scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

ग्रानाडामाथि सहज जीत निकालेको रियल मड्रिड उपाधि होडमा फर्कियो

काठमाडौं, ३१ वैशाख । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियलले ग्रानाडालाई उसैको मैदानमा ४-१ गोलअन्तरले हराएको हो ।

रियलको जीतमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले समान एक गोल गरे । घरेलु टोलीका जर्ग मोलिनाले एक गोल फर्काए ।

१७औं मिनेटमा मिगुइल गुइटेरेजको पासमा मोड्रिचले उत्कृष्ट गोल गर्दै रियललाई १–० ले अघि बढाए । इन्ज्युरी समयको पहिलो मिटेनमा मार्भिन पार्कले यान ब्रिस इटिकीलाई ट्याकल गर्दै खोसेको बललाई गोल गर्दै रियललाई पहिलो हाफमा २–० ले अघि बढाए ।

७१औं मिनेटमा जर्ग मोलिनाले गोल गर्दै ग्रानडालाई खेलमा २–१ को अवस्थामा ल्याए । सुआरेजको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अनमार्क रहेका मोलिनाले सहजै गोल गर्दै ग्रानाडालाई खेलमा फर्काएका थिए ।

त्यसको चार मिनेटपछि ओड्रिओजोलाले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । लगत्तै करिम बेन्जेमाले खाली पोस्टमा गोल गर्दै रियललाई ४–१ ले अघि बढाए । त्यसपछि कुनै गोल भएनन् र रियल विजयी भयो ।

जीतपछि रियलले शीर्षस्थानको एट्लेटिको मड्रिडसँगको अंकदुरी २ मा छोट्याएको छ । रियलको ३६ खेलबाट ७८ अंक पुगेको छ भने शीर्षस्थानको एट्लेटिकोको समान खेलबाट ८० अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । पराजित ग्रानाडा ४५ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय