scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

इजरायली आक्रमणमा परी २४ जनाको मृत्यु, जवाफस्वरुप हमासद्वारा कैयौं रकेट प्रहार

दक्षिणी गाजामा इजरायली हवाइ हमलापछिको दृश्य (तस्बिर: इब्राहिम अबु मुस्ताफा/रोइटर्स)

एजेन्सी, २८ बैशाख । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले गरेको हवाइ हमलामा परी २४ जनाको ज्यान गएको छ । त्यस्तै १०७ जना घाइते भएको समाचारमा बताइएको छ ।

इजरायलद्वारा गएराति गरिएको हमलामा २४ जना सर्वसाधारणको ज्यान गएको र सात सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । हवाइ हमलामा परी ज्यान गुमाउनेमध्ये नौं जना बालबालिका समेत रहेका छन् ।

इजरायली हवाइ आक्रमण लगत्तै प्यालेस्टाइनको सशस्त्र समूह हमासले ‘अपरेशन अल कुड्स स्वर्ड’ नामक जवाफी कारबाही सुरु गरेको छ । इजरालयलसँग तनाव बढ्दै गएपछि उक्त कारबाही सुरु गरिएको हमासको भनाइ छ ।

रकेट हमलामा क्षतिग्रस्त इजरायली घर (तस्बिर: जेरुसलेम पोष्ट)

समाचार अनुसार हवाइ आक्रमणपूर्व हमासले गाजा क्षेत्रबाट इजरायलमा दुई सयभन्दा रकेट प्रहार गरेको छ । उक्त रकेट प्रहारमा परी ६ जना इजरायली घाइते भएका छन् । आशकेलनस्थित दुई वटा घरमा रकेट खसेपछि एकै परिवार ४ जनासहित ६ जना घाइते भएका हुन् ।

प्यालेस्टाइन र इजरायलबीच तनाव चर्किँदै गएपछि संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले तनाव कम गर्न भनेको छ । पछिल्लो घटनाक्रमबारे छलफल गर्न परिषदले आतपकालीन बैठक समेत बसेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले समेत इजरायललाई तत्काल हवाइ हमला रोक्न आग्रह गरेका छन् । तर मंगलबार बिहानसम्म इजरायलले हवाइ आक्रमण जारी राखेको समाचारमा बताइएको छ । त्यस्तै हमासले पनि तेल अभिभ र इजरायल अधिनस्थ क्षेत्रमा कैयौं रकेट प्रहार गरेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय