scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

नेपाल समूहका युवा नेताहरु पनि महन्थपथमै !

साझापोस्ट टिप्पणी

काठमाडौं, ३० वैशाख । कुनैबेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकताभित्रका दुई नेताहरुको बेलामा व्यङ्ग्य गरेका थिए ।

नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालको नामै लिएर यी नेताद्वयले समयमा निर्णय गर्न नसक्ने र खाली ‘थप छलफलको माग’ गर्ने गरेको ओलीको व्यङ्ग्य थियो ।

अहिले नारायणकाजी र घनश्यामको पार्टी फरक भइसकेको छ । ओलीले त्यतिबेला गरेको व्यङ्ग्य एमालेभित्रको माधव नेपाल समूहमा भने चरितार्थ भएको छ ।

संसदमा विश्वासको मत माग्नुभन्दा अगाडि सामूहिक राजीनामा दिन आक्रामकरुपमा प्रस्ताव गर्ने घनश्याम भुसाल लगायतका नेपाल समूहभित्रका युवाहरु अहिले ‘थप छलफलको माग’ गर्न थालेका छन् ।

उनीहरुको तर्क छ- ‘त्यतिबेलै राजीनामा दिएको भए ओली विस्थापित भइसक्थे । अब राजीनामा दिँदा अर्कै अर्थ लाग्छ- त्यो हो विपक्षीलाई सघाउन आफ्नै पार्टी फुटाए । त्यतिबेला सघाएको भए ओलीविरुद्धको आक्रोशको रुपमा चित्रित हुनसक्थ्यो र राजनीतिक कदमको रुपमा पुष्टि हुनसक्थ्यो ।’

अब राजीनामा दिँदा वैकल्पिक सरकार बन्ने पनि सुनिश्चित नभएको र यसले एकातिर राष्ट्रिय राजनीति पनि ओलीकै पकडमा जाने र अर्कोतिर नेपाल समूह थप कर्नरमा पर्ने तर्क उनीहरुको छ ।

यी सबै तर्क गर्दै अन्ततः ‘चिसै पानीले नुहाउने’ अर्थात् एमालेभित्रै रहेर अन्तरसंघर्ष चर्काउनुपर्ने उनीहरुको निष्कर्ष छ ।

युद्धमा एउटा नियम हुन्छ- सक्रिय आक्रामकता नै सक्रिय प्रतिरक्षा हो । यो गुण ओलीमा देखिन्छ । उनी हजार जोखिम सहेर पनि कदम चालिहाल्छन् । बरु त्यसको सफलताको लागि सबै मिहिन तयारी युद्धस्तरमै गर्छन् । यसको लागि सिंगै रात किन बिताउनु नपरोस् ।

नेपाल लगायतका नेताहरु बत्ती निभाएर चामलको भुस छाम्न थाल्छन् । बिस्तारै समय घर्किसकेको हुन्छ । हातबाट पहलकदमी फुस्किसकेको हुन्छ । परिणाममा घाम अस्ताएपछि बिस्कुन सुकाउने भनेजस्तो अवस्था सिर्जना हुन्छ ।

यी र यस्तै गुणहरुले एमालेभित्रको अन्तरसंघर्षमा वरिष्ठ नेता नेपाल थप अप्ठेरोमा पर्न थालेका छन् । ओलीसँग विवाद उत्कर्षमा पुग्दै गर्दा नेपाल पक्षसँग ४४ सांसद थिए । तर ठीक समयमा ठिक निर्णय गर्न नसक्दा अहिले यो संख्या घटेर २८ बाट पनि ओरालो झर्ने देखिएको छ ।

स्पष्ट रणनीति, अस्पष्ट कार्यनीति

पछिल्ला छलफलहरुमा नेताहरु स्पष्टरुपमा दुई कित्तामा उभिइरहेका छन् । सबै नेताहरु राजनीतिकरुपमा ओलीको निरंकुशता र एकाधिकारविरुद्ध संघर्ष गर्नुपर्नेमा राजी छन् । रणनीति स्पष्ट भए पनि कार्यनीतिमा पनि उनीहरुबीच विवाद छ । विभिन्न जोड र कोणबाट कुराहरु उठिरहेका छन् ।

बेला बेलामा केही नेताहरुलाई बोलाएर ओलीले नयाँ नयाँ फण्डाको चारो हालिरहेकोले माधव नेपाल एकदमै ‘डिस्टर्ब’ भइरहेको सोही समूहका एक नेताले बताए ।

खासगरी ओलीसँग एक्लाएक्लै भेटेर आउने नेताहरुले पछिल्लो समय ‘यु-टर्न’ लिइरहेका छन् । सुरुमा उनीहरु राजीनामा दिइहाल्नुपर्छ भन्नेमा आक्रामक थिए ।

उनीहरुको तर्क हुने गर्थ्यो कि विजातीय तत्वसँग सँगै बसेर संघर्ष गरेर केही हुनेवाला छैन । ओली रुपान्तरण हुनेवाला छैन । समय र ऊर्जाको सत्यनाश मात्रै हो ।

तर अब उनीहरुको तर्क फेरिन थालेको छ । तर्क फेर्ने नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टहरु छन् ।

बुधबार बसेको स्थायी समितिको भर्चुअल बैठकमा २-३ वटा लाइनबाट कुरा आएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा झलनाथ खनाल, डा.भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरु सतिसालजस्तै भएर उभिए । ‘पाका नेताहरुमा एकप्रकारको “कन्सिस्टेन्सी” देखियो, तर युवा पुस्ताका साथीहरु सबैको राम्रो हुने र सुनिने गरी प्रस्तुत भए । समूहलाई निर्णयहिनतामा राख्न योगदान गरिराख्नुभएको छ,’ एमालेका एक पाका नेताले बताए ।

उनले भने, ‘हामीले माग राखिरहेका छौं । ओली टस न मस छन् । उनीका आसेपासेहरु अपशब्द प्रहार गरिरहेका छन् । तर हाम्रा युवा साथीहरु छेपारोले रंग बदलेजस्तो घण्टाघण्टामा तर्क फेरिरहेका छन् । किन यस्तो भइरहेको छ ? अचम्म लाग्छ ।’

युवा नेताहरुको ‘महन्थ पथ’

जसपा अध्यक्ष महन्थ ठाकुर कुनै बेला केपी ओलीसँग हद रुष्ट देखिन्थे । उनका हरेक भाषणमा यस्तो देखिन्थ्यो । तर पछिल्लो समय एकाएक आफ्नो राजनीतिक प्रतिपक्षी मात्र नभएर लक्ष्य उद्देश्यकै बाधकको रुपमा आफूले चित्रित गरिरहेको पात्रलाई आदर्श मानिरहेका छन् उनी ।

कम्युनिष्ट आन्दोलनभित्र रायमाझी पथ चर्चामा रहेजस्तै मधेस आन्दोलनभित्र महन्थ पथको चर्चा हुन थालेको छ । महन्थहरु आफू तटस्थ बस्ने निर्णय गर्छन् तर बालुवाटार र शीतलनिवास धाइरहन्छन् । तटस्थताको टालोले उनीहरुको ओलीसँगको राजनीतिक सहवासका दृश्यहरु जसरी छोपिन सकेको छैन त्यसैगरी एमालेमा नेपाल समूहका केही युवा नेताहरुको माग गरिरहेको ‘थप छलफल’ले ओलीलाई सघाउने उद्देश्य लुक्न सकेको छैन । राजनीतिमा पक्षधरता बोलीले होइन, नतिजाले देखाउने कुरा हो ।

निर्णायक घडीमा निर्णयविहिनताः संसद विघटनलाई सहयोग

नेपाल समूहभित्रका युवा नेताहरुले बुधबार बैठकमा सत्ता राजनीतिमा जोड दिन नहुने आदर्श कुरा गरे । जुन तर्क महन्थ र राजेन्द्र महतोले गरिरहेका छन् । ओलीलाई निरंकुश र एकाधिकारवादी देखिरहने र उनीविरुद्धको लडाईमा तटस्थ बसेर परिणाम ओली अनुकूल बनाइदिने भन्दै बैठकमा केही पाका नेताहरु पड्किएका थिए ।

स्रोतका अनुसार अहिले राजीनामा दिँदा विपक्षीलाई सहयोग गरेको सन्देश जाने भएकाले त्यस्तो निर्णय आफैंलाई हानिकारक हुने भुसालहरुको तर्क थियो । यता, नेपाल, खनाल र रावलहरुले भने विपक्षीहरुसँग गरिएको सम्झौताअनुसार नजाँदा ओलीको पुनः संसद भंग गर्ने अभिष्ट पूरा हुने र त्यसो गर्न नहुने धारणा थियो ।

प्रतिनिधिसभाको विघटन रोक्न विपक्षीलाई सघाउने गरी जानुपर्छ भन्ने वरिष्ठ नेता नेपालको तर्कलाई गलत बनाउनेगरी युवा नेताहरुले जोडदाररुपमा समर्थन गरिरहेका छन् ।

यो तर्कले एक महिना आसपास नै यस्तो दृश्य सिर्जना गर्नेछ- घनश्याम लगायतका युवा नेताहरु संसद विघटनको कागजमा जोडदार विरोधको वक्तव्य निकाल्छन् तर ओलीले संसद विघटन गर्दा व्यवहारमा भने ताली पनि पिटिरहेका हुनेछन् । दृश्य हातहरुले विरोधमा वक्तव्य लेख्ने र अदृश्य हातहरुले समर्थनमा थपडी बजाउने भनेजस्तो अन्तरविरोधले उनीहरुको बचेखुचेको साख पनि सकिनेछ ।

ओलीसँग पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने र चुनावबाट साइजमा ल्याउने हवाईकल्पना जस्तै योजना पनि केही नेताहरुले बैठकमा पेस गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय