scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

चीनमा जनगणनाः जनसंख्या वृद्धिदर घट्यो, जेष्ठ नागरिकको संख्या बढ्यो

काठमाडौं, २९ वैशाख । चीनमा ७ औं राष्ट्रिय जनगणना सम्पन्न भएको छ । जनगणनाको तथ्यांक मंगलबार सार्वजनिक गरिएको छ । प्रत्येक १० वर्षमा हुने जनगणनाको तथ्यांक यस अघि सन २०११ को अप्रिल ८ मा सार्वजनिक गरिएको थियो ।

चीनमा आधुनिक जनगणना सन् १९५३ बाट शुरुवात गरिएको थियो । तथ्यांक अनुसार चीनको अब जनसंख्या १ अर्ब ४१ करोड १२ लाख पुगेको छ । जनगणना अघि १ अर्ब ४५ करोड जनसंख्या प्रक्षेपित गरिएको भए पनि गणनाले त्यति नपुगेको देखाएको छ । यसमा हङकङ, मकाओ र ताइवानको जनसंख्यालाई समावेश गरिएको छैन । जनसंख्या वृद्धिदरमा भने कमी आएको छ ।

७ औं जनगणना अनुसार जनसंख्या बृद्धिदर सन् २०१०–२०२० को बीचमा ५.३८ प्रतिशत देखिएको छ । ६ औं जनगणनामा यो दर ५.८४ प्रतिशत थियो । चीनका जनसंख्या विश्लेषकहरुका अनुसार आउँने दशकमा चीनको जनसंख्या बृद्धिदर मात्र हैन, जनसंख्या नै घट्ने संभावना देखिएको छ । उनीहरुका अनुसार सन २०२२ बाट चीनको जनसंख्या घट्न थाल्ने छ ।

चीनमा लामो समयसम्म एक बच्चा नीति कायम थियो । बच्चा जन्माउने प्रवृति कम हुँदै गएपछि जनसंख्यामा वृद्धवृद्धा जनसंख्याको अनुपात बढ्न थालेको थियो । आउने दशका त्यो समूहबाट मृत्युदर बढ्ने हुँदा जनसंख्या घट्न थाल्ने विश्लेषकहरुको राय छ ।

मंगलवार सार्वजनिक गरिएको तथ्यांकमा १४ वर्ष मुनिको उमेर समूह अनुपात १७. ९५ प्रतिशत मात्र देखिएको छ । १५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या गत जनगणनामा भन्दा ६.७९ प्रतिशतले घटेको छ । यो उमेर समूहको जनसंख्या ६३.३५ प्रतिशत छ ।

६० वर्षमाथिको जनसंख्या करिब २६ करोड छ । यो उमेर समूहमा १८.७ प्रतिशत छ । हान जातिको जनसंख्या ९१.११ प्रतिशत र अन्य अल्पसंख्यक समुदायको जनसंख्या ८.८९ प्रतिशत छ ।

लैङिगक दृष्टिकोणले भने महिलाभन्दा पुरुष धेरै देखिएको छ । महिला पुरुष अनुपात ५१.२४ः ४८.७६ रहेको छ । चीनमा यस अघि सन् २०१०, २०००, १९९०, १९८२, १९६४ र १९५३ मा जनगणना भएको थियो ।

चीन संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय