scheduleबुधवार आषाढ़ २ गते, २०७८

सिरी ‘ए’ च्याम्पियन इन्टरमाथि युभेन्ट्सको रोमाञ्‍चक जीत

काठमाडौं, २ जेठ । इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति भएको खेलमा युभेन्ट्सले रोमाञ्‍चक जीत निकालेको छ । युभेन्ट्सले उपाधि जितिसकेको इन्टर मिलानलाई ३-२ ले हराउँदै शीर्ष चारमा कायम रहने सम्भावना बढाएको छ ।

घरेलु मैदानमा युभेन्ट्सको जीतमा जुआन क्‍वाड्राडोले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डोले १ गोल गरेका थिए । इन्टरका रोमेलु लुकाकुले १ गोल गर्दा एक गोल उपहार पाएको थियो ।

दोस्रो हाफ सुरु भएको केही समयमा युभेन्ट्स १० खेलाडीमा सीमित भएको थियो भने खेल सकिन लाग्दा इन्टर पनि १० खेलाडीमा सीमित भएको थियो ।

२४औं मिनेटमा रोनाल्डोको गोलमार्फत युभेन्ट्सले अग्रता लिएपनि धेरैबेर टिक्न सकेन । ३५औं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयमा क्‍वाड्राडोले गोल गरेपछि पहिलो हाफमा युभेन्ट्स २-१ ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ५५औं मिनेटमा युभेन्ट्स १० खेलाडीमा सीमित भयो । रोड्रिगो बेन्टाकुरले लुकाकुमाथि फल गरेपछि दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदानबाट बाहिर पठाइएका थिए ।

८३औं मिनेटमा युभेन्ट्सका कप्तान जर्जियो किलिनीबाट आत्मघाती गोल भएपछि खेल २-२ को बराबरीमा आयो । रोमाञ्‍चक बन्दै गएको खेलको ८८औं मिनेटमा युभेन्ट्सले पेनाल्टी पायो । रोनाल्डो परिवर्तन भइसकेकाले क्‍वाड्राडोले पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे ।

युभेन्ट्स ३-२ ले विजयी हुनुपूर्व इन्जुरी समयमा इन्टरका मार्सेलो ब्रोजोभिचले क्‍वाड्राडोमाथि फल गरेपछि दोहोरो पहेंलो कार्ड पाए र दुवै टोली १० खेलाडीमा सीमित भए ।

जीतसँगै ३७ खेलबाट ७५ अंक भएको युभेन्ट्स चौथो स्थानमा उक्लिएको छ भने च्याम्पियन बनिसकेको इन्टरको ८८ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय