scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

नेपाल सुपर लिग फुटबलमा आज इलिमिनेटर खेल हुँदै

काठमाडौं, २९ वैशाख । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलअन्तर्गत आज इलिमिनेटर खेल हुँदै छ । जसअन्तर्गत ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने छ ।

खेल नेपाली समयअनुसार साँझ ५:३० बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ । यी दुई टोली क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफका लागि छनौट भएका थिए ।

ललितपुरको कप्तान अञ्‍जन विष्‍ट रहेका छन् भने लुम्बिनीका कप्तान गोलरक्षक विशाल श्रेष्‍ठ रहेका छन् । यस खेलमा पराजित हुने टोली बाहिरिनेछ भने विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्‍वालिफायरमा काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्ने छ ।

लिग चरणका ६ खेलहरुमध्ये ललितपुरले २ खेलमा जीत निकाल्दा ३ बराबरी खेलेको थियो भने एक खेलमा हार व्यहोरेको थियो । बुटवलले भने २ जीत, २ बराबरी र २ हारको नतिजा निकालेको थियो । यी दुई टोलीबीचको लिग चरणको भेटमा ललितपुरले बुटवललाई ३-० ले हराएको थियो ।

यसअघि हिजो भएको पहिलो क्‍वालिफायरमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले हराउँदै धनगढी फाइनलमा पुगेको छ । काठमाडौंलाई भने फाइनल प्रवेशका निम्ति अझै एक मौका रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय