scheduleबुधवार आश्विन ६ गते, २०७८

दिल्लीलाई महामारीबाट केही राहत: अक्सिजनको माग घट्यो, अस्पतालका बेड खाली हुन थाले

एजेन्सी, ३० बैशाख । पछिल्लो समय भारतको राजधानी नयाँ दिल्लीलाई केही राहत मिलेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्न थालेपछि दिल्लीलाई राहत मिलेको हो ।

दिल्लीमा बिहीबार १० हजार ४०० नयाँ संक्रमित थपिएका छन् जुन बुधबारको संख्याभन्दा झण्डै २२ प्रतिशतले कम हो । त्यस्तै परीक्षण गरिएकामध्ये कोरोना पोजिटिभ देखिनेको संख्या (positivity rate) घटेर १४ प्रतिशतमा झरेको छ ।

दिल्लीका उप-मुख्यमन्त्री मनिश सिसोदियाले अक्सिजनको माग घटेको जानकारी गराएका छन् । दिल्लीका लागि छुट्याइएको अतिरिक्त अक्सिजन अन्य राज्यलाई दिन सकिने पनि उनले बताए ।

‘अक्सिजनको माग घटेको छ र अस्पतालमा बेड खाली हुन थालेका छन्’, सिसोदियाले भने, ‘हामीलाई १५ दिन अघि बेड अनुसार ७०० मेट्रिक टन अक्सिजन चाहिएको थियो । तर दिल्लीमा अक्सिजनको माग घटेर प्रतिदिन ५८२ मेट्रिक टन पुगेको छ ।’

‘हामीले केन्द्र सरकारलाई पत्र लेखेर दिल्लीमा प्रतिदिन ५८२ मेट्रिक टन अक्सिजन भए पुग्ने र दिल्लीका लागि छुट्याइएको अतिरिक्त अक्सिजन अन्य राज्यलाई दिन सकिने जानकारी गराएका छौं’, सिसोदियाले थपे ।

दोस्रो लहरको गम्भीर चपेटामा परेको दिल्लीबासीलाई सहयोग गरेकोमा केन्द्र सरकार र दिल्लीस्थित उच्च अदालतलाई समेत उप-मुख्यमन्त्री सिसोदियाले धन्यवाद दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय