scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सर्लाहीमा प्रहरी प्रशासनको मिलेमतोमा तस्करी

एसपी यादव/सर्लाही, २७ वैशाख । सिमानाका सिल हुँदा पनि सर्लाहीमा जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामग्रीहरुको खुलेआम तस्करी भइरहेको छ ।

तस्करहरुको बढ्दो सक्रियताले यस क्षेत्रमा तस्करीमा तिव्रता आएको हो । प्रहरी प्रशासनको सेटिङमा तस्करी बढेको आशंका गर्न थालिएको छ ।

तस्करले सर्लाही जिल्लास्थित संग्रामपुर, पर्सा, त्रिभुवन नगर, मलंगवा, खुटौना, भाँडसर, फेन्हारा र बलरास्थित चोर नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी गरिरहेका छन् ।

भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा चिनी, तेल, चामल, मलखाद्य, कपडा, स्पेयर पार्टस्, कुखुरा र कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु छन् । त्यस्तै, तस्करहरुले नेपालतर्फबाट गाईगोरु, मदिरा, सुपारी, मरिच, अलैंची, र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारत तर्फ चोरी निकासी गर्दै आएका छन् ।

उल्लेखित नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुँदै आइरहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

सदरमुकामदेखि ग्रामीण भेगसम्म कुरेर पैसा असुल्ने काममा प्रहरीनै संलग्न रहेको फेला पर्दै आएका छन् । ग्रामिण भेगबाट हुने काठको निकासीमा प्रहरीले ठाउँ-ठाउँमा पैसा लिएर निर्वाध ओसारपसार गर्न छुट दिनु प्रहरीको ड्युटीजस्तो बनेको स्थानीयहरुको आरोप छ ।

‘तस्करीमा सीमा नाकामा रहेका सुरक्षाकर्मीकै संलग्नता छ,’ एक स्थानीयले भने, ‘माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको छ, मासिक रकम दिएर सञ्चालित तस्करी फस्टाउँदै गएको छ ।’

माथिल्लो निकायले तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्नेमा स्थानीयहरुको जोड छ । तर तस्करी रोक्नेतर्फ भने कुनै पहल भइरहेको छैन सर्लाही प्रहरी प्रशासन भने मौन देखिन्छ ।

तस्करलाई भारत नेपाल दुई तर्फी सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरको कमान्डमा तीनजना घुमुवा प्रहरी सक्रिय रहे पनि व्यापारीहरुसंग डिल गर्ने सम्पूर्ण जिम्मेवारी डिएसपी मदन कुँवरलाई दिइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, यस्तो काममा तीनजना घुमुवा प्रहरीहरुमा दुईजना प्रहरी हवल्दार र एकजना प्रहरी जवान संलग्न रहेका छन् । प्रहरी हवल्दारहरुमा क्रमशः नुरुल हुदा र सुजित रायभर रहेका छन् । भने प्रहरी जवानमा ध्रुव यादव रहेका छन् । सर्लाहीका व्यापारी र भारतको सिमावर्ती बजारका प्रत्येक व्यापारीहरु बाट घुमुवा प्रहरीहरुले मासिक २० देखि ३० लाखसम्म रकम उठाउने गरेको स्रोतले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष चैत ११ गते देखि हालसम्म नेपाल भारत सिमानाका सिल गरिएको छ । तर तस्करहरुको बढदो सक्रियतासँगै सर्लाहीमा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा तस्करले जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामाग्रीहरु रात्री तथा दिउँसोको समयमा पनि खुलेआम तस्करी गर्दै आएका छन् ।

सिमानाका सिल भएको समयमा पनि तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहँदै आएको छ ।

तस्करीविरूद्ध शून्य सहनशिलताको नीतिलाई अवलम्बन गरेका प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले लकडाउनको समयमा तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहेको प्रमाण फेला परेपछि बाराउधोरण प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दारद्वय विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई गत जेठ २१ गते बुधबारका दिन निलम्बन गरेका थिए ।

त्यस्तै सर्लाहीकै चन्द्रनगर गाउँपालिका वडा नं.५ स्थित मोहनपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेश सहनीले नेपाल प्रहरीको व्यवसायिक नीति विरुद्ध गरेको विभिन्न गतिविधिको यथेष्ट प्रमाण भेटिएकोले गत साउन २३ गते निलम्बन गरी थप कारबाही प्रकृया अगाडी बढाईएको थियो । निलम्बनमा परेका ५ जना प्रहरीहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेको विभिन्न प्रहरी चौकीमा कार्यरत रहेका थिए ।

तस्करहरुले खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका छन् । यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपैयाँको सरकारी राजस्व चुहावट भइरहेको छ ।

अवैधरुपमा गाईगोरुको पनि खुलेआम तस्करी

जिल्लास्थित खुटौना, भाँड्सर र सिमरा नाकाबाट अवैधरुपमा गाई-गोरुको तस्करी पनि खुलेआम हुदै आएको छ ।

भाँड्सर नाकामा पर्ने शिवनगरका स्थानीयहरुका अनुसार, २०७८ वैशाखमा मात्र ७, ८, १६ र २३ गते गरी चार रात लगातार गाई, गोरु भारततर्फ तस्करी भएको छ । यो त एउटा उदाहरण मात्र हो । प्रायः जसो राती र बिहानको समयमा तस्करहरु गाई-गोरु लिएर आउने गरेका छन् । कुनै कुनै दिन दिउँसै समेत आउने गर्छन् ।

उनीहरुको निश्चित ठाउँ छ, त्यहाँ गाई-गोरुलाई रोकेर राख्ने गरेका छन् । प्रहरीहरुसंग सेटिङ मिलाएकोले बिना रोकतोक तस्करी हुँदै आएको छ । ‘कहिलेकाही भारतीय एसएसबी पुलिसले लाइन रोकेपछि ४/५ दिनसम्म पनि उक्त ठाउँमा नै रोकेर राख्ने गरेको देखिन्छ । ‘लाइन क्लियर’ भएपछि पुनः भारत पठाउँछन् । हामी यो सबै देखेर आजित भइसकेका छौं, हाम्रो बालिनाली समेत नस्ट हुने गरेको छ,’ एक स्थानीयले गुनासो गरे ।

बैशाख २२ गते बुधबार दिउँसो शिवनगरको एउटा बास घारीमा करिब ३० वटाको हाराहारीमा गाई-गोरु लुकाइराखेको प्राप्त गोप्य सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ र सशस्त्र प्रहरी प्रमुख एसपी गंगाराम श्रेष्ठलाई प्रत्यक्ष फोन सम्पर्क गरी जानकारी गराउँदा बि.ओ.पी. खुटौना र भाँड्सरका इन्चार्जद्वय क्रमश गणेश बहादुर अधिकारी र रबिन खड्काको कमान्डमा गएको सशस्त्र प्रहरीको टोलिले जम्मा दुईवटा गाई-गोरु मात्र समातेका थिए ।

भोलिपल्ट २३ गते बिहिवार बि.ओ.पी. खुटौना र भाड्सरका इन्चार्जद्वय क्रमश गणेश बहादुर अधिकारी, रबिन खड्का र व्यापारीबिच भएको चलफलमा प्रती गाई-गोरु २ सय रुपैयाँको दरले लिनेदिने गरी गोप्य सहमति भएपछि सोही राती जम्मा गरिराखेको सयौंको हाराहारीमा रहेको गाई-गोरु भारततर्फ लान व्यापारीलाई निर्वाध छुट दिएको एक प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

बैशाख २३ गते बिहिवार राती तस्करहरुले गाई-गोरु इन्डिया पुर्‍याएर २४ गते शुक्रबार दिउँसो र बेलुकीको समयमा नेपाल प्रवेश गरेको स्थानीयहरुले जानकारी गराए ।

प्रहरी प्रशासनले तस्करलाई खुलेआम गाई-गोरु भारततर्फ तस्करी गर्न लगाउने र भारत आउजाउ गर्न निर्बाध छुट दिएकोले नाकामा बसोबास गर्ने स्थानीय जनताहरु कोरोना सर्न सक्ने डरका कारण त्रसित भएका छन् । ‘ भारतमा कोरोना भाइरस निरन्तर वृद्धि भइरहेको अवस्थामा यसरी तस्करीको शिलशिलामा तस्करहरु भारत गएर पुनः नेपाल फर्किने गरेको देख्दा हामी आतंकित छौं,’ एक स्थानीयले भने ।

तस्करले सर्लाहीको विभिन्न स्थानीय बजारबाट खरिद गरेको गाई-गोरु सिमावर्ती गाउँ शिवनगरमा ल्याएर जम्मा गर्ने गरेको र सयौंको संख्या पुगेपछि रातको समयमा प्रहरी प्रशासनको सेटिङमा भारततर्फ तस्करी गर्दै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय