scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

गंगा नदी किनारमा बेवारिसे शव भेटिने क्रम रोकिएन

एजेन्सी, २९ वैशाख । केही दिनयता गंगानदीले बगाएका बेवारिसे शव भारतको विभिन्‍न स्थानमा भेटिन थालेको छ । पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको हो ।

आम रूपमा गंगामा मृत चौपायाहरु भेटिनु सामान्य जस्तै थियो । तर कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिनुलाई भने चिन्ताको विषय मानिएको छ । पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगा नदी किनारमा बेवारिसे ७१ शव भेटिएका छन् ।

भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नुपरेको खबरहरु आइरहेको बेला यस्तो समस्या देखिएको हो । नदी किनारमा भेटिएको शवबारे फरक फरक अनुमान सार्वजनिक भइरहेका छन् ।

कतिपय शव अन्तिम संस्कारमा भएको समस्याले नदीमा बगाइएको हुन सक्ने तर्क छ भने केही नदी किनारमा शव जलाउने क्रममा नजलिकन बगाइएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरु बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ । तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ ।


यो पनि:
गंगा नदीको किनारमा सयभन्दा बढी शव भेटियो

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय