scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

इजरायल र प्यालेस्टाइनबीच युद्ध भड्कियो, ४१ जनाको मृत्यु

एजेन्सी, २९ बैशाख । इजरायल र प्यालेस्टाइनबीच भड्किएको युद्धमा परी हालसम्म ४१ जनाको मृत्यु भएको छ । हिजो मंगलबारदेखि सुरु भएको युद्धमा परी ३६ जना प्यालेस्टाइन र पाँच जना इजरायलीको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

प्यालेस्टाइनको गाजा क्षेत्रबाट रकेट हमला भएपछि इजरायलले मंगलबारदेखि उक्त क्षेत्रमा हवाइ हमला जारी राखेको छ । इजरायली हवाइ हमलामा ३६ जनाको ज्यान गएको छ र भने सैयौं घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये १० जना बालबालिका रहेका छन् ।

इजरायली हवाइ आक्रमण लगत्तै प्यालेस्टाइनको सशस्त्र समूह हमासले ‘अपरेशन अल कुड्स स्वर्ड’ नामक जवाफी कारबाही सुरु गरेको छ । इजरालयलसँग तनाव बढ्दै गएपछि उक्त कारबाही सुरु गरिएको हमासको भनाइ छ ।

हमासले प्रहार गरेका रकेटबाट इजरायलमा ५ जनाको मृत्यु भएको छ । गाजा क्षेत्रबाट ८५० भन्दा बढी रकेट प्रहार भएको इजरायली अधिकारीले बताएका छन् । भवन र कारमा रकेट खस्दा ५ जनाको ज्यान गएको उनीहरुको भनाइ छ ।

प्यालेस्टाइन र इजरायलबीच चर्किँदै गएको तनावले युद्धको रुप लिएपछि संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्दै तत्काल तनाव कम गर्न भनेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले समेत मंगलबार इजरायललाई हवाइ हमला रोक्न आग्रह गरेका थिए । तर बुधबार पनि इजरायलले हवाइ आक्रमण जारी राखेको समाचारमा बताइएको छ । हमासका वरिष्ठ नेताको घरमा समेत हवाइ हमला गरिएको इजरायली सेनाले बताएको छ ।

त्यस्तै हमासले समेत तेल अभिभ र इजरायल अधिनस्थ क्षेत्रमा कैयौं रकेट प्रहार गरेको छ । हमासले प्रहार गरेको एक रकेट आशकेलनस्थित पाइपलाइन खसेको र लगत्तै उक्त पाइपलाइनमा आगो लागेको समाचारमा उल्लेख छ ।

(तस्बिर: सयद खातिब/एएफपी)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय