scheduleबुधवार आषाढ़ २ गते, २०७८

के महन्थ ठाकुर भारतको सूचना र सुझावअनुसार ओलीसँग टाँसिइरहेका हुन् ?

साझापोष्ट टिप्पणी

काठमाडौं, २९ वैशाख । भारतको प्रतिष्ठित अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले मंगलबार नेपालको पछिल्लो राजनीतिक स्थितिबारे सम्पादकीय लेखेको छ । सम्पादकीयका कतिपय वाक्यहरु विवादास्पद छन् । सम्पादकीयले नेपालको राजनीतिक स्थितिको चित्रण मात्र गर्दैन, भारतीय दृष्टिकोणका रुपमा केही धारणाहरु प्रस्तुत समेत गर्दछ ।

सम्पादकीयले भन्छ कि नेपालको संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन् । तर, नयाँ दिल्लीको समर्थन भने ओलीलाई जारी नै छ । सम्पादकीयले नयाँ दिल्लीले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई त्यतिन्जेल तटस्थ बस्न सुझाएको बताएको छ, जहिलेसम्म दिल्लीको समर्थन ओलीलाई रहन्छ ।

सम्पादकीयले अगाडि भनेको छ– ‘जसपाको ठाकुर पक्ष तटस्थ रहुन्जेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना छैन । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले ओली फेरि प्रधानमन्त्री नियुक्त हुन सक्नेछन् ।’

सम्पादकीयले चित्रण गरेका यी व्यहोराहरु सामान्य हुन् । नेपालको राजनीतिक अवस्था अहिलेसम्म त्यस्तै देखिन्छ । जसपाको ठाकुर पक्षले तटस्थताको अड्डी लिइरहेको छ । जसले गर्दा विपक्षी गठबन्धनको सरकार बन्न सकिरहेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहिबार रातिसम्म विपक्षी दलहरुबीच सहमति हुने र वैकल्पिक सरकार बन्ने सम्भावना सकिएको छैन, तर त्यसका लागि राजनीतिक स्थिति बिल्कुलै सहज देखिन्न ।

तर, सम्पादकीयले खुलासा गरेको महत्वपूर्ण पक्ष के हो भने यी सबै घटना नयाँ दिल्लीको इच्छा, चाहना र सुझावमुताबिक नै भइरहेका छन् । यदि त्यसो हो भने नेपालको भूराजनीतिक जटिलता निक्कै जटिल र पेचिलो बनेको बुझ्न सकिन्छ । नेपालको स्वाधिनता र सार्वभौमसत्तामाथि समेत प्रश्न उठ्न सक्ने छ ।

ओलीका कदमहरु नबुझिएका हैनन् । उनका सबै सबै कामहरु ‘ओपन–सेक्रेट’ जस्तै थिए । तथापि उनलाई ‘भारत विरोधी राष्ट्रवादको महानायक’ बनाउने उपक्रम जारी नै थियो । मधेशी–जनजाति आन्दोलन, संघीयता, समावेशिता र आरक्षणको बढ्दो मागपछि प्रतिरक्षात्मक बनेको नेपालको एउटा खास समुदायले ओलीलाई खास प्रकारको राष्ट्रवादको महानायकत्व प्रदान गरिहेको थियो ।

आम राजनीतिमा यो फन्डाले राम्रै काम गरेपनि देशको बौद्धिक वर्ग र सचेत नागरिक ओलीको उत्थान, झुकाव र रुझानप्रति प्रष्टै थिए । त्यसमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषः दूतका रुपमा ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आएर ओलीसँग गोप्य मन्त्रणा गरेर फर्किएपछि नेपालको राजनीतिक स्थिति झनझनै बिग्रेर गएको थियो ।

हिन्दुस्तान टाइम्सको यो विवादास्पद सम्पादकीयले ओली–मन्त्रणाकै समयदेखि नेपाली राजनीतिक भारतीय इच्छाको डिजाइनमै चलिहरेको संकेत गर्दछ । यो निक्कै आपत्तिजनक विश्लेषण र ठहर हो । महन्थ ठाकुरको तटस्थता कतै ओली–गोयल मन्त्रणा कै एक अंग त हैन भन्ने आशंकालाई सम्पादकीयले बल दिएको छ ।

सम्पादकीयले भन्छ– ‘नेपालको राजनीतिक उतरचढाव अन्त्य भएको छैन, बरु अस्थिरताको अर्को चरणतिर प्रवेश गर्न सक्दछ । भारतीय समर्थन, जसपामा निर्णयक विभाजन र देउवाको अहिलेको अवस्थामा नेतृत्व लिने अनिच्छाले गर्दा ओली अझै शक्तिमा रहन सक्दछन् ।’

सम्पादकीयका वाक्यहरु अधिकांशतः ओलीको प्रतिरक्षामा खर्चिएका छन् भने सामान्य आलोचना पनि गरिएको छ । सम्पदाकीयमा भनिएको छ, ‘तर उनी कोभिड व्यवस्थापनमा अनुत्तरदायी, आन्तरिक राजनीतिमा अलोकतान्त्रिक र अल्पसंख्यकप्रति विभेदकारी देखिन्छन् ।’

हिन्दुस्तान टाइम्सको सम्पादकीय आउनु कुनै आश्चर्य हैन । लोकतान्त्रिक मुलुकमा मिडिया छिमेकी देशको राजनीतिक स्थितिको चर्चा र विश्लेषण गर्न स्वतन्त्र हुन्छन् ।

सम्पादकीयले चित्रण गरेको अवस्था ठ्याक्कै मिल्नु पनि कुनै आश्चर्य हैन । त्यतिको सूचना नजिकको छिमेकी देशबाट संकलन गर्नु कुनै ठूलो खजाना फेला पारेको पनि मान्न सकिन्न ।

आश्चर्य र आपत्तिको कुरा के हो भने– ठाकुरको तटस्थता, जसपाको सम्भावित विभाजन, देउवाको वैकल्पिक सरकार गठनको नेतृत्व लिने अनिच्छा र ओली फेरि सबैभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री नियुक्त हुन सक्ने सम्भावनालाई सम्पादकीयले नयाँ दिल्लीको सूचना र सुझावमै भइरहेका घटनाको रुपमा चित्रण गर्ने प्रयास गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय