scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

गाजामा जारी इजरायली हमलाबारे टिप्पणी गरेपछि कंगनाको चर्को आलोचना

एजेन्सी, ३० बैशाख । ट्विटर बन्दभएपछि इन्स्टाग्रामा सक्रिय बनिरहेकी बलिउड अभिनेत्री कंगना रनौतको एक पोष्ट यतिबेला भाइरल बनिरहेको छ । भाइरल बनिरहेको उक्त पोष्टमा कंगनाले इजरायल र प्यालेस्टाइनबीच जारी हिंसाबारे एक पक्षीय टिप्पणी गरेकी छन् ।

इजरायली हवाइ हमलामा परी १७ बालबालिकासहित ६७ प्यालेस्टिनीको मृत्यु भएको छ । त्यस्तै हमासले प्रहार गरेका रकेटबाट ७ जना इजरायलीको ज्यान गएको छ । तर दुबै पक्षले अमानवीय कार्य गरिरहेका बेला कंगनाले भने इजरायलको पक्ष लिँदै र पूर्वाग्रही तरिकाले इन्स्टाग्राममा पोष्ट गरेकी छन् ।

यही भएर अधिकांश ट्विटर प्रयोगकर्ताले कंगनाको कडा आलोचना गरेका छन् । अमानवीय तथा असंवेदनशील पोष्ट गरेको भन्दै उनको आलोचना भएको हो ।

कंगनाले इन्स्टाग्राममार्फत् गाजा क्षेत्रमा इजरायलले गरिरहेको हवाइ हमलाको प्रशंसा गरेकी छन् । तर उनको इन्स्टाग्राम स्टोरीले भने कतिपय इन्टरनेट प्रयोगकर्तालाई रुष्ट बनाएको छ ।

‘र्‍याडिकल इस्लामिक आतंकवादबाट आफू र आफ्ना जनता सुरक्षित राख्न पाउनु हरेक राष्ट्रको आधारभूत अधिकार हो’, कंगनाले इन्स्टाग्राममा भनेकी छन्, ‘भारत इजरायलको पक्षमा उभिन्छ, धर्ना र कडा निन्दामार्फत् आतंकवादको प्रतिकार गर्नुपर्छ भनेर सोच्नेहरुले इजरायलबाट सिक्नुपर्छ ।’

उक्त पोष्ट भाइरल बनेपछि ट्विटरमा कंगना ट्रेन्डिङमा समेत आएकी छन् । केही ट्विटर प्रयोगकर्ताले कंगनाको इन्स्टाग्राम बन्द गर्नुपर्ने बताएका छन् ।

‘मूर्ख र इस्लामसँग डराउने बिचरी कंगना रनौतलाई आतंकवादको वास्तविक अर्थ त थाहा छ’, कंगनाको इन्स्टाग्राम पोष्ट राख्दै लेम ड्याक्टर्नी नामकी ट्विटर प्रयोगकर्ता लेख्छिन्, ‘रमादानको पवित्र रात (लेलात अल कदर) मा ३०० जना उपासकहरु धाइते बनाइए तर यी मूर्ख महिलाले ती निशस्त्र उपासक पनि क्रुर आतंकवादी देख्छिन् ।’

अर्का ट्विटर प्रयोगकर्ता कंगनाको आलोचना गर्दै लेख्छन्- ‘कंगना रनौत, तिमीले कहिल्यै पनि आतंकवादीबारे कुरा नगर्दा हुन्छ भन्ने मेरो विचार छ किनभने यो पाखण्ड हो । आज तिमीले पोष्ट गरेका कुराले आतंकवादी, नाजी र हत्यारा झै तिमी पनि यो धर्तीको फोहोर हौं भन्ने देखाउँछ । तिमीले जे भनेकी छौं, त्यो कुरा आतंककारीले मात्रै भन्छन् । तिमीलाई कत्ति पनि लाज छैन है?’

त्यस्तै बरखा नामक एकजना ट्विटर प्रयोगकर्ताले व्यङ्ग्यात्मक शैलीको एक तस्बिर राख्दै लेखेकी छन्- ‘ ट्विटरले अकाउन्ट बन्द गरेको छ तर उनी ट्विटरमै ट्रेडिङमा छन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय