scheduleबुधवार आश्विन ६ गते, २०७८

प्रिमियर लिग: च्याम्पियन सिटी पराजित हुँदा युनाइटेड बराबरीमा रोकियो

काठमाडौं, ५ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग च्याम्पियन बनिसकेको म्यान्चेस्टर सिटीले हार व्यहोरेको छ । १० खेलाडीमा सीमित सिटीलाई ब्राइटनले ३-२ गोलअन्तरले हराएको हो ।

ब्राइटनको जीतमा लियान्ड्रो ट्रोसार्ड, एडम वेबस्टर र ड्यान बर्नले १-१ गोल गरेका थिए । सिटीका इल्काए गुन्डोगान र फिल फोडेनले गोल गरे । ब्राइटनले २-० ले पछि परेको अवस्थाबाट खेल उल्टाएको हो ।

खेलको १०औं मिनेटमा नै सिटी १० खेलाडीमा सीमित भएको थियो । जोआवो क्यान्सेलोले ड्यानी वेलबेकमाथि फल गरेपछि सोझै रातो कार्ड पाएका थिए । त्यसअघि गुन्डोगानले दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ४८औं मिनेटमा फोडेनले गोल गरेपछि सिटीको अग्रता दोब्बर बन्यो । यद्यपि त्यसको दुई मिनेटपछि ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने संकेत गरिसकेका थिए ।

७२औं मिनेटमा वेबस्टरले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसको चार मिनेटपछि बर्नले गोल गर्दै ब्राइटनको जीत सुनिश्‍चित गरे ।

जीतसँगै ३७ खेलबाट ४१ अंक भएको ब्राइटन १५औं स्थानमा उक्लिएको छ भने पराजयका बाबजुद सिटी ८३ अंकसहित शीर्षमा छ ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र फुलहामले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा भएको खेलमा युनाइटेड १-१ को बराबरीमा रोकिएको हो ।

युनाइटेडका एडिन्सन काभानीले १५औं मिनेटमा आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा जो ब्रायनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा रहेर सिजन सकाउने पक्का भएको छ । फुलहाम भने रेलिगेसनमा परिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय