scheduleबुधवार आषाढ़ २ गते, २०७८

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा जारी सैन्य कारबाही रोक्ने तयारीमा इजरायल

एजेन्सी, २ जेष्ठ । प्यालेस्टिनी लडाकु समूह हमाससँग युद्धविराम गर्नका लागि इजरायलमाथि दबाब बढ्दै गएको छ ।

युद्धविराममार्फत् गाजामा जारी हिंसा अन्त्य गर्न भन्दै अन्तर्राष्ट्रिय दबाब बढेपछि आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा निकायका अधिकारीहरुसँग बैठक गर्दैछन् ।

आज दिउँसो बस्ने बैठकमा रक्षामन्त्रीसहित वरिष्ठ सैन्य अधिकारीहरु उपस्थित हुने समाचारमा उल्लेख छ । बैठकमा गाजामा जारी सैन्य कारबाहीबारे छलफल हुने बताइएको छ ।

शनिबार रक्षामन्त्रालयका केही वरिष्ठ अधिकारीहरुले प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री बेनी गान्ट्सलाई युद्धविरामको तयारी गर्न भनेका थिए । रक्षा अधिकारीहरुले गाजामा इजरायली सेनाको उद्देश्य पूरा भएको भन्दै युद्धविराममाथि जोड दिएपछि सुरक्षा निकायको बैठक बस्न लागेको हो ।

त्यस्तै अन्तर्राष्ट्रिय समुदायले समेत तत्काल हिंसा अन्त्य हुनुपर्ने बताएका छन् । आज नै संयुक्त राष्ट्रसघीय सुरक्षा परिषदको बैठक बस्दैछ । यता शुक्रबार अमेरिकी राष्ट्रपति बाइडेनका दूत इजरायल आइपुगेका छन् ।

युरोपेली आयोगका उप-प्रमुख जोसेफ बोरेलले समेत जारी हिंसा अन्त्य गर्नका लागि आफूले युरोपेली युनियनका विदेशमन्त्रीहरुबीच छलफल गर्ने योजना बनाएको जानकारी गराएका छन् ।

जर्मन विदेशमन्त्री हेइको मासले मध्यपूर्वमा हिंसा अन्त्य हुनुपर्ने भन्दै इजरायली र प्यालेस्टिनीहरुलाई तत्काल वार्तामा बस्न अपिल गरेका छन् । ‘अहिले ३ वटा कुरा गर्नुपर्ने देखिन्छ’, मासले ट्विटरमा भनेका छन्, ‘पहिलो रकेट आक्रमण बन्द हुनुपर्छ, दोस्रो हिंसा अन्त्य हुनुपर्छ र तेस्रो दुई राज्य निमार्णमार्फत् समाधान खोज्नका लागि इजरायली र प्यालेस्टिनीहरु पुन: वार्तामा बस्नुपर्छ ।’

यता साउदी अरबका विदेशमन्त्रीले ओआईसीको आपतकालीन बैठकमा बोल्दै इजरायलको कडा आलोचना गरेका छन् । इजरायलले प्यालेस्टिनीको अधिकारमाथि नाङ्गो रुपमा हनन गरेको भन्दै तत्काल सैन्य कारबाही अन्त्य गर्नुपर्ने विदेशमन्त्री फैसल फरहान अल साउदको भनाइ छ ।

इजरायली हमलामा परी एक हप्ताभित्र १४९ जनाभन्दा प्यालेस्टिनीले ज्यान गुमाउन पुगेका छन् । ज्यान गुमाउनेमध्ये ४१ जना बालबालिका समेत छन् ।

यसैबीच कतारको दोहा, लण्डन, पेरिसदेखि म्याड्रिडसम्मका सहरमा इजरायली हवाइ हमलाको विरोध गर्दै हजारौं प्रदर्शनकारी सडकमा आएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय