scheduleबुधवार आषाढ़ २ गते, २०७८

गाजामा इजरायली बर्बरता, ‘इजरायलको बहिष्कार गरौं’ भन्दै विश्वभर प्रदर्शन

एजेन्सी, २ जेष्ठ । गाजा पट्टीमा जारी इजरायली बमबारी र गोलाबारी सातौं दिनमा प्रवेश गरेको छ । आइतबार सबेरै गरिएको हवाइ हमलामा परी ४ जना प्यालेस्टिनीको ज्यान गएको छ ।

इजरायली हमलामा परी एक हप्ताभित्र १४९ जना प्यालेस्टिनीले ज्यान गुमाउन पुगेका छन् । ज्यान गुमाउनेमध्ये ४१ जना बालबालिका समेत छन् । त्यस्तै ९५० जना घाइते भएका छन् । तर इजरायल र प्यालेस्टाइनबीच सुरु भएको हिंसा रोकिने कुनै संकेत देखिएको छैन ।

इजरायलमा समेत हमासले गरेको रकेट हमलामा परी १० जनाको मृत्यु भएको छ । तर इजरायली सेनाले प्यालेस्टिनी लडाकु समूह हमासलाई निशाना बनाउने नाममा सर्वसाधारणमाथि बमबारी गरेको भन्दै सर्वत्र निन्दा भएको छ । शरणार्थी शिविर, सञ्चार गृहसहित मानवबस्तीमा गोलाबारी एवं बमबारी भएपछि इजरायलको निन्दा भएको हो ।

विश्वका कैयौं सहरमा इजरायली बमबारीको विरोधमा प्रदर्शन भइरहेका छन् । इजरायल-प्यालेस्टाइनबीचो हिंसा सन् २०१४ को गाजा युद्धयताकै सबैभन्दा खराब अवस्थामा पुगेपछि विश्वभर प्रदर्शन भएको हो ।

कतारको दोहा, लण्डन, पेरिसदेखि म्याड्रिडसम्मका सहरमा इजरायली हवाइ हमलाको विरोध गर्दै हजारौं प्रदर्शनकारी सडकमा आएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

इराकको राजधानी बगदादमा भेला भएका प्रदर्शनकारीले प्यालेस्टाइनको झण्डा बोक्दै प्यालेस्टिनीप्रति ऐक्यबद्धना जनाएका छन् । अन्य इराकी सहरमा समेत प्यालेस्टाइनको पक्षमा प्रदर्शन भइरहेको अल जजिराले जनाएको छ ।

कतारको दोहामा समेत प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीले प्यालेस्टाइनको झण्डा बोक्दै ऐक्यबद्धता जाहेर गरेका छन् ।

‘इजरायलले मेरो देशमा गरिरहेको नरसंहारविरुद्ध उभिएको छु । हाम्रो मुलुकलाई स्वतन्त्र बनाउनका लागि जे पनि गर्न तयार छौं’, दोहामा बस्दै आएका प्यालेस्टिनी रीम अलगुलले भने, ‘हामीहरु त्यहाँ जान नसक्ने भएकाले यहीबाट आज विरोध प्रदर्शन गरेका हौं । जे भइरहेको छ त्यसबाट म निकै रुष्ट बनेको छु र मेरो मन निकै दु:खेको छ ।’

फ्रान्समा प्यालेस्टाइनको पक्षमा हुने प्रदर्शनमाथि प्रतिबन्ध लगाइएको छ । तर प्रतिबन्धका बाबजुद पनि सैयौं मानिसहरु उत्तरी पेरिसमा जम्मा भएर इजरायलको विरोध गरेका छन् । त्यस्तै स्पेनको राजधानी म्याड्रिडमा पनि प्यालेस्टाइनको झण्डा बोक्दै प्रदर्शन भइरहेको छ । ‘यो युद्ध होइन, नरसंहार हो’ को नारा लगाउँदै प्रदर्शन भइरहेको समाचारमा उल्लेख छ ।

यता भारतको काश्मिरमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबारको प्रार्थनालगत्तै मानिसहरु इजरायलविरुद्ध नाराबाजी गर्दै श्रीनगरका सडकमा जम्मा भएका थिए । तर यही बहानामा काश्मिरमा हिंसा फैलिन सक्ने भन्दै प्रदर्शनकारीलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

लण्डनमा समेत ‘स्वतन्त्र प्यालेस्टाइन’को नारा लगाउँदै हजारौंले प्रदर्शन गरेका छन् । साथै, जर्मनीको बर्लिन लगायतका सहरमा भएका प्रदर्शनमा सहभागीले ‘इजरायलको बहिष्कार गरौं’ भन्दै सडकमा उत्रिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय