scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

स्पेनिस लालिगामा लेभान्टेले बार्सिलोनालाई बराबरीमा रोक्यो

काठमाडौं, २९ वैशाख । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र लेभान्टेले बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा लेभान्टेले बार्सिलोनालाई ३-३ को बराबरीमा रोकेको हो ।

बार्सिलोनाका लागि लियोनल मेस्सी, पेड्री गोन्जाले र ओस्मान डेम्बेलेले गोल गरेका थिए । लेभान्टेका मेलेरो मान्जानारेस, जोसे मोरालेस र सर्जियो लिमोन्सले १-१ गोल गरेका थिए ।

खेलको २५औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता दोब्बर पारे । पहिलो हाफमा बार्सिलोना २-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ५७औं मिनेटमा मान्जानारेसले गोल फर्काएपछि लगत्तै ५९औं मिनेटमा मोरालेसले गोल गरे र खेल बराबरीमा ल्याए । ६४औं मिनेटमा डेम्बेलेले गोल गरेपछि बार्सिलोना पुनः अगाडि आयो । यद्यपि ८३औं मिनेटमा लिमोन्सले गोल गर्दै बार्सिलोनालाई जीतबाट वञ्‍चित गराए ।

बराबरीपछि ३६ खेलबाट ७६ अंक भएको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेका एट्लेटिको मड्रिड र रियल मड्रिड क्रमशः ७७ र ७५ अंकसहित पहिलो र तेस्रो स्थानमा छन् । लालिगाको उपाधि होड रोमाञ्‍चक बन्दै गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय