scheduleबिहिवार श्रावण १४ गते, २०७८

कोरोना महामारीः तिर्खा लागेपछि इनार खन्दै सरकार

रमेश सर्राफ

भारतमा कोरोना महामारीको दोस्रो लहर जारी छ । यसले सम्पूर्ण देशबासीलाई भित्रैदेखि हल्लाइ दिएको छ । मानिसमा भय व्याप्त छ । प्रत्येकले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । प्रतिदिन कोरोना संक्रमितको अत्यधिक संख्या आउने गरेको छ । संक्रमित संख्या बढदै जाँदा बिमारीको उचित उपचार असम्भव हुँदै गएको छ ।

मृत्युको आंकडा दिनप्रतिदिन बढेको बढ्यै छ । यो तथ्यांकले मात्र पनि मान्छेको भयलाई अस्वभाविक ढंगले बढाई दिएको छ । मान्छेले आफूलाई सर्वत्र निस्सहाय ठानिरहेका छन् ।

कोराना संक्रमणको यो अवधिमा मानिसले समुचित उपचार पाउने अवस्था नहुनुले हाम्रो सरकारी संयन्त्रहरूको असफलता प्रदर्शन हुन्छ । सरकार चाहे देशको होस् वा प्रदेशको, कोरोना महाव्याधी मुकाबिला गर्न सबै मोर्चामा असफल भएका छन् ।

कोरोना बिमारीलाई भर्ना गर्न अस्पतालहरूमा ठाउँ छैन । गम्भीर बिमारीहरूलाई दिन अक्सिजनको अभाव भइरहेको छ । भारतमा मृत्युदर धेरै हुनुको एउटा कारण समयमै अक्सिजन नपाइनुलाई मानिएको छ । यो स्थिति कहिले अन्त्य हुन्छ, कसैलाई थाहा छैन । १३५ करोड जनसंख्या भएको देशमा अक्सिजन, औषधि र उपचारको तयारीको कमीले मानिस मर्नु भारतको निधारमा कलंकको दागजस्तो बनेको छ ।

पहिलो लहरपछि देशमा व्यापक तयारीको आवश्यकता थियो । केन्द्र र राज्य सरकारहरूले भविष्यको सही आकलन गर्न सकेनन् । महाव्याधीसँग जुध्ने र बच्ने उपायबारे राम्रो तैयारी गर्न सकेनन् । सबैले ठाने कि पहिलो लहर मत्थर भएसंगै कोरोना सकियो । सबै मानिस कोरोना अघिजस्तै आआफ्नो काममा फर्किन थाले । कोरोनाको दोस्रो लहर आउँछ भन्ने कल्पना कसैले गरेन । दोस्रो लहर यति खतरनाक हुन्छ भन्ने अनुमान त झन कसैमा थिएन ।

अहिले आएर केन्द्र र प्रदेश सरकारहरूले प्रयास बढाएका छन् । तर, नियन्त्रण गर्न सफल भइरहेका छैनन् । सरकारका विद्यमान प्रयासहरू तिर्खा लागेपछि इनार खन्न थालेजस्तो मात्र भइरहेको छ । कोरोनाको पहिलो लहरपछि समय छँदै सरकारहरूले दोस्रो लहर सामना गर्ने रणनीति बनाउनु पर्ने हुन्थ्यो । यदि त्यस्तो गरिएको हुन्थ्यो भने सायदै हामीले आज यति खराब हालतबाट गुज्रिनु पर्दथ्यो ।

भन्दा आरोप जस्तो हुने तर यथार्थ यही हो कि यतिका दिनसम्म सरकारहरू हात बाँधेर बसे । चिकित्सा क्षेत्र सुधारका लागि कुनै काम भएन । जब महामारी टाउको माथि नै आयो तब एक अर्कालाई आरोपप्रत्यारोप गर्ने बयानबाजी शुरु भयो । यस्तो बयानबाजी कुनै गम्भीर संवेदनशीलताको उदाहरण थिएन, त्यो भ्रामक राजनीति मात्र थियो । आज त्यो कमजोरीको मूल्य जनताले तिर्नु परिरहेको छ ।

गत वर्षको कोरोना संक्रमणको बाबजुद सरकारहरूले यो वर्षको बजेटमा चिकित्सा क्षेत्रमा लगानी बढाएनन् । स्वास्थ्य सेवा र सतर्कता सम्बन्धी त्यस्ता कुनै योजना पनि शुरुवात गरेनन् जसले महामारीबाट बच्न मद्दत गरोस् । यस वर्षका बजेटमा पनि अगाडिजस्तै सरकारहरूले पुल, सडक र बिजुलीलाई नै प्राथमिकतामा राखेका छन् । स्वास्थ्य क्षेत्रका लागि बजेटमा एकदमै कम रकम विनियोजन गरिएको छ ।

भारत गाउँ नै गाउँको देश हो । करिब ६५ प्रतिशत मानिस गाउँमा बस्दछन् । स्वास्थ्य सेवा सुविधाका दृष्टिकोणले गाउँहरूको अवस्था अत्यन्त खराब छ । भारतमा कोरोनाको सर्वाधित विस्तार गाउँहरूमा भइरहेको छ । त्यहाँ न जाँचको न उपचारको कुनै व्यवस्था छ । सरकारहरूको सम्पूर्ण ध्यान शहरतिर छ । शहरका ससाना घटना पनि भाइरल भिडियो बन्छन । तर, गाउँका ठूल्ठूला घटनातिर मिडियाको ध्यान नै छैन ।

तथ्यांकले भन्छ- भारतमा कोरोनाबाट अत्यधिक मृत्यु ग्रामिण क्षेत्रमा भइरहेको छ । तर, त्यस्ता मृत्युहरू तथ्यांकमा समेत आएका छैनन् । प्रशासनले कोरोना कै कारण मानिस मरेको स्वीकार गरिरहेको छैन । स्वास्थ्य सेवा विभागले त्यस्ता मृतकको जाँच गरिरहेको छैन, जो कोरोना लक्षणको कारणले मरे । उनीलाई सामान्य मृत्यु सरह दाहसंस्कार गर्न दिइएको छ ।

राजस्थानको सुरजगढ उपखण्डको श्यालु गाउँमा एक दिन गरिएको परीक्षणमा ८६ संक्रमित भेटिएका थिए । त्यो गाउँमा त्यस्तो स्थिति कसरी बन्यो भनेर बुझ्ने, विश्लेषण गर्ने फुर्सत कसैलाई छैन । शिकर जिल्लाको खीरवा गाउँमा २६ जनाको मृत्यु भएको छ । तर, त्यहाँ पनि कुनै प्रभावकारी कदम उठाइएको सूचना छैन । गाउँकी प्रधानपञ्च रशिदा बानोका अनुसार जिल्लाका कलेक्टर अविचल चतुर्वेदी आए, स्थिति हेरे र केही आश्वासन दिएर गरे । तर, त्यसपछि कुनै काम भएन ।

रमेश सर्राफ

खाटू गाउँको श्यामबाबा मेलामा लाखौंको भीड थियो । त्यो गाउँमा अहिले २४४ जना संक्रमित भेटिएका छन् भने ५ जनाको मृत्य भइसकेको छ । गाउँमा अजिब सान्नाटा छाएको छ ।

भारतको गाउँमा बिमारीको उपचार गर्न अधिकांश ससाना चिकित्सालय हुन्छन् । त्यहाँ एक डाक्टर, एक कम्पाउन्डर र एक नर्स राख्ने चलन छ । तर, उनीहरूसँग स्रोत साधन, उपकरण र औधषि नै हुँदैन । उनीहरूले चाहेर पनि गाउँलेहरूको समुचित उपचार गर्न सक्दैनन् । यदि गाउँका प्राथमिक तथा सामुदायिक चिकित्सा केन्द्रमा आवश्यक औषधि, उपकरण र अक्सिजन हुने हो भने त्यहाँ पनि कोरोनाको थोरबहुत उपचार हुन सक्थ्यो होला ।

त्यसो हुँदा शहरका अस्पतालमा दबाब घट्ने थियो । कतिपय बिमारीहरू गाउँमै बाँच्ने थिए । तर, खै किन हो सरकारले यतातिर कुनै ध्यान नै दिएको छैन ।

कोरोनाको खोपमा समेत गाउँलाई भन्दा शहरलाई प्राथमिकता दिइएको छ । अहिलेसम्म जेजति खोप दिइएको छ, शहरमा मात्र दिइएको छ, गाउँ यो सुविधाबाट पुरै बञ्चित छ । सायद गाउँमा पनि समुचित अनुपातिक खोप पुग्ने कुनै नियम वा व्यवस्था हुनुपर्दथ्यो ।

देशमा एम्सजस्ता ठूला चिकित्सा संस्थान, मेडिकल कलेज, रिसर्च केन्द्रहरूको संख्या निक्कै कम छ । जति छन् त्यहाँ बिमारीको अत्याधिक चाप छ । उनीहरूले चाहेर पनि थप बिमारी भर्ना लिन सक्ने अवस्था छैन । सरकारले प्रत्येक जिल्लामा कम्तीमा एक चिकित्सा संस्थान बनाउने योजना गर्नु पथ्र्यो । उपचारका लागि शहर नै धाउनु पर्ने अवस्था भारतजस्तो देशका लागि उचित हैन ।

अझै समय छ । सरकारले जिल्ला, इलाका र गाउँमा स्तरीय स्वास्थ्य केन्द्र र पर्याप्त स्रोतसधान उपलब्ध गराउनु पर्दछ । प्रदेशमा जहाँजहाँ मेडिकल कलेजहरू स्वीकृत भएर त्यसै बसेका छन्, तिनीहरूको निर्माण अबिलम्ब शुरु हुनु पर्दछ । केन्द्र तथा राज्य सरकारहरूले गत वर्ष विनियोजन गरेको बजेटमा अन्य विकास योजना कटौती गर्न र स्वास्थ्य सम्बन्धी योजनाहरूमा अधिकांश पैसा खर्च गर्न राजी हुनु पर्दछ । त्यसो नगरिकन देश कोरोना र भविष्यमा आउन सक्ने महाव्याधीको सामना गर्न सक्षम हुने देखिन्न ।

जनताले पनि आफ्ना नेतासंग केवल पुल, सडक, भवन बनाउने साटो अस्पताल माग गर्न सक्नु पर्दछ । तब मात्र बिमारीबाट हुने अकाल मृत्युबाट मानिसलाई जोगाउन सकिन्छ । सरकारहरूले पनि अब आफ्नो विकास एजेण्डाको प्राथमिकता परिवर्तन गर्नु पर्दछ । स्वास्थ्य सेवालाई सबैभन्दा माथि राख्नु पर्दछ ।

अमर उजालाबाट ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय