scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

ललितपुरलाई पाखा लगाउँदै काठमाडौं नेपाल सुपर लिगको फाइनलमा

काठमाडौं, ३० वैशाख । काठमाडौं रेजर्स एफसी काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बेलुका सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीमाथि सहज जीत निकाल्दै काठमाडौंले उपाधि भिडन्त पक्का गरेको हो ।

दशरथ रङ्गशालमा भएको खेलमा काठमाडौंले ललितपुरमाथि ३-० को सहज जीत निकाल्न सफल भयो । काठमाडौंको जीतमा मिसुकेले २ गोल गरे भने स्टेफिन बिनोङले १ गोल गरे ।

खेलको १५औं मिनेटमा मिसुकेले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा मिसुकेले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६०औं मिनेटमा बिनोङले गोल गरेपछि काठमाडौं सहज जीततर्फ अघि बढ्यो । ललितपुरले कुनै पनि प्रहारलाई पोस्टको दिशा दिन सकेको थिएन । अन्तत: काठमाडौं ३-० ले विजयी भयो ।

काठमाडौंले अब उपाधिका लागि धनगढी एफसीसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो क्वालिफायरमा धनगढीसँगै पराजित भएपनि काठमाडौंलाई दोस्रो अवसर रहेको थियो ।

फाइनल खेल शनिबार साँझ साढे पाँच बजेदेखि दशरथ रङ्गशालामा सुरु हुने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय