघि बढाए ।

नदी, तलाउँ र सार्वजनिक चोक सरसफाई गर्ने नियम नै बनाइयो । हप्तामा एक दिन शिक्षक/विद्यार्थीले स्कुलका झ्याल समेत पुछ्न पर्ने भयो । उनले भाषिक व्यवहार परिवर्तनमा व्यापक जोड दिए । मले, चाइनिज, तमिल, अरु इन्डियन, पश्चिमा क्रिश्चियन सबैलाई पहिलो भाषा अंग्रेजी बनाउन लगाए । यसले एकातिर आधुनिक जागिरमा सिंगापुरीहरूको माग ह्वात्तै बढ्यो, अर्कोतिर समुदायसमुदाय बीचको भाषिक दुरी घटायो । तर दोस्रो, तेस्रो भाषाका रुपमा सामुदायिक भाषाहरूको व्यापक संरक्षण गरे ।

राजनीतिमार्फत् अनुवंशिक प्रभावको लि क्वान यु मोडेल सन् १९८० को दशकमा झनै व्यापक भयो । त्यो बहसलाई ‘द ग्रेट म्यारिज डिबेट’ भनिन्छ । त्यतिखेर सिंगापुरी पुरुषहरू आफूभन्दा धेरै पढेको, धनीको छोरी र उमेर खाएकी केटीसँग बिहे गर्न हिनताको अनुभूति गर्थे । पुरुष पढेको हुँदा पत्नी कम पढेकी, तुलनात्मक रुपमा गरिब परिवारकी र कम उमेरकी हुने गर्थिन् । अर्कोतिर अशिक्षित र गरिब महिलाहरूको छिट्टै बिहे हुन्थ्यो र उनीहरूले धेरै बच्चा पाउँथे ।

शिक्षित युवतीहरूको बिहे नै ढिलो हुन्थ्यो । अझ कतिको त बिहे नै हुँदैनन्थ्यो । अभिभावकलाई धेरै पढायो भने छोरोको बिहे हुँदैन भन्ने डर थियो । ढिलो बिहे भएको, मातृस्वास्थ्यको ज्ञान, झमेला र करिअरको चिन्ता भएको कारण शिक्षित महिलाहरू बच्चा पाउनतिर ध्यान नै दिँदैनथे ।

लि क्वान युले सिंगापुरीहरूको यस्तो ‘मेमे’ माथि व्यापक हमला गरे । उनलाई विश्वास थियो कि त्यसले ‘सेल्फिस जिन’ मा प्रभाव गर्नेछ । उनले शिक्षित पुरुषहरूलाई शिक्षित महिलासंगै बिहे गर्न प्रेरित गरे । धनी दम्पत्तिलाई धेरै सन्तान पाउन र गरिब दम्पतिलाई थोरै सन्तान पाउन सार्वजनिक आग्रह गरे ।

लि क्वान युले यदि पतिपत्नी दुवै ग्राजुयेट छन् र उनीको ३ वटा सन्तान छन् भने आयकरमा १५ प्रतिशतसम्मको छुट दिए । अर्कोतिर अन्डरग्राजुयेट दम्पत्तिले एउटा मात्र बच्चा जन्माए मासिक १० हजार डलरसम्म भत्ता दिने नीति लिए । झट्ट हेर्दा यो उल्टो र गरिब विरोधी नीति थियो ।

यसो गर्नुमा लि क्वान युको तर्क थियो– स्मार्ट बुबा र स्मार्ट आमा दुवै स्मार्टबाट जन्मिएका बच्चा स्मार्ट हुने सम्भावना धेरै हुन्छ । तसर्थ उनीहरूलाई धेरै बच्चा जन्माउन लगाउनु पर्दछ । स्मार्ट बच्चाहरूको जनसंख्या अनुपात धेरै भयो भने सिंगापुर स्वतः स्मार्ट हुन्छ । अशिक्षित आमा र बुबाबाट धेरै बच्चा जन्मिए भने उनीहरूले पर्याप्त पोषण, हेरचाह र शिक्षादिक्षा दिन सक्दैनन्, तसर्थ उनीहरूलाई थोरै बच्चा जन्माउन लगाउनु पर्दछ ।

जनसंख्या संरचनामा यसको प्रभाव पर्दछ । बिस्तारै धनी र गरिब, शिक्षित र अशिक्षित दुवै दम्पतिका बच्चा स्मार्ट हुनेछन् । शिक्षित र धनीका बच्चाहरू ‘जेनेटिक इफेक्ट’ का कारण स्मार्ट हुनेछन् । गरिब र अशिक्षित दम्पतिका बच्चाहरू थोरै बच्चा, राम्रो हेरचाह, सरकारले दिने सहयोग भत्ता र पोषणको कारण अनुवंश सुधार भई स्मार्ट हुनेछन् ।

प्रारम्भमा लि क्वान युको यो नीतिको व्यापक विरोध भयो । बिहेजस्तो वैयक्तिक विषयमा राज्यले हस्तक्षेप गरेको, शिक्षित र अशिक्षित, धनी र गरिब नागरिकबीच विभेद गरेको भनेर आलोचना भयो । तर, एक दशक नबित्दै यसको व्यापक सकारात्मक प्रभाव देखियो, यो सिंगापुरीहरूको प्रचलन जस्तो बन्यो । ‘मेमे’ अब विस्तारै ‘सेल्फिस जिन’ मा परिणत हुँदै गयो । आधुनिक सिंगापुर निर्माणको एउटा महत्वपूर्ण कडी यो नीतिलाई मानिन्छ ।

मलाई लाग्छ कि नेपालका पार्टी, नेता र राजनीतिककर्मीहरूको साँस्कृतिक अनुवंशमै समस्या छ । त्यो ‘हिरो वाइ चान्स’ जस्तो छ । जीवनभरिका लागि ‘मिठी दर्द’ जस्तो छ । केही आउँदैन भनौं, ठूलो नेता भइसकियो । आउँछ, गर्न सकिन्छ, गरौं भन्यो, परिणाम हात नै पर्दैन । केही गरौं भन्ने लाग्दो हो– तर ‘मेमे’ माथि आक्रमण र सुधार कहाँबाट कसरी थाल्ने भन्ने पर्याप्त अध्ययान र ज्ञान नै छैन । महाथिर र लि क्वान यु हुन मन लाग्दो हो तर त्यस स्तरको पहलकदमी नै पुगिरहेको छैन ।

हाम्रो यो समस्या आजको आज बनेको हैन । इतिहासबाट ‘रेप्लिकेट’ हुँदै आएको हो । त्यही रेप्लिकेसन बारम्बार दोहोरिएपछि ‘ओरिजिनल’ जस्तो बन्न पुग्यो । जस्तो कि पृथ्वीनाराणण शाहले हतियारले राज्य जिते, भाइछोराका लागि ठूला दरबार बनाए । वंशगत परम्परा र उत्तराधिकार कायम राखे । जंगबहादुरले हतियारले राज्य जिते, भाइछोरोका लागि सत्ता र सम्पत्तिको उत्तराधिकार दिए । पृथ्वीनारायण शाह र जंगबहादुरको कामको अन्तर्य फरक हैन ।

कांग्रेसले हतियारले राणाशासन उल्टायो । परिवारवाद, नातावाद, कृपावाद र राज्यस्रोतको दोहन गर्ने मनोविज्ञान उनीहरूमा पनि देखियो । एमालेले झापा विद्रोहमा हतियार उठायो र आफूलाई शक्तिका रुपमा स्थापित गर्‍यो । त्यही आन्दोलनका योद्धा र उत्पादन केपी ओली सत्ताको हविगत हामी देखिरहेकै छौं । माओवादीले आफूलाई हतियारकै बलमा शक्तिको रुपमा स्थापित गरे, फेरि विस्तारै अरु जस्तै हालतमा पुगे ।

यी सबै घटना आफ्नो समयका पुनरावृत्ति मात्र हुन् । तात्विकरुपमा भिन्न हैनन् । रेप्लिकेट हुन्, मेमे हुन्, जो सेल्फिस जीन जस्तो बनिसके । आज मानिसलाई के लाग्छ भने ‘सर्भाइबल अफ द फिटेष्ट’ हुन, प्राकृतिक छनौटमा पर्न त्यही गर्नु पर्दछ, जो अहिलेसम्मका शासक खलक र राजनीतिक शक्तिले गर्दै आए ।

अब प्रश्न उठ्छ यो साँस्कृतिक अनुवंशमाथि हमला कसरी गर्ने ? कहाँबाट कस्ले गर्ने ? कस्तो खालको हमला गर्ने ? जसले हाम्रो ‘मेमे’ लाई एकपटक भताभुङ्ग बनाइदेओस् र आउँदा केही पुस्तामा त्यसको प्रभाव ‘सेल्फिस जिन’ सम्म पुगोस ? के यस्तो हुन सम्भव छ ?

यसको दुईवटा उत्तर हुन सक्दछ । एक– सम्भव बनाउनु पर्दछ । दुई– यदि सम्भव हुँदैन भने नेपाल एक हजार वर्ष पछि पनि यस्ताको यस्तै रहन्छ । नेपाल कहिल्यै नसुध्रिन अभिशप्त देश हो भन्ने निष्कर्षमा पुग्नु पर्दछ । यी दुईमध्ये हामीलाई कुन चाहिएको हो ? पहिलो त्यो प्रष्ट हुनु पर्‍यो । हामी धेरैले जे भित्र हृदयदेखि चाहन थाल्छौं, त्यही परिणाम बन्छ । सृष्टिको नियमको अस्तित्वको वास्तविक चाहना नै अन्तत्वगत्वा यथार्थको रुपमा देखा पर्दछ ।

जस्तो कि हामी भन्छौं कि अरु देशमा राजारानी साइकल चढेर तरकारी किन्न जान्छन् । मन्त्रीहरू सार्वजनिक रेल चडेर कार्यालय जान्छन् । अफिसहरूमा पियन हुँदैनन् । हामी कहाँ राजाको कुरा छोडौं– राष्ट्रपतिलाई पनि कारगेट र रिसल्ला नै प्रदर्शन गर्न किन मन लागेको ? अरु देशका राजा, प्रधानमन्त्री, मन्त्रीमा त्यस्तो भाव किन आउँदैन् ? हाम्रै देशका मान्छेलाई चाहिँ त्यस्ता चुत्था इच्छाहरू किन जाग्छन् ?

किनकी एक दुई सय वर्ष अगाडि देखि नै उनीहरूले आफ्नो मेमे परिवर्तन गर्न थाले । उनीहरूको मन, मनोविज्ञानमा अब त्यस्ता प्रचलनप्रति कुनै मोह, लगाव वा आकर्षण नै बाँकी रहेन किनकी उनीहरूको सांस्कृतिक जिन मात्र हैन, जैविक जिन समेत सुधार भइसक्यो ।

हामी कहाँ भने त्यही पुरानो साँस्कृतिक अनुवंश रेप्लिकेट हुन्छ । किनकी हामी ‘मेमे’ माथि महाथिर र लि क्वान युले जस्तो हमला गर्न डराउँछौं । करिब २ वर्ष अगाडिका युरोपियन र अमेरिकनहरूजस्तो साँस्कृतिक अनुवंश परिवर्तनको आकांक्षा नै राख्दैनौं । त्यसको योजना नै बनाउँदैनौं । कसै थोरै प्रयास गर्‍यो, यति धेरै आक्रमण गर्छौं कि पुरै समाज रुढीवादी भएर प्रतिरक्षा गर्न आउँछ ।

आज पनि मान्छेहरू पृथ्वीनारायण शाह, जंगबहादुर राणा, चन्द्र शमशेर र महेन्द्र शाहको जयजयकार गर्नुलाई ‘महान राष्ट्रवाद’ ठान्दछन्, जबकी यी चिजहरूमाथि ठाडो, सिधा र साहसिक हमला नगरिकन हाम्रो ‘मेमे’ मा परिवर्तन नै आउँदैन । सभ्यताको पुनर्निमाण र आधुनिकीकरण नै हुँदैन । नेपालको आर्थिक प्रगति, सुशासन र समृद्धिकरण सम्भव नै हुँदैन । गिरिजाबाबु, ओली वा प्रचण्डमा यिनै व्यक्तित्वहरू रेप्लिकेट मात्र भइरहन्छन् । लाटाले पापा हेरेजस्तो हामी दशकौंदेखि हेरेको हेर्‍यै भइरहन्छौं । राजनीतिक सतहमा छिपछिपे परिर्वतन देखिए पनि आर्थिक, सामाजिक, साँस्कृतिक तहमा कुनै सार्थक परिणाम छैन ।

हामी कुनै खास व्यक्तिलाई दोष दिन्छौं, जस्तो कि हिजो गिरिजाबाबुलाई दिन्थ्यौं, आज ओलीलाई दिन्छौं । बीचमा केही समय प्रचण्डलाई दोष दियौं ।

साँस्कृतिक अनुवंशमा परिवर्तन ल्याउने हो भने व्यक्ति वा सानो समूहमाथि हमला गरेर हुँदैन । त्यसो गर्दा उनीहरूले आफूमाथि हमला ठान्दछन् । देश वा समाज सुधारको काम भएको, राम्रो प्रयास हो भन्ने ठान्दैनन् । उनीहरू प्रतिरक्षात्मक हुन्छन् र अस्तित्वको रक्षाका लागि प्रतिरोधमा आउँछन् । जस्तो कि हजार कमजोरी र बदमासीका बाबजुद अहिले ओली एमालेको एउटा बलियो शक्ति बनेको छ र उनीहरू चौतर्फी संकटबीच अस्तित्व रक्षाका लागि यावत संगठन र स्रोतसधानलाई केन्द्रीकरण गरेर परिवर्तनको आकांक्षामाथि प्रतिरोध गरिरहेका छन् ।

अब हामी यो निष्कर्षमा रह्यौं कि व्यक्ति नै खराब हो । पात्र नै खराब हो भने कुन् चाहिँ व्यक्ति खराब हो ? ओली खराब ? ओली ढिलो चाँडो जालान्, त्यसपछि पार्टीहरू र देश सुध्रिन्छन् त ? गिरिजाबाबु गए, ज्ञानेन्द्र गए, फेरि उस्तै ओली कसरी आए ? यदि पात्र मात्र खराब हुन्थ्यो भने कुनै व्यक्ति जाँदा त्यो व्यक्तिसँगै त्यो प्रवृत्ति पनि जानु पर्थ्यो नी ? फेरि किन जाँदैन ?

यसको निष्कर्ष हो कि यो व्यक्ति वा पात्रताको मात्र समस्या हैन, यो साँस्कृतिक अनुवंशकै समस्या हो । त्यसको सुधार गर्ने प्रारम्भ विन्दू दल, दल र फेरि पनि दल नै हुन । किनकी लोकतन्त्रमा दल हुन्छ, छन्, हुनेछन् । हामीले रोजेको व्यवस्था दलीय व्यवस्था भएको हुँदा देश बिग्रँदा पनि दलकै कारणले बिग्रन्छ, सप्रिँदा पनि दलकै कारणले सप्रिन्छ ।

हामी लोकतन्त्र त्याग्न सक्दैनौं, लोकतन्त्रमा दल नभइकन हुँदै हुँदैन । तसर्थ पहिलो शर्त नै दलीय चरित्रमा सुधार ल्याउनु हो । त्यसका लागि राजनीतिक प्रणालीमा व्यापक परिवर्तन जरुरी छ ।
अन्तिममा यो प्रश्न उठ्ला- ल्याउन चाहेको दलीय संस्कृति चाहिँ कस्तो हो ? प्रणालीगत फेरबदल के हो ? त्यसले कसरी साँस्कृतिक अनुवंशमा हमला गर्दछ ? कसरी ‘मेमे’ घेराबन्दीमा पर्छ र त्यसको प्रभाव ‘सेल्फिस जिन’ मा पुग्छ ? यी प्रश्नमाथि यसै स्तम्भको अर्को अंकमा यसैको श्रृंखलाका रुपमा चर्चा गर्नेछु ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय