scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

टोरिनोको पोस्टमा मिलानको गोल वर्षा, रेबिचको ह्‍याट्रिक

काठमाडौं, ३० वैशाख । इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति भएको खेलमा एसी मिलानले फराकिलो जीत निकालेको छ । मिलानले टोरिनोलाई उसैको मैदानमा ७-० गोलअन्तरले हराएको हो ।

मिलानको फराकिलो जीतमा आन्टे रेबिचले ह्याट्रिक पुरा गर्दा थियो हर्नान्डेजले दुई तथा फ्रान्क केसी र ब्राहिम डियाजले समान एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा पाँच गोल भएका थिए ।

खेलको १९औं मिनेटमा थियो हर्नान्डेजले ब्राहिम डियाजको पासमा गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । २६औं मिनेटमा फ्रान्क केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई पहिलो हाफमा २–० ले अघि बढाए ।

५०औं मिनेटमा ब्राहिम डियाजले फ्रान्क केसीको पासमा गोल गरेपछि मिलान ३–० ले अघि बढ्यो । ६२औं मिनेटमा आन्टे रेबिचको पासमा थियो हर्नान्डेजले गोल गर्दै मिलानलाई ४–० ले अघि बढाए । त्यसपछिको तीन गोल आन्टे रेबिचको नाममा रह्यो ।

रेबिचले १२ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरे । ६७औं मिनेटमा पहिलो गोल गरेका रेबिचले ७२औ मिनेट र ७९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा मिलानले ७–० को फराकिलो जित दर्ता गर्न सफल भयो ।

जीतपछि मिलान ३६ खेलबाट ७५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा टोरिनो ३५ अंक जोडेर १६औं स्थानमा रहेको छ । मिलानसँग समान ७५ अंक रहेपनि एट्लान्टा गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय