scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

नेता चौलागाईंको निधनप्रति दु:ख व्यक्त गर्दै ओलीले भने- ‘पार्टीले असल नेता गुमाएको छ’

काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले आज विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पणका साथ उनको निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताए ।

कोभिड–१९ को सङ्क्रमणले मङ्गलबार नेता चौलागाईंको निधन भएको थियो । भद्र, शालीन, मिलनसार छवि बनाएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको पनि ओलीले उल्लेख गरे ।

‘एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पुर्‍याउनु भएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ’, विज्ञप्तिमा ओलीले भनेका छन्।

चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्षसमेत थिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय