scheduleबुधवार आषाढ़ २ गते, २०७८

हिजो सिस्नुपानी, आज सुनपानी, भोलि के ?

अभि गाउँले

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि नेपाली राजनीतिले अर्कै मोड लियो । दुई वा दुइभन्दा बढी दलको वैकल्पिक सरकार गठनको प्रचुर सम्भावना असफल भयो । सधैं सत्ता समीकरणमा मात्र नेपाली राजनीतिको केन्द्र भागमा घुम्ने अवसर पाउने मधेशवादी दलले यो पाली ‘खुबै गरे, अग्रगमन र प्रतिगमन दुवै गरे ।’

जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र जसपाकै वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटारको प्राङ्गणमा छमछमी नाँचे । यसरी नाँचे कि न कम्मर मर्काए न पाखुरा सर्काए केवल मुर्कुट्टाझैं ठिङ्ङ उभिएर ‘अन्तरध्यान’ भए । सायद उनीहरू फेरि त्यही भूमिकामा प्रकट हुन ठ्याक्कै अहिलेकै भद्रगोल अवस्था कुर्न पर्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ताको दिवास्वप्न मात्रै देखे । सडकपेटीबाट सम्बन्ध सुरूवात् गरेका ‘हामी यहाँ छौँ’ अभियानका सहपाठी माधवकुमार नेपालप्रति प्रचण्डको विश्वास क्षणभरमै भस्म भयो । माधवकुमार नेपालले पार्टीमा क्रान्तिकारी विद्रोह गरेका थिएनन् । उनी त मानसम्मानका भोका थिए । प्रधानमन्त्री ओलीले प्रतिगमन गरेयता थुप्रै राजनीतिक उतारचढावहरू आए । तीमध्ये प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको नेकपा एमालेभित्रको अन्तरद्वन्द्वलाई धेरैले फरक ढंगले लिए अर्थात् नेपाली राजनीतिलाई बेग्लै प्रकारको गति प्रदान गर्न निर्णायक शक्ति पैदा हुने छन्क देखियो ।

आफ्नै पार्टीको सरकारलाई विश्वासको मत नदिएर प्रधानमन्त्रीलाई लज्जाको पगरी गुथाउन सफल भएका माकुने एकाएक ‘यु टर्न’ हुनु कुनै नौलो प्रस्तुति त हैन तर विषम परिस्थितिमा विषयान्तर हुनु निकै विडम्बनापूर्ण छ । हुन त सहमति भएपछि माकुनेहरूले भनेजस्तो पार्टीको विधान, विधि र प्रक्रियामा चल्ने नेतृत्व पाइहाल्ने कुनै आधार छैन । किनकी पार्टीलाई ओलीले यतिसम्म खरानी बनाएर छाडे कि अन्तमा झण्डै त्यही खरानी दलेर हिंड्नुपरेकोथियो । दुई चिरा लगभग भैसकेको एमाले भीरमा गएर अड्किएको छ । प्रधानमन्त्री ओलीले ‘सम्मानपूर्वक’ डोरीले कसेर तान्छन् कि ‘गुरूत्वाकर्षण’ बलले तानेर भिरतिरै गुल्टाउँछ, हेर्न बाँकी नै छ ।

अभि गाउँले

प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ता टिकाउनुछ, मृगौलाले काम गरुन्जेल सत्ताको मृगतृष्णा पूरा गर्नुछ । अहिलेको सत्तासमीकरणमा माकुनेको ‘गुट’ले ओलीको छातीमा जति नै बुट बजारे पनि ओलीलाई त्यसको प्रतिवाद गर्ने तागतै छैन । अहिलेको अवस्थामा ओलीलाई नेपाल-खनाल र महन्थ-महतोको यतिधेरै महत्व भयो कि यो महत्वहीन सामिप्यता सत्ताको अक्सिजन सावित भयो ।

ओलीको प्रतिगमनको टेकोको रूपमा आफूलाई प्रस्तुत गरिरहेका राजनीतिक शक्तिहरू सत्ताका ‘डष्टबिन’ मात्र हुन्, कालान्तरमा यो शक्ति प्रभावहीन बन्न पुग्छ । जो अरूका लागि प्रयोग हुन्छ उसले आफ्ना लागि कुनै शक्ति सन्चय गरेको हुँदैन । अहिलेका राजनीतिक गेम चेन्जरहरू भोलि राजनीतिको मैदानमा खाली खुट्टै जुध्नुपर्ने हुन्छ । त्यतिबेला उनीहरूको साथमा बल हुन्छ तर कोर्ट हुँदैन ।

यो महामारीमा सत्ताको फोहोरी राजनीति विल्कुलै असान्दर्भिक कुरा हो । कसैले सत्ता गुमाउनु र कसैले सत्ता पाउनु जनताका लागि ‘हुकुमको एक्का’ हैन जसले जीतको परिपक्व निर्णय लिन सकोस् । नेपाली जन यतिसम्म अभागी छन् कि उनीहरू गलतहरूका भकारीबाट एउटा गलतलाई डालोमा भर्न बाध्य छन् । हामीलाई न ओलीका, न देउवाका त न प्रचण्डका अनुहारको प्रतिविम्ब देख्नुछ । नागरिकको मुहारमा हासो ल्याउने र जनताका हरेक सुख-दु:खमा सरिक हुने सरकार नै अहिलेको आवश्यकता हो ।

डरैडरमा विश्वासको मत बटुल्न संसद अधिवेशन आह्वान गरेका प्रधानमन्त्री ओलीमा ‘आत्मविश्वास’ मात्र बलियो थियो तर ‘भरोसा’ कमजोर थियो । यौटा रोचक दृश्य के देखिन्छ भने ओलीले माधव कुमार नेपालहरूलाई पार्टीको मूलधारमा ल्याउन विश्वासको मत लिने निर्णय गरेका थिएनन्, उनको राजनीतिक दाउपेच अर्कै थियो । यो निश्चय थियो कि कथमकदाचि विश्वासको मत पाएको खण्डमा माधव-झलनाथको समूहलाई ‘सत्ताको सिस्नो पानीले’ झ्यामझ्याम हिर्काउने चालबाजीमा थिए । भलै सिस्नो पानीको सट्टा सुनपानी छर्काएर शुद्ध बनाउनतिर लागे र दशा टर्‍यो नत्र खेल अर्कै हुनेथियो । एमालेभित्र संकट मात्र टरेको हो संकटको मुल जड त बीसको उन्नाईस भाकै छैन ।

नेकपा एमाले फुटेर दुई चिरा होस् भन्ने दुराग्रह त हाम्रो पनि थिएन/हैन तर ओलीको प्रतिगमनकारी स्वेच्छाचारीताको अन्त्य होस् भन्नेचाहिँ व्यग्र चाहना हो । जुन पार्टीको धरातल कमजोर छ त्यहीनेर सुत्रपात गरेर चातुर्‍याइ गर्न सफल भएका प्रधानमन्त्री ओलीका आगामी दिनहरू त्यति सहज छैनन् । किनकि उनले जसको सहारामा आफ्नो सत्तास्वार्थ पूरा गरेका छन्, तिनीहरू ‘छिमेकीका स्वादिष्ट आहरा’ हुन् । दुई तिहाइको वजनदार गाडीले थिचेर ‘मरेको शरीर’ बहत्तर घण्टामा पुनः जीवित हुनु हेर्दा अनौठो तर भोग्दा सामान्य कुरा हो, जुन विगतको पुनरावृत्ति हो ।

रिसमा, आवेगमा, बेहोसमा आफैंले आफैंलाई मार्नुलाई ‘आत्महत्या’ भनिन्छ जसलाई कायरता र नामर्दको उपमा दिइन्छ । नेकपा एमालेमा पनि यही कुरा लागू भयो । एमालेले एमाले हराउनु पनि के हराउनु बरू जसले जितायो उसैले हराउनु पो हराइ हो, पतन हुनु हो । नामोनिशाना मेटिएको नेकपाको ठूलो हिस्सा भनेको वर्तमान नेकपा एमाले हो । जनसमर्थनका हिसाबले एमाले नै देशको प्रमुख राजनीतिक शक्ति हो । ओलीलाई विश्वासको मत लिनु कुनै परीक्षा थिएन यो त संसदीय जोड-घटाउको नाटक मात्र थियो । ओली र ओलीको पार्टीको अग्निपरीक्षा भनेको त आगामी चुनाव हो ।

देशको प्रधानमन्त्री पदच्यूत भएर फेरि नियुक्त भएको समाचारले कुनै तरंग ल्याएको छैन । आइसियुमा उपचाररत बिरामीले बेलैमा अक्सिजन पाएर बाचेको खबरले मात्र हर्षित बनाउछ । कोभिड व्यवस्थापन तथा नियन्त्रण समिति सीसीएमसीले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लागू गरेर हस्तक्षेप गरेको खबर आइरहेको छ । राजनीतिक पहुँच र आदेशको भरमा नेताले आफ्ना क्षेत्रमा अक्सिजन भणडारण गर्ने तर बिरामीले बेलैमा अक्सिजन नपाएर मर्नुपर्ने कहालीलाग्दो अवस्था छ ।

सायद नेपाली राजनीतिमा यतिबेला दल त्याग र अनुशासनहीनताको पर्व नै चलेको छ । सांसदहरूको भाउ दशैंमा भेडा र च्याङ्ग्राको भाउ बढे जसरी आकाशिएको छ । यसैको दुष्प्रभाव बालुवाटार ‘भेडाबाख्रा’ले भरिभराउ छ । राजनीतिको विकृत पक्ष भनेको यही त हो । नेपालको संसदीय अभ्यासमा कर्णाली प्रदेशबाट सुरू भएको ‘फ्लोर क्रस’ले विभिन्न स्वरूपमा निरन्तरता पाउन थालेको छ । गण्डकीमा जनमोर्चाका सांसदले पार्टीको ह्विप ‘स्विप’ गर्नु, मुख्यमन्त्रीमा पुनः गुरूङको नियुक्ति, लुम्बिनी प्रदेशमा बिहान राजीनामा बेलुका नाटकीय पुनर्नियुक्ति र यसको पुनरावृत्ति संघमा पनि देखियो । यसलाई धेरैले लोकतान्त्रिक प्रणालीभित्रको माधुर्यताको रूपमा अर्थ्याइरहदा योभित्रको छिपाउन खोजिएको तर छर्लंग देखिएको भनिएको सांसदको किनबेच नै हो । बदनियत बोकेका सांसदहरूले पैसा कमाउने भनेकै राजनीति भांडिएको बेलामा हो । अरू बेला त गुमनाम बस्छन्, मागेर, बाँडेर, ठगेर, नीति बनाएर कमाइ गर्छन् ।

ओलीलाई पुनः देशको बयालिसौं प्रधानमन्त्रीमा पाउनु जनताको चाहना नभएर बहाना मात्र हो । ओलीलाई ठूलै युद्ध जिते जस्तो लाग्दो हो । यो दम्भी शासकको अहंकार हो तर जो हतियारबिनै लड्यो उसले न जित्यो न हार्‍यो, मझधारमा अड्किएर बस्यो मात्रै । अबको राजनीतिक अड्कलबाजी जेसुकै भए पनि पहिलो प्राथमिकता भनेको कोरोना संक्रमितहरूको समयमै उपचार गराउनु हो । यो महामारीलाई रोक्न दलहरूले छिट्टै नै गुरूयोजना ल्याउनु जरुरी छ । हेरौं आउने दिन प्रधानमन्त्रीले विवेक प्रयोग गर्छन् या पुरानै बानीव्यहोरा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय