scheduleसोमवार आश्विन ११ गते, २०७८

ट्विटरपछि कंगनाको इन्स्टाग्राम अकाउन्ट पनि बन्द गरिन लागेको हो ?

एजेन्सी, २६ बैशाख । कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छिन् । विभिन्न अभिव्यक्ति र पोष्टका कारण उनी बेलाबेला विवादमा तानिने पनि गर्छिन् ।

विवादास्पद पोष्टकै कारण माइक्रो ब्लगिङ साइट ट्विटरले कंगना को खाता (ट्विटर अकाउन्ट) सँधैका लागि बन्द गरिसकेको छ । ट्विटरको नियमविपरीत पोष्ट गरेको भन्दै उनको खाता बन्द गरिएको ट्विटरको भनाइ छ ।

कंगनाले केही समयअघि विधानसभा चुनावको मतपरिणामपछि पश्चिम बंगालमा भएको हिंसाबारे ट्विटरमार्फत् निरन्तर टिप्पणी गरेकी थिइन् ।कंगनाले ममता बनर्जीको दल टिएमसीले पश्चिम बंगालमा चुनाव जितेपछि राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका थिइन् । लगत्तै उनको ट्विटर खाता बन्द गरिएको थियो ।

ट्विटर अकाउन्ट बन्द भएपछि कंगना आफ्नो इन्स्टाग्राममा सक्रिय देखिन्छन् । तर इन्स्टाग्राममार्फत साम्प्रदायिक हिंसा फैलाउन खोजेको भन्दै उनीविरुद्ध पश्चिम बंगालमा एफआईआर दर्ता गरिएको छ ।

तृणमूल कंग्रेसका प्रवक्ता रिजु दत्तले कोलकत्तास्थित उल्टादंगा प्रहरी कार्यालयसमक्ष कंगनाविरुद्ध एफआईआर दर्ता गरेका छन् ।

ट्विटरपछि कंगनाको इन्स्टाग्राम पनि बन्द हुने हो कि भन्ने आशंका बढेको छ । यसैबीच उनले आइतबार इन्स्टाग्राममा राखेको आफ्नो एक पोष्ट हटाइएको जानकारी गराएकी छन् । उनले यदि यो कार्य जारी रह्यो भने इन्स्टाग्राममा आफू एक हप्ताभन्दा बढी रहन नसक्ने बताएकी छन् ।

‘इन्स्टाग्रामले मेरो एउटा पोष्ट हटाएको छ किनभने उक्त पोष्टमा कोभिड ध्वस्त गर्ने भनेकी थिएँ र यसले केही मानिसको मन दुखेको थियो’, कंगनाले भनेकी छन्, ‘इन्स्टाग्राममा पोष्ट गर्न लागेको दुई दिन भयो तर यहाँ एक हप्ताभन्दा बढी रहन्नँ होला ।’

कंगनाले शनिबार इन्स्टाग्राममा आफूलाई कोरोना भएको भन्दै लेखेकी थिइन् – ‘केही दिनयता मैले थकान र आँखा पोलेको महसुस गरिरहेकी थिए, यसैबीच हिमाचल जाने आशा गरेकी थिएँ, हिजो आफ्नो परीक्षण गरे र आज मलाई कोभिड पोजिटिभ भएको नतिजा आयो।’

सो पोष्टमा कंगनाले आफू क्वारेन्टाइनमा बसेको र भाइरससँग नडराउन आग्रह गर्दै लेखेकी थिइन्- ‘म आफैं क्वारेन्टाइनमा बसेकी छु, यो भाइरसले मेरो शरीरमा पार्टी गरिरहेको छ भन्ने थाहै थिएन र अवश्य पनि यसलाई मैले परास्त गर्न‍ेछु । कृपया केही कुरालाई पनि तपाईंमाथि हाबी हुने मौका नदिनुहोला, यदि डराउनु भयो भने यसले तपाईंलाई त्रसाउँछ । यो कोभिड-१९ लाई ध्वस्त पारौं।’

तर इन्स्टाग्रामले कंगनाको उक्त पोष्ट हटाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय