scheduleबुधवार आषाढ़ २ गते, २०७८

यस्तो छ कोरोना नियन्त्रण गर्न सफल मानिएका १० देशको कथा

काठमाडौं, ३१ वैशाख । एकातिर कोभिड–१९ ले अमेरिका, भारत, ब्राजिल, मेक्सिको, इटाली, बेलायत, टर्की, फ्रान्स, रुस, स्पेनजस्ता देशहरू निक्कै आक्रान्त छन् । अर्कोतिर केही देशहरू कोरोना महाव्याधीको निक्कै राम्रो नियन्त्रण तथा व्यवस्थापन गरी मानवीय क्षति निक्कै कम गर्न र नागरिकको रक्षा गर्न सफल भएका छन् ।

कोभिड–१९ ले मानवीय क्षति धेरै भएका देशहरू अधिकांश धेरै जनसंख्या भएका, ठूला वा शक्तिशाली देशहरू धेरै छन् । तर, चीन र अष्ट्रेलियाजस्ता यही वर्गमा पर्ने देशहरूले कोभिड–१९ को राम्रो नियन्त्रण गरेका छन् । कोभिड–१९ नियन्त्रणमा देशको क्षेत्रफल, जनसंख्या, राज्यसंचरना र अर्थतन्त्रको आकारभन्दा शासकीय संवेदनशिलता, सही रणनीति, प्रभावकारी क्रियाशिलता र स्वास्थ्य सेवा नीति तथा संरचना मुख्य जिम्मेवार रहेको विश्लेषकहरूको ठहर छ ।

यहाँ ती १० देशहरूको चर्चा गरिएको छ, जो अहिलेसम्म कोभिड–१९ नियन्त्रण गर्न तुलनात्मक रुपमा सफल छन् ।

न्युजिल्यान्ड
कोभिड–१९ ग्लोबल रेस्पोन्स इन्डेक्सका अनुसार न्युजिल्यान्ड महाव्याधी नियन्त्रण गर्न सर्वाधिक सफल देश हो । यो देशमा अहिलेसम्म २६४४ मात्र संक्रमण भेटिएका छन् भने २६ जनाको मात्र मृत्यु भएको छ ।
सन् २०२० को जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणाको ३ दिनपछि नै न्युजिल्यान्डमा निर्धारित स्वास्थ्य मापदण्ड लागू गरिएको थियो । सोही वर्षको मार्च २६ मा त्यहाँ लकडाउन गरिएको थियो । पहिलो कोभिड–१९ केस पाइएको १०३ दिनपछि सन् २०२० जुन ८ केही ‘कोरोना मुक्त देश’ घोषणा गरियो तर त्यसपछि केही छिटफुट केस देखिने गरेका छन् ।

न्युजिल्यान्डमा बाँकी विश्व महाव्याधी आक्रान्त भएको भएको अवधिमा नै आमनिर्वाचन भएको थियो । लेबर पार्टीकी नेतृ तथा प्रधानमन्त्री ज्यासिन्डा अर्डन भारी बहुमतका साथ पुनः निर्वाचित भएकी थिइन् । अर्डन शासकीय संवेदनशिलता, व्यवस्थापन क्षमता र कोभिड–१९ नियन्त्रण रणनीतिकारका रुपमा विश्वभरि प्रसंशित छिन् ।

आइसल्यान्ड
आइसल्यान्ड कोभिड–१९ नियन्त्रण गर्न अर्को सफल देश हो । अहिलेसम्म ६५२९ संक्रमण र २९ मृत्यु भएको छ । आइसल्यान्डमा कोभिड–१९ को पहिलो केस सन् २०२० फेब्रअरी २८ मा पाइएको थियो । लगत्तै आइसल्यान्डले विदेशबाट आएका व्यक्तिको परीक्षण र क्वारेन्टिन प्रारम्भ गरेको थियो । पहिलो केस पाइएको ६ हप्ताभित्र ५ लाख बढी अर्थात् कुल जनसंख्याको करिब १३ प्रतिशत परीक्षण गरेको थियो । आइसल्यान्ड सर्वाधिक छिटो र धेरै परीक्षण गर्ने देश मानिन्छ । आइसल्यान्डको अनुभवमा शासकीय संवेदनशिलता र व्यापक तयारी नै कोभिड–१९ नियन्त्रणको मुख्य पक्ष हो ।

आइसल्यान्ड नोर्डिक समूहको मुलुक हो । आइसल्यान्डमा पनि न्युजिल्यान्डमा जस्तै महिला प्रधानमन्त्री छन् । लेफ्ट–ग्रिन मुभमेन्ट पार्टीकी ४५ वर्षिया क्याटरिन ज्याकोबडाटिन प्रधानमन्त्री छिन् ।

डेनमार्क
डेनमार्क अहिलेसम्म कोभिड–१९ नियन्त्रणमा तुलनात्मक रुपमा सफल देश मानिंदै आएको छ । यद्यपि पछिल्लो चरणमा संक्रमण दर यहाँ पनि बढ्न थालेको छ । डेनमार्कमा करिब २ लाख ६५ हजार संक्रमित पुगेका छन् भने करिब २५ सयको मृत्यु भएको छ । अन्य युरोपेली देशहरूको तुलनामा यो क्षति निक्कै कम हो ।

डेनमार्कले सन् २०२० मार्च १२ देखि एक महिना लामो लकडाउन गरेको थियो । जनसंख्या अनुपातमा सर्वाधिक टेष्ट गर्ने मुलुकमा डेनमार्क ५औं स्थानमा छ । डेनमार्क स्वास्थ्य सेवा सम्पूर्णतः निशुल्क भएको देश हो । डेनमार्कमा पनि सोसल डेमोक्र्याटिक पार्टी कि मेटे फ्रेडिकसन महिला प्रधानमन्त्री छन् ।

ताइवान
कोभिड–१९ उत्पति भएको देश चीनको छेवैमा भएर पनि ताइवानले महाव्याधी नियन्त्रणमा उल्लेखनीय सफलता पाएको छ । यहाँ अहिलेसम्म १२२६ संक्रमित पाइएका छन् भने १२ जनाको मात्र मृत्यु भएको छ । संक्रमितहरूको सम्पूर्ण उपचार र रेखदेख सरकार आफैंले गर्ने गरेको छ ।

ताइवानमा पहिलो केस सन् २०२० को जनवरी २१ मा देखिएको थियो । ती बिमारी चीनको बुहानबाट गरिएकी ५० वर्षिया महिला थिइन् । ताइवानले लामो लकडाउनभन्दा व्यापक परीक्षण र क्वारेन्टिन विधि अपनाएको थियो । मास्क, पीपीइ र सेनिटाइजरको व्यापक प्रयोग गर्ने तर सार्वजिनक बन्द नगर्ने मोडेलमा ताइवान सर्वाधिक सफल मानिन्छ ।

ताइवानले पनि होटलहरूलाई क्वारिन्टिनमा रुपान्तरण गरेको थियो । १४ दिने क्वारिन्टिन होटल बिल सरकारले आफैं तिरेका थियो । कोभिड–१९ चर्को महामारी अवधिमा पनि ताइवानको अर्थतन्त्रमा खासै गिरावट आएन । वैदेशिक यात्रा र सीमा नियन्त्रणमा भने ताइवानले व्यापक ध्यान दिएको थियो ।
संयोगको कुरा ताइवानको राष्ट्रिय नेतृत्व पनि महिलाको हातमा छ । त्यहाँ त्साई याङ वेन कार्यकारी अधिकारसहितको राष्ट्रपति छन् ।

भुटान

 

दक्षिण एसियामा भुटान कोभिड–१९ नियन्त्रणमा सर्वाधिक सफल मुलक मानिन्छ । भुटानमा अहिलेसम्म १२३७ मात्र संक्रमित भेटिएका छन् भने १ जनाको मात्र मृत्यु भएको छ । भुटानले सबै जनतालाई पहिलो चरणको खोप पनि दिइसकेको बताइन्छ ।

भुटानी सफलताको राज सीमा निगरानी र क्वारिन्टिन हो । देशभित्रको आन्तरिक परिवहन र आर्थिक क्रियाकलापलाई भने त्यहाँ धेरै नियन्त्रण नै गर्नु परेन । भुटानले गाउँशहरदेखि टाढा रहेका सुविधासम्पन्न रिसोर्टहरूलाई क्वारेन्टिनमा परिणत गरेको थियो ।

भुटानमा पहिलो केस सन् २०२० मार्च ६ मा देखिएको थियो । ती व्यक्ति भारत हुँदै भुटान गएका एक अमेरिकी पर्यटक थिए । सरकारले ७ दिनभित्र उनीसँग सम्पर्क आएका ९० जनाको परीक्षण गरेका थियो, त्यसमध्ये एक जना उनी चडेको ट्याक्सी ड्राइभरमा मात्र कोराना भेटिएको थियो । मार्च २२ मा सबै सीमानाका बन्द गरिएका थिए । पश्चिम बंगालसंग सीमा जोडिएका गाउँहरूबाट करिब ५००० नागरिकलाई देशका भित्री ठाउँहरूमा सारिएको थियो ।

भुटानका प्रधानमन्त्री लोटे छिरिङ आफै चिकित्सक हुन् ।

भियतनाम
एकदलीय कम्युनिष्ट व्यवस्था, ठूलो र धेरै जनसंख्या भएका देशमध्ये भियतनाम कोभिड–१९ नियन्त्रण गर्न सर्वाधिक सफल देशमध्ये पर्दछ । भियतनाममा अहिलेसम्म ३७ सय मात्र संक्रमित भेटिएका छन् भने ३५ जनाको मात्र मृत्यु भएको छ ।

भियतनाम कोराना भाइरस छिटै पुगेको मुलुकमध्ये हो । यहाँ विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गर्नुअघि नै सन् २०२० को जनवरी २३ मा पहिलो केस भेटिएको थियो । मेमा हुई दोरुङ प्रदेश संक्रमणले आक्रान्त भएको थियो । त्यहाँ केही हप्ताभित्रै ७७० संक्रमित भेटिएका थिए तर कसैको पनि मृत्यु भएन ।

भियतनामले राष्ट्रिय लकडाउनको साटो संक्रमित र सम्भाव्य प्रदेश र शहर लकडाउँन गर्ने नीति लियो भने अन्तर्राष्ट्रिय सीमा रोक लगायो । विदेशबाट आएकालाई १४ दिने क्वारिन्टिन नीति अनिवार्य गरियो । कोभिड–१९ का बाबजुद भियतनाम आर्थिक वृद्धि तीव्र भएको मुलुकमा पर्दछ । सन् २०२० मा भियतनामको आर्थिक वृद्धिदर ६.६ प्रतिशत भयो ।

अष्ट्रेलिया
अष्ट्रेलिया कोभिड–१९ नियन्त्रण गर्न सफल मुलुकमध्ये एक मानिन्छ । यहाँ अहिलेसम्म करिब ३० हजार संक्रमित पाइएका छन् भने ९१० जनाको मात्र मृत्यु भएको छ । प्रारम्भमा अष्ट्रेलिया उच्च संक्रमण भएका देशमध्ये पर्दथ्यो भने विस्तारै नियन्त्रणमा लियो । करिब ६ महिना यता अष्ट्रेलियाको संक्रमण दर निक्कै न्युन छ ।

अष्ट्रेलियामा पहिलो केस सन् २०२० जनवरी २५ मा भेटिएको थियो । उनी चीनको बुहानबाट फर्किएका व्यक्ति थिए । तुरुन्तै सिमानाका बन्द र स्वास्थ्य मापदण्ड लागू गरिएको थियो । मार्चको अन्त्यतिर संक्रमण दर प्रतिदिन ५०० सम्म पुगेको थियो । भिक्टोरिया अष्ट्रेलियाको सर्वाधिक प्रभावित प्रदेश मानिन्छ । कोभिड–१९ राष्ट्रिय तथ्यांकको करिब ७० प्रतिशत यही प्रदेशबाट मात्र छ ।

सिंगापुर

संक्रमण पर्याप्त भएर पनि मृत्युदर असाध्यै कम गर्ने मुलुकमा सिंगापुरको स्थान उच्च छ । यसको कारण राज्यले क्वारेन्टिन बस्ने र बिमारीको राम्रो हेरचाह गर्नु हो । सिंगापुरमा अहिलेसम्म करिब ६१ हज्जार संक्रमित भएका छन् तर मृत्यु भने ३१ जनाको मात्र भएको छ ।

सिंगापुरमा पहिलो केस सन् २०२० जनवरी २३ मा भेटिएको थियो । अप्रिल ७ पछि त्यहाँ करिब १ महिना लकडाउन गरियो । सिंगापुरको मृत्यु दर ०.०५ प्रतिशत छ जुन संसारकै सबैभन्दा कम हो । सिंगापुरमा पनि गाउँशहरबाट निश्चित दुरीमा रहेका ठूला होटल र रिसोर्टलाई क्वारेन्टिनमा परिणत गरिएको छ । क्वारिन्टिन खर्चको ६० प्रतिशत सरकारले ४० प्रतिशत बिमारीका परिवारले आफैं व्यहोर्नु पर्दछ । बिमारीको परिवारले तत्काल क्वारिन्टिन बिल तिर्न नसे त्यो सरकारले नै तिरी दिन्छ र उठ्न बाँकी राजस्वको रुपमा अभिलेखित गर्दछ ।

दक्षिण कोरिया
दक्षिण कोरिया कोभिड–१९ बाट खासै प्रभावित नभएको देशमा गणना हुँदै आएको थियो । तर, पछिल्लो चरणमा यहाँ संक्रमण अनपेक्षित ढंगले बढ्न थालेको छ, । महाव्याधीले विश्व अर्थतन्त्र धरापमा पर्दा पनि कोरियाको आर्थिक वृद्धिदर तीव्र रह्यो । अहिलेसम्म दक्षिण कोरियामा करिब १ लाख ३० हजार संक्रमति भेटिएका छन् भने करिब १८९१ को मृत्यु भएको छ ।

चीन

चीनका संसारकै सर्वाधिक जनसंख्या भएको देश हो । चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड छ । चीन कोभिड–१९ को उत्पति भएको देश पनि हो । चीनको बुहान शहरमा पहिलोपटक सन् २०१९ को डिसेम्बरमा पहिलो केस भेटिएको थियो ।

चीनको प्रारम्भिक रेस्पोन्स राम्रो थिएन । त्यो अवधिमा चीनको विश्वव्यापी रुपमा व्यापक आलोचना भयो । तर, चिनियाँ नेतृत्वले तुरुन्तै आफ्ना कमजोरीहरू सच्यायो । १५ दिनभित्र १ हजार बढी वेड क्षमताको कोभिड–१९ अस्पताल बनाएर विश्वलाई नै आश्चर्यचकित बनाइ दियो ।

विश्वको सर्वाधिक जनसंख्या भएको देश भएर पनि चीन अहिले संक्रमितको सूचीमा ९६ औं स्थानमा छ । यहाँ अहिलेसम्म ९०८०८ संक्रमति भेटिएका छन् भने ४६३६ को मृत्यु भएको छ । यो राष्ट्रिय तथ्यांकमा करिब ९० प्रतिशत प्रारम्भिक चरणको बुहान क्षति रहेको छ ।

प्रदेश लकडाउँन गरी अरु प्रदेशमा संक्रमण फैलिन नदिने चीन मोडेल कै सीको धेरै देशहरूले गरे पनि चीनजस्तो सफल हुन सकेनन । ठूलो र सक्रिय राज्य संचरनालाई चिनियाँ सफलताको राज मानिन्छ । एकदलीय कम्युनिष्ट शासन रहेको चीनमा कोभिड–१९ नियन्त्रणपछि राष्ट्रपति सि जिन पिङ झनै लोकप्रिय भएका छन् ।

चीनमा १४ क्वारिन्टनको नियम अहिले पनि कायमै छ । प्रत्येक स्थानीय शहरमा केही सुविधासम्पन्न होटललाई क्वारिन्टिनमा परिणत गरिएको छ । विदेशीले क्वारिन्टन खर्च आफैं तिर्न पर्दछ भने विदेशबाट पर्किएका चिनियाँले ४० प्रतिशत खर्च तिर्नु पर्दछ ।

यी १० दशको अनुभवलाई हेर्दा शासकीय संवेलदनशिलता, सही रणनीति, कार्यान्यवन तथा व्यवस्थापकीय क्षमता, स्वास्थ्य सेवा प्रणालीमा सुधार र आर्थिक लगानी गर्ने तत्परता भए कोभिड–१९ नियन्त्रण असम्भव कुरा भने हैन । सम्पूर्णतः नियन्त्रण गर्न सम्भव नभए पनि मानवीय क्षतिलाई निक्कै कम गर्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय