scheduleमगलवार आषाढ़ १ गते, २०७८

हिमाली गाउँगाउँमा फैलियो कोरोना, परीक्षण गर्न चार टोली परिचालन

दाने बोहरा, सिमकोट, ३१ वैशाख । जिल्ला सदरमुकाम सिमकोटमा सीमित रहेको कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा गाउँमा समेत देखिएको छ । सङ्क्रमण गाउँमा वृद्धि भएसँगै स्थानीयबासी चिन्तित हुन थालेका छन् ।

बुधबार सर्केगाड गाउँपालिकामा गरिएको कोरोनाको एन्टिजिन परीक्षणका क्रममा दुई जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना गाउँमा प्रवेश गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सो परीक्षणका क्रममा गाउँपालिका स्वास्थ्य संयोजक सहित अन्य दुईमा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी बाजुरासँग सिमाना जोडिएको ताँजकोट गाउँपालिकामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाले बुधबार र बिहीबार गरेको परीक्षणका क्रममा १३ पुरुष र ५ महिलामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । बुधबारदेखि स्वास्थ्यकर्मीका दुई टोली बनाएर परीक्षण गरिएको थियो । उनले भने, ‘गाउँमा गाउँमा खटिएका टोलीले परीक्षण गर्ने क्रम जारी नै रहेकाले बिहीबार बेलुकासम्म्म १८ पुगेको हो ।’

सङ्क्रमित हुनेमा सबैभन्दा बढी वडा चारका दश जना छन् । लामो समयदेखि घरमै बिरामी परेकाहरु मध्येका अधिकांशमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक स्यांकुले जानकारी दिए । मैला स्वास्थ्य चौकीबाट गएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा चार मध्ये तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । ताँजकोटका एक जनाको रिर्पोट भने नेगेटिभ आएको बताइएको छ ।

परीक्षण गर्न चार टोली परिचालन

हरेक वडामा बिरामीको सङ्ख्या देखिएपछि आफैले एन्टिजिन कीट खरीद गरेर बुधबारबाट परिक्षण शुरुआत गरेको ताँजाकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष बागदल मल्लले कारोना परीक्षणमा तीब्रता दिइएको जानकारी दिए । ‘सङ्क्रमणको दर वृद्धि भएपछि परिक्षणको दायरामा ल्याउने योजनाका साथ स्वास्थ्यकर्मीका चारवटा समूह परिचलान गरेको हौं ‘ उनले भने, ‘परीक्षणबाट सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा केहीलाई मैला स्वास्थ्य चौकीमा र केहीलाई घरमै बेग्लै राख्ने काम गरेका छौं ।’

सङ्क्रमणको जोखिम रहेको ताँजाकोट–३ रामागाउँका स्थानीयबासीले एन्टिजिन परीक्षण गर्न मानेका छैनन् । सिमकोटमा समेत बिहीबार थप २ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल हुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७ र ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचाना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लाभर सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । ती मध्ये आठले कोरोना जितेर घर फर्किएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय