scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सीसीएमसी बैठकमा प्रवेश गर्‍यो स्वास्थ्य संकटकालको प्रसंग

काठमाडौं, २ जेठ । कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी)को बैठकमा स्वास्थ्य संकटकालको प्रसंग उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी उक्त बैठकमा स्वास्थ्य संकटकालका बारेमा समेत छलफल भएको हो ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार तुलनात्मक रुपमा स्वास्थ्य संकटकाल लगाउँदा के के काम हुन्छ भन्ने अध्ययन भइरहेको जानकारी दिए ।

बैठकले समग्र स्वास्थ्य प्रणालीलाई महामारीका विरुद्ध लगाउन जरुरी भएको निश्कर्ष निकालेको उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले अक्सिजन अभाव हुन नदिन आवश्यक सबै प्रक्रिया अवलम्बन गर्न निर्देशन दिएका छन् । बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनी प्रक्रियामा अड्किएर कुनैपनि नागरिकको ज्यान जान दिन नहुने बताएको मन्त्री ज्ञवालीले जानकारी दिए । प्रम ओलीले त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रीहरुलाई समेत निर्देशन दिएका हुन् ।

कोरोनाको समग्र विश्लेषण गरिएको बैठकमा बाधा अड्चन हटाउने तथा अक्सिजन उत्पादन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्विड अक्सिजन आयात बढाउन भारतसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल भएको उनले जानकारी दिए । अक्सिजन अभाव हुन नदिन साथै चीन र ओमनबाट मगाइरहेको भन्दै आगामी दिनमा अक्सिजन अभाव हुन नदिने मन्त्री ज्ञवालीले जिकिर गरे ।

उनले भने, ‘सरकार र नीजि क्षेत्रले समेत अक्सिजन ल्याएकाले त्यति ठुलो अभाव हुदैन अव त्यो कठिनाई कम हुदै जान्छ ।’ बैठकमा प्रधानमन्त्रीले आवश्यक स्वास्थ्य सामग्री आयात गर्न कानुन संशोधन गरेर वा क्विक रेस्पोन्स टिम गठन गरेर भएपनि प्रक्रिया अघि बढाउनुपर्ने बताएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘हाम्रा प्रक्रियामा अल्झिएर र आर्थिक स्रोत अभावले कुनैपनि नागरिकको ज्यान जान दिनुहुँदैन । त्यसका लागि आवश्यक प्रक्रिया तत्काल गर्नुस्, क्विक रेस्पन्स टिम बनाउनुपर्ने भए बनाउनुस् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय