scheduleशुक्रवार आश्विन १ गते, २०७८

खेतका गह्रामा सपना फुलाउँदै युवाहरू

विजय खतिवडा/धादिङ, १ जेठ । जीवनको लागि अत्यावश्यक तत्वहरुमध्ये एउटा प्रमुख तत्व हो ‘खाना’, र खाना तयार पार्छ हरिया वनस्पतिहरूले। तिनै हरिया वनस्पतिहरूबाट तयार हुने खनालाई विविध माध्यमबाट उत्पादन गर्ने प्रक्रिया नै कृषि हो। यसकारण कृषि पेशा महत्वपूर्ण त छँदै छ, पेशाका तहहरूमध्येको आधार पेशा पनि हो ।

आधार पेशा यो अर्थमा कि अन्य जुनसुकै पेशाबाट जतिसुकै आम्दानी गरेपनि सबैको बिहानबेलुकाको आहार अन्न नै हुन्छ, सागसब्जी र फलफूल नै हुन्छ। मासु पनि हुन्छ नि भन्नुहुन्छ भने नि केही छैन, सबै मासु उत्पादन गर्ने जीवहरू पनि घासपात खाएरै बाँच्छन् । त्यसैले कृषिलाई संसारभरी नै सम्मानित र आधार पेशा मानिन्छ।

तर हाम्रो देशको हकमा यो केही उल्टोजस्तो देखिन्छ । कृषि पेषामा संलग्न मानिसहरू आर्थिक हिसाबले कमजोर, सम्मानका हिसाबले हेय वर्गका र राज्यमा पहुँचका हिसाबले अत्यन्तै टाढा छन् । यस्तो परिस्थितिका बाबजुद पनि हाल कृषिप्रति युवा वर्गहरूको आकर्षक बढ्दो छ ।

पछिल्लो समय युवाहरु खेत-बारीका गराहरूमा कृषि कर्ममार्फत् सपना फुलाउन लालायित देखिन्छन् । यसको ज्वलन्त उदाहरण धादिङ जिल्लाको गल्छी-३, छोटेटारमा देख्न सकिन्छ जहाँ विविध क्षेत्रका दशजना युवाहरूले व्यवसायिक कृषि फार्म सञ्चालन गरी विविध कृषिजन्य उपजहरू उत्पादन गरिरहेका छन् ।

यसका सञ्चालकहरू कोहि दुग्ध व्यवसायी छन् त कोहि शिक्षा क्षेत्रका, कोहि आईटी व्यवसायी त कोहि पर्यटन व्यवसायी अनि कोहि चाहिँ समाजसेवी । जो जुन क्षेत्रको भए पनि साझा रुचि कृषि क्षेत्र । यसरी देशका विविध क्षेत्रहरूबाट व्यवसायिक युवाहरूलाई जोड्ने सुत्रधार हुन् स्थानीय युवा रामजी खनाल, जो आफैंमा जिल्लाकै सफल दुग्ध व्यवसायी पनि हुन् ।

उनले करिब दुई वर्ष लगाएर कृषिमा रुचि राख्ने केही स्थानीय र अन्य जिल्लाबाहिरका व्यवसायीक युवाहरूलाई एउटै मन्चमा जोडेका हुन् । उनीहरूले गल्छी-३, छोटेटारमा सुरु गरेको संस्थाको नाम हो- नेचर एग्रो फार्म प्रा. लि. ।

उक्त फार्मले करिब ६० रोपनी जग्गा भाडामा लिई कृषि उत्पादन एवं पशुपालन सम्बन्धि कार्य गरिरहेको छ। उक्त फार्ममा अहिले करिब २० रोपनी जग्गामा गोलभेडा खेती गरिएको छ भने १०-१० रोपनी जग्गामा केरा, लौका र पिँडालु खेती गरिएको छ ।

त्यस्तैगरी पशुपालनतर्फ सुरुवाती चरणमा १५ ओटा बोयर बाख्रा र ५ ओटा जर्सी गाई पनि पालिएको छ । सम्पुर्ण बिरुवाहरूको लागि सिधा रेखामा पाईपलाइनमार्फत् थोपा सिचाइको व्यवस्था गरिएको छ भने अनावश्यक झार नआओस् भनेर जमिनलाई प्लास्टिकले मल्चिङ गरिएको छ । हामी यस फार्ममा पुग्दा फार्ममा कार्यरत तीनैजना पुर्णकालीन कर्मचारीहरू गोलभेडा टिप्न व्यस्त देखिन्थे। खेतभरी लटरम्म फलेका गोलभेडाका दानाहरू साँच्चै मनमोहक देखिन्छन् । संस्थाका प्रबन्ध निर्देशक रामजी खनालका अनुसार यो सिजनमा करिब एक लाख बीस हजार केजी गोलभेडा उत्पादन हुँदैछ, तर कोभिड महामारीका कारण बजारमा छाएको बन्दाबन्दीको प्रभावले त्यसको बिक्री व्यवस्थापनमा भने चुनौती देखिएको छ ।

‘पहिलो गासमै ढुङ्गो भनेझैं भएपनी हाम्रो जोशजागर कम भएको छैन,’ उद्यमी खनाल भन्छन्, ‘उत्पादन गर्ने काम हाम्रो हो जुन हामीले गरेका छौँ तर बिक्री बजार व्यवस्थापन हाम्रो हातमा छैन। राम्रो उत्पादनप्रति हामी खुसी छौँ ।’

पूर्ण प्रविधिमा सन्चालित खेती हुनाले उक्त प्रविधि हेर्नको लागि वरपरका अन्य किसानहरू पनि आउने गरेका छन् । आफ्नै गाउँमा व्यवसायीक कृषि फार्म सुरु भएपछि स्थानीयबासीहरू पनि खुसी छन् ।

खुसी हुँदै स्थानीयबासी गणेश श्रेष्ठ भन्छन्, ‘यो हाम्रो ठाउँको विकास हो, यसबाट हामीले पनि धेरै कृषि प्रबिधिहरू सिक्न सक्छौं ।’ साथै उक्त फार्मका कारण धेरैजनाले रोजगारी प्राप्त गरी आर्थिक अवस्था सुध्रिएको पनि स्थानीयबासीहरू बताउँछन् ।

फार्म सञ्चालनको उद्देश्यबारे जिज्ञासा राख्दा संस्थाका अध्यक्ष जेसस न्याच्छो भन्छन्, ‘कृषि र पशुपालनबाट सुरु भए पनि हामी छिटै यसलाई पर्यटनसँग जोड्दैछौं, कृषिलाई पर्यटनसँग जोड्नु नै हाम्रो मुख्य उद्देश्य हो।’

जब यस्तै युवाहरूको समूह मिली ठूलो मात्रामा कृषिजन्य उपजहरू उत्पादन गर्न थाल्दछन् तब देशको कृषि व्यवस्थामा बिस्तारै व्यवसायीकरण हुँदै जान्छ । अनि सरकारलाई पनि कृषि क्षेत्रलाई प्राथमिकतामा पार्न दबाब सिर्जना हुँदै जान्छ ।

कृषि क्षेत्रलाई कामचलाउ क्षेत्र सोच्ने र यसमा हुने झारा टार्ने किसिमको सहुलियत व्यवस्थालाई परिवर्तन गर्दै साच्चै नै देशको आर्थिक बिकासको एउटा मुख्य कडी कृषि क्षेत्रलाई बनाउन सकियो भने यस क्षेत्रमा लाग्ने व्यवसायीहरू पनि सफल हुन्छन् भने देशले पनि राम्रो कृषि आयकर संकलन गर्न सक्नेछ । यसो भएमा देश विकासको प्रमुख क्षेत्र कृषि बन्नेछ र जीविकाको लागि युवाहरूको बिदेशिनुपर्ने बाध्यता पनि हट्दै जानेछ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय