scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

थापाले संकेत गरिरहेको ओलीको सोच, बालुवाटार छाडेर किन सिंहदरबारमा ?

काठमाडौं, २ जेठ । जेठ २ गते बिहान नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेखे । ‘२०७८ साल जेठ २ गते । पूरा तीन वर्ष बित्याे ! प्राप्त सुझाव- पछाडि फर्किनु त प्रतिगमन हुन्छ । बाटै छैन ।’

थापाको स्टाटसले प्रधानमन्त्री ओलीको मनमा के चलिरहेको छ, स्पष्ट हुन्छ । ओली के चाहन्छन्, यही स्टाटस पढे काफी हुन्छ ।

कुनैबेला बालुवाटारमा हुने वार्तालाई संकेत गर्दै भनिन्थ्यो- बालुवा पेलेर तेल निस्कँदैन । बालुवाटार छिरेपछि ओलीले त्यहाँको वार्तालाई आफू अनुकूल व्याख्या गरिदिन्छन् ।

पछिल्लो समय यसैको शिकार भएका छन् जसपा नेता डा. बाबुराम भट्टराई । उनले महामारीको बेला पूर्वप्रधानमन्त्री बाहेकबाट प्रधानमन्त्री बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव ट्वीटर सन्देशबाट राखे । उनले पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु रहेको निर्देशक समिति बनाएर देशमा विद्यमान समस्याहरुलाई प्याकेजमा हल गरेर अगाडि बढ्न र कोरोना महामारीविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने योजना सुनाउन बालुवाटार गए ।

भट्टराई स्रोतका अनुसार बालुवाटारबाट रातिको लागि समय मिल्यो । उनी राति नै भेट्न गए र आफ्नो प्रस्ताव व्याख्या गरे । तर ओलीका विश्वासपात्र महेश बस्नेतले बालुवाटारमा प्रधानमन्त्री पाउँ भनी बिन्ती बिसाउन गएको भन्दै प्रचार गरे ।

बालुवाटार मात्र होइन, बाहिर पनि ओलीको सचिवालयका मानिसहरुले गडबडी गरिहाल्छन् । धरहरा हेरेको फोटोलाई ओलीको सचिवालयले फरक ढंगले प्रस्तुत गर्‍यो । माधव नेपालले स्पष्टीकरण नै दिनुपर्‍यो ।

पछिल्लो वार्तामा ‘धनुष्टंकार’ वाला स्वागतको तस्बिर पनि ओलीको सचिवालयबाटै बाहिरियो । ओली भित्र पस्दा नमस्कार गर्न उठ्दै गर्दाको तस्बिर बाहिर लगेर दुश्प्रचार गरिएको भन्दै घनश्याम भुसालले स्पष्टीकरण नै दिनुपर्‍यो ।

यी र यस्तै कामबाट वाक्कदिक्क भएका माधव नेपाल बालुवाटार छिर्न अन्कनाइरहेका छन् । त्यसैले वार्ता बाहिरै हुन थालेको वरिष्ठ नेता नेपाल निकट एक नेताले बताए ।

जेठ २ पछि तीन वर्ष बितिसकेको भन्दै पछाडि फर्कनु प्रतिगमन हुने सल्लाहकार थापाको सन्देश खासमा ओलीको सन्देश भएको तथ्य नेपाल निकट तेस्रो पुस्ताका युवा नेताहरुले बुझिरहेका छन् । उनीहरुले आफ्नो समूहको बैठकमा ओलीको जालमा नपर्न दोस्रो र तेस्रो पुस्ताका नेताहरुलाई सुझाव र दबाव दिइरहेका छन् ।

नेपाल समूहका दोस्रो पुस्ताका केही नेताहरुले खुट्टा टेक्न नसकेको र उनीहरु ओलीको खेलमा फसेको तेस्रो पुस्ताका नेताहरुको बुझाई छ । छुट्टै भेटमा नेता नेपालले यसबारे आफ्नो बुझाई बाँढ्न थालेका छन् ।

कार्यदलमा बादल र टोपबहादुर रायमाझीको ‘इन्ट्री’ कुनै संयोग नभएर ओलीको सुविचारित कदम भएको नेपाल समूहका ती नेताले आशंका गरे । ‘उहाँ स्पष्ट सन्देश दिन चाहनुहुन्छ कि जेठ २ पछि बादलहरु आइसकेका छन् । हामी घडी उल्टो घुमाउन सक्दैनौं । यो गुडिरहेको गाडी हो । रोजेको सिट खोज्न बसपार्क नै आउनुपर्छ,’ ती नेताले ओलीले दिन चाहेको सन्देशबारे व्याख्या गर्दै भने ।

एमाले अब ओलीको भारदारी सभाजस्तै बनेको बताउँछन् एमाले धादिङका नेता केशव दुवाडी । उनी आफ्नो अनुभूतिलाई रोचक ढंगले लेख्छन्-
माधव कमरेड! अब बादलसँग एमाले मिलाउन डिल गर्नुस् !
भीम कमरेड! भट्ट जी सँग इन्चार्जको भीख माग्नोस् !
घनश्याम कमरेड ! अब प्रभु शाह सँग मार्क्सवाद र जबजको बहस गर्नुस् !
थाङ्नामा सुताएको हैन रछ्यानमा फालिसके !
प्रतिगामीहरुको छलकपटबाट मुक्त हुनुहोस् !
अब सबै कमिटीको अधिवेशन इलेक्सन विधिबाट हैन सेलेक्सन विधिबाट हुने हो!!
भार्दारी सभामा जबज खोज्नु आइसल्यान्डमा सर्प खोज्नु जस्तै हो !!

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय