scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन आह्वान, एमालेको नेपाल समूह निर्णायक

काठमाडौं, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । राष्ट्रपतिले सोमबार राति नै संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

यसअघि सोमबार मात्र संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेसँगै उनी स्वतः पदमुक्त भएका थिए ।

प्रधानमन्त्री पदमुक्त भएसँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

तर, संसदभित्रको अंकगणित हेर्दा नेकपा एमाले भित्रकै राजनीति निर्णायक हुने देखिएको छ । जसपाभित्रको विवाद र माधव नेपाल समूहले राजीनामा नदिँदा कामचलाउ प्रधानमन्त्री नै धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री हुने सम्भावना देखिएको छ । यसो भएमा उनले एक महिनाभित्र बहुमत लिनुपर्छ । त्यस्तो अवस्थामा ओलीले विश्वासको मत पाएमा चुनाव गराउने र मत नपाएमा संसद विघटन गराउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

अहिले ओलीले ९३ मत पाए । २८ जना एमाले सांसदले मतदान गरेनन् । यस्तो अवस्थामा विपक्षी दलहरुले बहुमत पुर्‍याउन गाह्रो छ । किनकि विश्वासको मतको विपक्षमा १२४ मत मात्रै परेको छ । नयाँ सरकार बनाउन (हाल प्रतिनिधिसभामा कायम सदस्य २७१) १३६ सिट आवश्यक पर्छ ।

सोमबारको अवस्था हेर्दा ३४ जना सांसद अनुपस्थित हुँदा १५ जना तटस्थ बसे । नेपाल समूहको २८ सांसद र राप्रपाको एक सांसदलाई गन्दा बाँकी सांसद कांग्रेस, माओवादी र जसपाका हुन् ।

यसरी हेर्दा कि जसपा मिल्नुपर्छ कि एमाले फुट्नुपर्छ । अहिलेका लागि यी दुवै विकल्प अप्ठ्यारा छन् । एमालेभित्र ओली समूहले यही हिसाब गरिरहेको छ ।

एमाले एक नै रहँदा जसपाको एउटा हिस्साले सहयोग गर्दा नयाँ सरकार बन्छ । एमाले मिल्ने अवस्थामा जसपाका महन्थ ठाकुर फुट्न पनि तयार भएको देखिन्छ । तर एमालेमा एक पक्षले अर्को पक्षलाई स्वीकार्ने अवस्था छैन ।
बरु अर्को विकल्पमा जसपाबाट प्रधानमन्त्री बन्दा जसपा एक हुनसक्ने सम्भावना छ तर यो विकल्पमा माओवादी तयार भए पनि कांग्रेस तयार नहुनसक्छ । कांग्रेसभित्र पनि ओलीकै निरन्तरता भन्दा जसपाको नेतृत्वमा सरकार बन्दा राजनीतिक फाइदा हुने देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय