scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

हालसम्म कसैलाई पनि कोभिड संक्रमण नभएको उत्तर कोरियाको दाबी

एजेन्सी, २८ बैशाख । कोरोना भाइरस लगभग विश्वको हरेक कुनामा फैलिएको छ । कोरोना महामारी सुरु भएको एक वर्षभन्दा बढी भइसकेको छ । तर उत्तर कोरियाले हालसम्म आफ्ना कुनै पनि नागरिक भाइरसबाट संक्रमित नभएको दाबी गरेको छ ।

उत्तर कोरियाले विश्व स्वास्थ्य संगठनसामु पेश गरेको कोभिडसम्बन्धी पछिल्लो प्रतिवेदनमा ‘शून्य संक्रमण’ भएको जनाएको हो । योसँगै कोरोना भाइरस नफैलिएका अति थोरै मुलुकमा उत्तर कोरिया पनि परेको छ ।

यही अप्रिलको अन्तिम साता उत्तर कोरियामा ७५१ जनाको कोरोना परीक्षण गरिएको थियो । तीमध्ये १३९ जनामा कोरोना भाइरसका जस्तै लक्षण देखिएका थिए । तर ती लक्षण कोरोनाका नभएर इन्फ्लुएन्जाका पुष्टि भएको थियो ।

उत्तर कोरियाले विश्व स्वास्थ्य संगठनसामु आफ्ना कुनै पनि नागरिक कोरोना भाइरसबाट संक्रमित नभएको प्रतिवेदन पेश गरेपनि कतिपयले प्रश्न उठाएका छन् । यसरी प्रश्न उठाउनेमा दक्षिण कोरियाली अधिकारी समेत छन् । उत्तरले भाइरससँग जुध्नुको साटो संक्रमितको संख्या लुकाउनतिर जोड दिएको उनीहरुको आरोप छ ।

तर दक्षिण कोरियाली अधिकारीको आरोपले उत्तर कोरियामा भने आक्रोश पैदा गरेको प्रस्ट हुन्छ । जस्तै, गत हप्ता उत्तर कोरियाली सरकारी अखबार रोडोङ सिनमुङले दक्षिण कोरियामाथि जानीजानी आफ्नो मुलुकमा भाइरस फैलाउन गर्न खोजेको आरोप लगाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय