scheduleशुक्रवार आश्विन १ गते, २०७८

रियल म्याड्रिडसहित तीन फुटबल क्लबमाथि छानबिन सुरु

एजेन्सी, २९ बैशाख । युरोपेली फुटबल महासंघ (युईएफए) ले युरोपियन सुपर लिगमा संलग्न तीन फुटबल क्लबमाथि छानबिन सुरु गरेको छ ।

युरोपियन सुपर लिग नामक भिन्नै फुटबल प्रतियोगिता घोषणा गरेका रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसमाथि युईएफएले औपचारिक रुपमा छानबिन सुरु गरेको गोल डटकमले जनाएको हो । नयाँ प्रतियोगिताबाट अलग हुन नचाहेपछि तीन क्लबमाथि छानबिन सुरु गरिएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार युईएफएले एक विज्ञप्ति जारी गर्दै तीन क्लबमाथि छानबिन सुरु भएको जानकारी दिएको छ । ‘युईएफएको अनुशासनसम्बन्धी नियम (दफा ३१.४) बमोजिम तथाकथित सुपर लिगका सम्बन्धमा रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसले युईएफएका कानुनी ढाँचा उल्लंघन गरे/नगरेकोबारे छानबिन गर्न युईएफएका नीति तथा अनुशासनसम्बन्धी निरीक्षकलाई नियुक्त गरिएको छ’, उक्त विज्ञप्तिमा भनिएको छ ।

गत महिना युरोपका शीर्ष १२ क्लबले च्याम्पियन लिगको समानान्तर प्रतियोगिता युरोपियन सुपर लिग घोषणा गरेका थिए । तर चौतर्फी विरोध भएपछि नौ वटा क्लबले सुपर लिगबाट अलग्गिएको बताएका थिए । तर रियल, बार्सिलोना र युभेन्टसले समानान्तर प्रतियोगिताबाट अलग्गिएका छैनन् ।

गत हप्ता सुपर लिग विफल भएकोमा रियल, बार्सिलोना र युभेन्टसले युईएफए र फिफाको आलोचना गरेका थिए । त्यस्तै फुटबलमा परिवर्तन ल्याउनका लागि प्रयास जारी राख्ने पनि उनीहरुको भनाइ थियो ।

‘परियोजना त्याग्नका लागि तेस्रो पक्षले दिइरहेको अस्वीकार्य दबाब, धम्की र प्रहारबाट संस्थापक क्लबहरु पीडित बनेका छन् र आगामी दिनमा पनि पीडित हुनेछन्’ , रियल, बार्सिलोना र युभेन्टसले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘ यही भएर ठोस प्रस्ताव तथा रचनात्मकमार्फत् फुटबलको समाधान खोज्ने अधिकार तथा कर्तव्यबाट विमुख पार्न खोजिएको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय