scheduleबुधवार आषाढ़ २ गते, २०७८

जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

काठमाडौं, २९ वैशाख । राष्ट्रिय जनमोर्चाले पार्टीले गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ। थापाले नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको र पार्टी निर्देशन पालना नगरेकोबारेमा उनलाई स्पष्टीकरण सोधिएको जनमोर्चाका प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए।

वैशाख २६ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशप्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिईन् । उक्त समय सीमा आज दिउँसो ४:०० बजे सकिनेछ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा हुन्। त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेश सभा सदस्य छन्।

३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेश सभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ।

बहुमतको सरकार गठनका लागि प्रदेशप्रमुखले दिएको समयसीमा आज दिउँसो ४ः०० बजेसम्म दलहरूले बहुमतसहित दाबी गर्न नसकेको अवस्थामा अल्पमतको सरकार बन्नेछ । उक्त अवस्थामा प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री बन्नुहुनेछ । यस अवस्थामा मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय