scheduleबुधवार आषाढ़ २ गते, २०७८

ओलीलाई भारतले काँध थापेको नेपाल समूहको निष्कर्ष

काठमाडौं, २८ वैशाख । नेकपा एमालेको माधव नेपाल समूहले मंगलबार आफ्नो समूहको भर्चुअल बैठक बोलाएको थियो । बैठकमा सहभागी नेताले भावी रणनीतिबारे विभिन्न कोणबाट छलफल गरे ।

यहीक्रममा वैकल्पिक सरकार गठनमा आफ्नो समूहको भूमिकाबारे नेताहरुले छलफल गरे । छलफलमा ओली सरकार जोगाउन भारत काँधै थापेर लागिरहेको निष्कर्ष निकालिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए । बैठकमा भारतका सत्तारुढ दल भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीको पछिल्लो अभिव्यक्तिबारे पनि छलफल भएको थियो ।

स्वामीले ओली सरकार भारतको चाहनाअनुसार बनेको र प्रचण्ड सरकारमा आउँदा चीन विजयी हुने भनाई सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

यद्यपि स्वामीले एक सोही ट्वीटमा उठेको जिज्ञासामा जवाफ दिनेक्रम देउवाप्रति पनि लचक भएर धारणा राखेका छन् । आफूले प्रचण्डलाई पनि भेटेको र उनीबारे जानकारी भएको बताउँदै स्वामीले लोकतन्त्रप्रति प्रतिवद्ध शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि भारत खुसी हुने बताएका छन् ।

यी सबै प्रसंगसहित जसपाको महन्थ ठाकुर र उपेन्द्र यादवको भूमिकाले पनि नेताहरु ओली सरकार जोगाउन भारत भरपूर लागिरहेको निष्कर्ष निकालेका हुन् । यस्तो अवस्थामा सरकारको विकल्प खोज्ने काम थप कठिन भएको नेपाल समूहको निष्कर्ष छ ।

बैठकमा तर्क जे दिइए पनि अधिकांश नेताहरुले एमाले एकताकै पक्षमा अभिमत जाहेर गरेका छन् । उता, केपी ओली समूहले भने नेपाल समूहका केही ‘हार्डलाइनर’ नेताहरुलाई कडा कारबाही गर्ने र बाँकीलाई न्यूट्रलाइज गर्ने रणनीति लिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय