scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

इजरायली सेनाको निशानामा गाजाका सञ्चार माध्यम, अल जजिराको कार्यालय ध्वस्त

एजेन्सी, १ जेष्ठ । इजरायली सेनाले विगत पाँच दिनदेखि गाजाका विभिन्न स्थानमा हवाइ हमला तथा गोलाबारी जारी राखेको छ । पछिल्लो हवाइ हमलामा विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमका कार्यालय रहेको एक अग्लो भवन ध्वस्त भएको छ ।

इजरायली हवाइ हमलामा ध्वस्त भएको भवनमा द एसोशिएटेड प्रेस, अल जजिरा लगायतका समाचार माध्यमका कार्यालय थिए । १२ तले उक्त भवनमा हवाइ हमला हुनुपूर्व इजरायली सेनाले भवनबाट मानिसहरुलाई अन्यत्र सार्न भनेको थियो ।

हवाइ हमलालगत्तै धुँवा र धुलोको मुस्लोसहित भवन ढलेको थियो । उक्त भवनमाथि हवाइ हमला हुनुको कारण खुलाइएको छैन ।

‘यहाँ मैले ११ घण्टादेखि काम गरिरहेको छु, यही भवनबाट विभिन्न घटनाबारे जानकारी गराइरहेका छौं’, अल जजिराका सफ्वत अल कहलुटले आफ्नो कार्यालय ध्वस्त भएपछि भने, ‘तर दुई सेकेण्डमा सबै कुरा सिद्धियो ।’ भवन ध्वस्त भएपछि दु:खी भएको र समाचार सम्प्रेषणका लागि आफूहरुले वैकल्पिक तरिकाबारे सोचिरहेको पनि उनले बताए ।

त्यस्तै गाजा सहरबाट लगातार रिपोर्टिङ गर्दै आएका ह्यारी फसेट भन्छन्- ‘उक्त भवन हाम्रो मनमा छ तर अहिले नदेख्दा मन निकै खिन्न भएको छ ।’

विभिन्न सञ्चार माध्यमका कार्यालय रहेको भवनमा आक्रमण गर्नुपूर्व इजरायली सेनाले गाजास्थित एक शरणार्थी शिविरमा हवाइ हमला गरेको थियो । उक्त हमलामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको थियो ।

सोमबारदेखि सुरु भएको इजरायली हवाइ आक्रमणमा परी शनिबारसम्म १३९ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाका मानवबस्तीमा इजरायली लडाकु विमानले बम खलाल्दा र गोलाबारी गर्दा हालसम्म १४० जनाको मृत्यु भएको छ । मृतकमध्ये ४० जना बालबालिका रहेको अल जजिराले जनाएको छ । त्यस्तै ९५० जना घाइते भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय