scheduleबुधवार आषाढ़ २ गते, २०७८

ओलीसँग आत्मसमर्पण नगर्ने खनाल-नेपाल समूहको निष्कर्ष, राजीनामाको तयारी

काठमाडौं, २९ वैशाख । पार्टी एकता जोगाउने प्रयास सम्पूर्णरुपले बन्द भएपछि नेकपा एमाले विभाजन हुने भएको छ । पार्टीका २० भन्दा बढी सांसदहरुले राजीनामाको तयारी गरेका छन् ।

पार्टी एकता जोगाउन अन्तिम प्रयास गरिरहँदा पनि प्रधानमन्त्री र उनीनिकट नेताहरुले आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गरिरहेको सन्दर्भमा ओलीसँग आत्मसमर्पण नगर्ने निर्णय उक्त समूहले गरेको हो ।

एमालेको माधव नेपाल र झलनाथ खनाल समूहको यो निर्णयसँगै विपक्षी गठबन्धनलाई बहुमत पुग्ने लगभग निश्चित भएको छ । जसपाको महन्थ ठाकुर समूहले बहुमतको सरकार रोक्न गरिरहेको सबै प्रयास पनि अब असफल हुने भएको छ ।

‘हाम्रो निर्णय कसैलाई सघाउने वा गुन लगाउने भन्दा ओलीको मनपरीतन्त्र र तानाशाही यात्रालाई रोक्नको लागि बहादुरीपूर्ण निर्णय हो,’ नेकपा समूहका एक नेताले भने । ओली डरलाग्दो ढंगले अगाडि बढिरहेको र उनले कम्युनिष्ट आन्दोलनसँगै देशको संविधानलाई नै ध्वस्त बनाउने दिशामा अगाडि बढिरहेकोले यो निर्णय गर्नुपरेको ती नेताको स्पष्टोक्ति छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दावी पेश गर्न समय दिइसकेकी छिन् । यो समय विहीबार राति ९ बजे सकिँदैछ, जुन समय नजिकिँदैछ ।

खनाल नेपाल समूहले लोकतन्त्र, राष्ट्रियता र यो आन्दोलन जोगाउन नयाँ पार्टी गठन गरेर जाने जोखिमपूर्ण बाटो रोजेको जनाएको छ । यी सबै प्रक्रियाहरु अगाडि बढाउन यो समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मेवारी र अधिकार दिएको छ ।

अहिले २० जना निर्वाचित सांसदहरुले राजीनामा दिने र उपनिर्वाचनमा विपक्षी गठबन्धनले ती उम्मेदवारहरुलाई जिताउने सहमति पनि भइसकेको बताइएको छ ।

यी हुन् राजीनामा दिन तयार सांसदहरु-
झलनाथ खनाल– इलाम १

माधवकुमार नेपाल–काठमाडौं २

योगेश भट्टराई– ताप्लेजुङ

जयकुमार राई– सुनसरी १

भवानी खापुङ–तेह्रथुम

यज्ञराज सुनुवार–ओखलढुंगा

गणेश पहाडी–सिन्धुली १

पवित्रा निरौला खरेल– झापा २

जीवनराम श्रेष्ठ– काठमाडौं ८

नारायण खतिवडा– नुवाकोट १

विरोध खतिवडा–मकवानपुर २

सुरेन्द्र पाण्डे –चितवन १

घनश्याम भुसाल–रुपन्देही ३

गोकर्ण विष्ट–गुल्मी १

मेटमणि चौधरी दाङ–१

झपट रावल कैलाली–२

दीपकप्रकाश भट्ट– कञ्चनपुर ३

भीम रावल–अछाम १

कृष्णलाल महर्जन–ललितपुर २

सोमप्रसाद पाण्डे –पाल्पा २

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय