scheduleबुधवार आषाढ़ २ गते, २०७८

‘सत्तालिप्सामा अल्झिएर श्रमजीवी मजदुरहरुलाई राहत प्याकेज दिन नभुल’

काठमाडौं, १ जेठ । अखिल नेपाल ट्रेड युनियन महासंघले अघोषित स्वास्थ्य संकटकालको सामना गरिरहेका श्रमजीवी मजदुरहरूलाई राहत प्याकेजका साथै अत्यावश्यक स्वास्थ्य सुविधाको प्रबन्ध गर्न आग्रह गरेको छ ।

महासंघले शनिबार एक विज्ञप्ति जारी गरेर वर्तमान सरकार सत्तालिप्सामा केन्द्रीत रहेको भन्दै अक्सिजनको अभावपूर्ति गर्न र अस्पतालका शैय्याहरुमा प्रताडीत बिरामीहरुको स्वास्थ्यमाथि खेलवाड नगर्न भनेको हो ।

‘सत्तालिप्सामा केन्द्रीत वर्तमान सरकारलाई जनस्वस्थ्यमा खेलवाड नगर्न र अस्पतालहरुमा स्वास्थ्य सुविधाको तत्काल आवश्यक प्रबन्ध गर्न, गराउन माग गर्दछौं’ महासंघका अध्यक्ष जगत सिम्खडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी मजदुरहरुलाई रोगसँगै भोकमरीबाट बचाउन सरकारलाई तत्काल राहत प्याकेज घोषणा गर्न र संक्रामक रोग कोभिड–१९ नियन्त्रणका लागि प्राथमिकता दिई कार्य सम्पादन गर्न आग्रह गर्दछौं ।’

यस्तै विज्ञप्तिमा रोकथाम तथा नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर कार्य सम्पादन गरिरहेकाहरूका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाको ग्यारेण्टीसहित सतप्रतिशत अतिरिक्त जोखिम भत्ता उपलब्ध गराउन, संक्रमितहरुलाई अक्सिजनको सहज उपलब्धता र निःशुल्क उपचारको व्यवस्था गर्न, कोभिड भ्याक्सिन तत्काल ल्याएर सम्पूर्ण श्रमिकहरुलाई प्राथमिकताका आधारमा खोप लगाउने कार्य अघि बढाउन माग गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय