scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

इजरायली बमबारीमा परी १३९ प्यालेस्टिनीको मृत्यु, प्रत्यक्षदर्शी भन्छन्- ‘यो नरसंहार हो’

एजेन्सी, १ जेष्ठ । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण र बमबारी जारी राखेको छ । सोमबारदेखि सुरु भएको इजरायली हवाइ आक्रमणमा परी शनिबारसम्म १३९ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

गाजाका मानवबस्तीमा इजरायली लडाकु विमानले बम खलाल्दा र गोलाबारी गर्दा हालसम्म १३९ जनाको मृत्यु भएको छ । मृतकमध्ये ४० जना बालबालिका रहेको अल जजिराले जनाएको छ । त्यस्तै ९५० जना घाइते भएका छन् ।

समाचार अनुसार शनिबार सबेरै गाजास्थित एक शरणार्थी शिविरमा हवाइ हमला हुँदा आठ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । शाति शरणार्थी शिविरमा भएको हमलामा १५ जना घाइते भएका छन् । भग्नावशेषमा पुरिएका मानिसको उद्दार कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

गाजा पट्टीका चिकित्सक नबिल अबु अल रीशले इजरायली हवाइ हमलामा शिविरको छेउमा रहेको तीन तले घरलाई निशाना बनाइएको बताए । इजरायलले नरसंहार गरिरहेको पनि रीशको भनाइ छ ।

‘हामीले थप शव निकाल्ने प्रयास गरिरहेका छौं र शव कसको हो भनेर बुझ्ने प्रयास गरिरहेका छौं’, रीशले भने, ‘यो नरसंहार नै हो जसलाई हामीले शब्दमा बयान गर्न सक्दैनौं ।’

‘यी कसरी बाँच्न सफल भए भनेर म अचम्म परेको छु’, इजरायली हवाइ हमलामा परिवारका सबै सदस्य गुमाएका तर बाँच्न सफल एक शिशुलाई देखाउँदै रीशले भने, ‘उनी आफ्नो परिवारमाथि भएको घटना देख्न बाँचेका हुन सक्छन् ।’

इजरायल र प्यालेस्टाइनबीच हिंसा चर्किँदै गएपछि गाजा क्षेत्रमा मानवीय संकट पैदा भएको छ । इजरायली गोलाबारीबाट सुरक्षित रहन हजारौं प्यालेस्टिनीहरु संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा आश्रय लिन पुगेका छन् । इजरायली आक्रमण सुरु भएयता झण्डै १० हजार गाजाबासीले आफ्नो घर छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय