scheduleबुधवार आषाढ़ २ गते, २०७८

बाइडेनले झुट बोलेपछि पार्टीभित्रै आलोचना, रुष्ट बन्दै उदारवादीहरु

एजेन्सी, २ जेष्ठ । गत वर्ष अर्थात् २०२० को निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अलोकतान्त्रिक तबरले झूठ बोलेका कारण रिपब्लिकन पार्टीभित्र उत्पन्न दरारले धेरैको ध्यान तानेको छ ।

डेमोक्रेट्सहरुबीच पनि इजरायली र प्यालेस्टिनीबीच जारी हिंसाप्रति अमेरिकाले कसरी प्रतिक्रिया जनाउनुपर्छ भनेर मतभेद देखिन थालेको छ । यही भएर डेमोक्रेटहरुले मानव अधिकारप्रति राष्ट्रपति जो बाइडेनको प्रतिबद्धतामाथि प्रश्न गर्न थालेका छन् र बाइडेनले थप कदम चाल्दै इजरायलमाथि दबाब दिनुपर्ने उनीहरुको माग छ ।

सामाजिक तथा जातीय न्यायप्रतिको प्रतिबद्धतालाई आफ्नो मुख्य अङ्ग ठान्ने दलमा सार्वजनिक रुपमै विभेद/मतान्तरण देखिनु अस्वभाविक लाग्छ । अमेरिकासँग रंङ्गभेदबारे आफ्नै अनुभव वा इतिहास रहेको, रंङ्गभेदको चपेटामा नयाँ तरिकाले फसेको र ‘अश्वेतको जीवनको पनि महत्व छ (ब्ल्याक लाइभ्स म्याटर)’ भन्ने मर्मलाई मूलधारमै आत्मसात गरिएको अवस्थामा विदेश नीतिमा समेत न्यायको यही मान्यता लागू हुनुपर्ने उदारवादीको चाहना छ । र, प्यालेस्टिनीप्रति इजरायली व्यवहारलाई रंङ्गभेदको रुपमा लिनेको संख्या बढिरहेको छ ।

उदारवादीहरुले इजरायललाई खुशी पार्न मात्रै लागेको र बढ्दै गएको हिंसाबीच मानव अधिकारलाई उपेक्षा गरेकोमा ह्वाइट हाउसको चर्को आलोचना गरेका छन् । साथै, उनीहरुले पूर्वी जेरुसलेमका बस्तीबाट प्यालेस्टिनी परिवारलाई बलपूर्वक हटाउने इजरायली योजनाको खुलेर विरोध नगरेको भन्दै बाइडेनमाथि खनिएका छन् ।

राष्ट्रपति बाइडेनले शनिबार द्वन्द्वरत दुवै पक्षसँग कुराकानी गरेका थिए र यसले उक्त मुद्दामा उनी गम्भीर रुपले लागेको संकेत गर्छ । कुराकानी क्रममा उनले इजरायली हवाइ हमलामा गाजास्थित एसोशिएटेड प्रेसको कार्यालय रहेको भवन ध्वस्त भएपछि पत्रकारको सुरक्षाबारे चिन्ता एवं चासो व्यक्त गरे ।

तर उदारवादीहरु बाइडेन अझ बढी सक्रिय होऊन् र इजरायलप्रति औंला तेर्साऊन् भन्ने चाहन्छन् । बाइडेन भने सार्वजनिक रुपमा खुलेर आलोचना गरेका छैनन् ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाइ हमलामा परी गाजामा मात्रै १३० जनाभन्दा बढीको ज्यान गएको छ भने कम्तिमा एक हजार घाइते भएका छन् । इजरायलका विभिन्न सहरमा अरब र यहुदी समूहबीच हिंसा र दंगा जारी छ ।

अमेरिकी रक्षामन्त्री लियोड अस्टिनले इजरायली रक्षामन्त्री बेनी गान्ट्जसँग कुराकानी गरिसकेका छन् । ‘इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार छ भनेर पुन: जोड दिन चाहन्छु र इजरायली नागरिकमाथि हमासले जानीजानी गरेको आक्रमणको निन्दा गर्न चाहन्छु, अस्टिनले ट्विटरमा भनेका थिए ।

रुष्ट बन्दै उदारवादीहरु

राष्ट्रपति बाइडेनले बुधबार सँधैको जस्तै इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार भएको दोहोर्‍याएपछि उदारबादी सांसदले प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ) मा कडा विरोध गरेका थिए ।

‘प्यालेस्टिनीहरुसँग बाँच्ने अधिकार छैन ?’ न्यूयोर्ककी प्रतिनिधि अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले बिहीबार बोल्ने क्रममा भनेकी थिइन् । प्रगतिशील डेमोक्रेट कोर्टेजले आफ्नो कुरा ट्विटरमा समेत राखेकी छन्, ‘यदि बाइडेन प्रशासनले एउटा साझेदारको विरोध गर्न सक्दैन भने अरु कसको विरोधमा उभिन सक्छ ? मानव अधिकारको पक्षमा उभिएको कुरालाई उनीहरुले कसरी दाबी गर्न सक्छन् ?’

मिचिगनकी प्रतिनिधि रशिदा तलाइबले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका कार्यालयमाथि भएको आक्रमणप्रति प्रतिक्रिया जनाएकी छन् । ‘रंङ्गभेदका प्रमुख नाइके बेन्जामिन नेतन्याहुले गरेको युद्ध अपराध विश्वले देख्न नसकोस् भनेर इजरायलले समाचार माध्यमलाई निशाना बनाएको छ’, तलाइबले आफ्नो ट्विटरमा लेखेकी छन् ।

विदेश मामिला समितिमा रहेका मेरिल्याण्डका डेमोक्रेट एवं सिनेटर क्रिस भान होलेनले प्यालेस्टिनीलाई योजनाबद्ध रुपमा हटाउने नीतिले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने भन्दै मानव अधिकारप्रति बाइडेन प्रशासनको प्रतिबद्धतामाथि सवाल उठाएका छन् ।

‘यदि बाइडेन प्रशासनले आफ्नो विदेश नीतिको केन्द्रमा कानुनी राज्य र मानव अधिकार राख्छ भने यो समय मधुरो तरिकाले कुरा राख्ने बेला होइन’, यही महिनाको सुरुमा होलेनले ट्विट गरेका थिए ।

राष्ट्रपतिको उम्मेदवार मनोनयनका क्रममा बाइडेनसँग पराजित सिनेटर बर्नी स्यान्डर्सले शुक्रबार न्युयोर्क टाइम्समा ‘ अमेरिका नेतन्याहु सरकारको रक्षाकवच बन्नु हुँदैन (The U.S Must Stop Being an Apologist for the Netanyahu Government) शीर्षकको लेख लेखेका छन् ।

अमेरिकाको सबैभन्दा ठूलो मुस्लिम अधिकार समूह ‘द काउन्सिल अन अमेरिकन-इस्लामिक रिलेसन्स’ले आइतबार ह्वाइटहाउसमा आयोजित हुन गइरहेको इद समारोह बहिष्कार गरेको छ ।

‘गाजाका निर्दोष महिला, पुरुष र बालबालिकामाथि अन्धाधुन्द बम खसाल्ने इजरायलको रंङ्गभेदी सरकारलाई सहयोग, समर्थन र वैधता दिने बाइडेन प्रशासनसँग इद मनाउन हाम्रो विवेकले दिँदैन’, उक्त समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ । सो समूहले अमेरिकी मुस्लिमसँग बाइडेनको सम्बन्ध बिग्रन सक्ने चेतावनी समेत दिएको छ ।

मुस्लिम समूहले विशेषगरी मुस्लिम मुलुकबाट हुने यात्रामाथि ट्रम्प प्रशासनद्वारा लगाइएको प्रतिबन्ध फुकुवा गरेपछि राष्ट्रपति भएलगत्तैका दिनमा बाइडेनको प्रशंसा गरेका थिए ।

उदारवादी डेमोक्रेटहरुले लामो समयदेखि इजरायलप्रतिको अमेरिकी नीतिको विरोध गर्दै आएका छन् र प्रगतिशील डेमोक्रेटहरुले अमेरिकाले उपलब्ध गराउने ठूलो सैन्य सहायताको बदलामा इजरायलले नीतिगत परिवर्तन गर्नुपर्ने जस्ता माग राख्दै आएका छन् ।

‘हामीले बिना रोकतोक निरन्तर सैन्य सहायता दिँदा इजरायलले आफ्नो मार्ग परिवर्तनमा यथावत रहने छुट पाएको छ’, म्यासाचुसेट्सकी सिनेटर एलिजाबेध वारेनले अप्रिलमा भनेकी थिइन् ।

स्यान्डर्सले न्युयोर्क टाइम्समा शुक्रबार प्रकाशित लेखमा अझ सशक्त ढंगले आफ्नो विचार राखेका छन्- ‘हामीले इजरायललाई सहायता स्वरुप हरेक वर्ष झण्डै ४ अर्ब डलर सहयोग प्रदान गर्छौं र मध्यपूर्वमा नेतन्याहुको दक्षिणपन्थी सरकार, उक्त सरकारको अलोकतान्त्रिक तथा रङ्गभेदी व्यवहारको रक्षा गर्नु हुँदैन । हामीले बाटो परिवर्तन गर्नुपर्छ र सर्वसाधारणको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कानुनसँगै अमेरिकी सैन्य सहायताबाट मानव अधिकार हनन हुनु हुँदैन भन्ने विद्यमान अमेरिकी कानुन प्रबर्द्धन एवं मजबुत गर्ने विधि लागू गर्नुपर्छ ।’

ट्रम्पभन्दा फरक भएर मात्रै पुग्दैन

डेमोक्रेटहरुका लागि आलोचना गर्ने पर्याप्त छिद्र हुँदाहुँदै पनि बाइडेनको नीति इजरायललाई मात्रै एकोहोरो जोड दिने ट्रम्पको भन्दा फरक छ (ट्रम्पले उक्त नीतिलाई क्रिश्चियन मतदाताबाट लाभ लिने गरी उपयोग गरेक थिए) ।

ट्रम्पले अमेरिकी दूताबासलाई जेरुसलेममा सारे र विवादित बनेको उक्त कदमबाट प्यालेस्टिनीहरु रुष्ट बनेका थिए । बाइडेनले पुरानै स्थानमा दूताबास ल्याउने काम गर्न चाहेनन् ।

यता नेतान्याहु समेत हिंसा चर्किँदै गएको अवस्थामा नयाँ सरकार गठन गर्न असमर्थ देखिन्छन् र उनका लागि सत्तामा रहिरहने सबैभन्दा उत्तम मौका अर्को आम निर्वाचन हुन सक्छ । नेतान्याहु ट्रम्पको मध्यपूर्व नीतिका मुख्य समर्थक थिए र उनले इरानसँगको आणविक सहमतिको सँधै आलोचना गर्दै आएका छन् । इरानसँगको आणविक सम्झौता ट्रम्पले अन्त्य गरे तर बाइडेनले यसलाई पुनर्जीवन दिने प्रयास गरिरहेका छन् ।

ट्रम्पभन्दा फरक हुनु आफैंमा एउटा नीतिगत परिवर्तन भने हो ।

‘हामीले यो द्धन्द्धलाई अन्त्य गर्नुपर्छ’, क्यालिफोर्नियाका डेमोक्रेट एरिक स्वलवेलले जारी हिंसाबारे कुराकानी गर्दै भने, ‘अमेरिकामा जिम्मेवार राष्ट्रपति हुनुहुन्छ र उहाँले यसका लागि इजरायलमाथि दबाब दिन सक्नुहुन्छ भन्ने मेरो बुझाइ छ ।’

स्यान्डर्सले ट्रम्पको व्याख्या गर्दा जुन भाषा प्रयोग गरिन्थ्यो नेतान्याहुका सम्बन्धमा पनि सोही भाषा प्रयोग गरेका छन् ।

‘नेतान्याहुले इजरायलमा एक दशकभन्दा लामो दक्षिणपन्थी शासनका बेला बढ्दो रुपमा असहिष्णु र निरंकुश खाले जातीय राष्ट्रवादको पक्षपोषण गरेका छन्’, स्यान्डर्स आफ्नो लेखमा लेख्छन्, ‘अमेरिकाले नयाँ राष्ट्रपतिसँगै विश्वका लागि नयाँ विधि अर्थात् न्याय र लोकतन्त्रमा आधारित विधि विकास गर्ने अवसर पाएको छ ।’ यद्यपि, उनले प्यालेस्टिनी शासकलाई समेत ‘भ्रष्ट र निष्प्रभावी’ भनेका छन् ।

(सिएनएनको अनलाइन संस्करणमा प्रकाशित विश्लेषणको संक्षेपीकरण र भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय