scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: न्युकासलको मैदानमा सिटीको रोमाञ्‍चक जीत, टोरेसको ह्याट्रिक

काठमाडौं, १ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले रोमाञ्चक जीत हासिल गरेको छ । सिटीले न्युकासललाई उसैको मैदानमा ४-३ गोलअन्तरले हराएको हो ।

सिटीको जीतमा फेरान टोरेसले ह्याट्रिक गरेका थिए भने जोआवो क्यान्सेलोले एक गोल गरे । न्युकासलका एमिल क्राफ्थ, जोलिन्टन र जो विल्लकले १-१ गोल गरेका थिए ।

खेलको २५औं मिनेटमा क्राफ्थले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा क्यान्सेलोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेटमै टोरेसले गोल गर्दै सिटीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा जोलिन्टनले पेनाल्टीमार्फत गोल गर्दै खेल पुनः बराबरीमा ल्याए ।

दोस्रो हाफको ६२औं मिनेटमा विल्लकले गोल गर्दै न्युकासललाई खेलमा अगाडि ल्याए । त्यसपछि दुई मिनेटको अन्तरमा दुई गोल गर्दै टोरेसले ह्‍याट्रिक पूरा गर्दै सिटीलाई खेलमा अगाडि राखे । ६४औं र ६६औं मिनेटमा टोरेसले गोल गर्दै ह्‍याट्रिक पूरा गरे भने सिटी ४-३ ले अघि बढ्यो ।

त्यसपछि गोल निस्कन सकेन र यस रोमाञ्‍चक खेलमा सिटीले ३ अंक बटुल्न सफल भयो । सिटीले प्रिमियर लिगको उपाधि जित्‍ने पक्का भइसकेको छ । उसको ३६ खेलबाट ८३ अंक पुगेको छ । पराजित न्युकासल ३९ अंकसहित १६औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय