scheduleबुधवार आषाढ़ २ गते, २०७८

म्याकग्रेगर बने सबैभन्दा धेरै कमाउने खेलाडी, रोनाल्डो र मेसीको कमाइ कति ?

एजेन्सी, ३० बैशाख । आयरल्याण्डका मिश्रित मार्शल आर्ट्सका खेलाडी कोनर म्याकग्रेगर पछिल्लो १२ महिनामा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको धेरै कमाउने १० खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा रहेका छन् ।

फोर्ब्सका अनुसार पछिल्लो बाह्र महिनाको अवधिमा म्याकग्रेगरले कुल १८० मिलियन डलर (१२८ मिलियन पाउण्ड स्टर्लिङ) कमाएका छन् । उनले कुल आम्दानीमध्ये १५.६ मिलियन पाउण्ड स्टर्लिङ डस्टिङ पोइरियरसँगको भिडन्तबाट र बाँकी आफ्नो ह्विस्की ब्राण्ड लगायतका सम्पत्ति बेचेर कमाएका हुन् ।

यसअघि पहिलो नम्बरमा रहेका रोजर फेडेरर भने सातौं स्थानमा झरेका छन् । फेडेररको कमाइ घटेर ९० मिलियन डलरमा झरेको छ । उनी गत वर्ष १०६ मिलियन डलर कमाउँलै पहिलो पटक सूचीको शीर्ष स्थानमा परेका थिए ।

फुटबल खेलाडी लियोनल मेसी १३० मिलियन डलर कमाउँदै सूचीको दोस्रो स्थानमा रहेका छन् । त्यस्तै क्रिश्चियानो रोनाल्डो १२० मिलियन डलर आम्दानीसहित तेस्रो स्थानमा छन् । अमेरिकाका एनएफएल क्वाटरब्याक डाक प्रेसकोट १०७.५ मिलियन डलरसहित चौथो स्थानमा छन् ।

पाँचौ स्थानमा अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्स रहेका छन् । जेम्सले गत १२ महिनामा कुल ९६.५ मिलियन डलर कमाउन सफल भएका छन् ।

फोर्ब्सको ‘टप टेन’ सूचीमा ब्राजिलका फुटबल खेलाडी नेइमार ९५ मिलियन डलर आम्दानीसहित छैटौं स्थानमा छन् ।

फर्मुला वनका लुइस ह्यामिल्टन ८२ मिलियन कमाइसहित आठौं, एनएफएलका क्वाटरब्याक टम ब्राडी ७६ मिलियन डलरसहित नवौं र अमेरिकी बास्केटबल खेलाडी केभिन डुरान्ट ७५ मिलियन डलर कमाइसहित दशौं स्थानमा छन् ।

विश्वभर फैलिएको कोरोना महामारीबीच पनि पछिल्लो १२ महिनामा ‘टप टेन’सूचीमा परेका सबै खेलाडीले समग्रमा कुल १.०५ बिलियन डलर आम्दानी गरेको फोर्ब्सले जनाएको छ । जुन सन् २०१८ को हालसम्मकै उच्च आम्दानी (१.०६ बिलियन) भन्दा थोरैले कम हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय