scheduleबुधवार आषाढ़ २ गते, २०७८

नयाँ कानुन लागू भएपछि सम्बन्ध विच्छेद गर्ने चिनियाँको संख्या ह्वात्तै घट्यो

एजेन्सी, ५ जेष्ठ । सामाजिक कुरीतिमा आएको कमी र बढ्दो लैङ्गिक स्वतन्त्रता कारण पछिल्ला केही वर्षदेखि सम्बन्ध विच्छेद गर्ने चिनियाँको संख्या निरन्तर बढिरहेको छ ।

अखिल चिनियाँ महिला महासंघका अनुसार सम्बन्ध विच्छेदका लागि दिइने निवेदनमध्ये ७० प्रतिशत निवेदन महिलाहरुले पेश गर्छन् । तर यसै वर्षको सुरुमा चीन सरकारले ल्याएको कानुनी प्रावधानका कारण सम्बन्ध विच्छेद गर्ने दम्पतिको संख्या पहिलो त्रैमासिकमा ह्वात्तै घटेको छ ।

चीनको मुलुकी ऐनमा व्यवस्था गरिएको नयाँ प्रावधान जनवरीदेखि लागू गरिएको छ । मतभेद देखिएका दम्पतीबीच पुन: मेलमिलाप होस् भनेर ल्याइएको उक्त प्रावधान अनुसार सम्बन्ध विच्छेदका लागि निवेदन दिएको ३० दिनसम्म सम्बन्धित दम्पतीलाई आपसी मतभेद अन्त्य गर्ने समय प्रदान गरिन्छ ।

एक महिनाको निर्धारित अवधिमा पुनर्मिलन हुने निर्णय गर्ने दम्पतीले सम्बन्ध विच्छेदसम्बन्धी निवेदन फिर्ता लिन सक्छन् । तर फिर्ता लिन नचाहेमा पुन: निवेदन दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्नुपर्छ ।

चीनका विभिन्न क्षेत्रमा पहिलादेखि नै लागू हुँदै आएको कानुनी व्यवस्थामा आधारित उक्त प्रावधान लागू भएपछि तीन महिनाभित्र (पहिलो त्रैमासिक) सम्बन्ध विच्छेदका घटनामा ७२ प्रतिशतले कमी आएको देखिन्छ । नागरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा २ लाख ९६ हजार सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् । जुन संख्या अघिल्लो वर्षको अन्त्रिम त्रैमासिकमा १० लाख ६० हजार थियो ।

सम्बन्ध विच्छेद गर्न चाहने श्रीमान-श्रीमतिलाई आपसी मेलमिलाका लागि निश्चित समयको व्यवस्था गरिएको नयाँ कानुनी प्रावधान लागू भएलगत्तै निकै आलोचित बन्न पुगेको थियो । व्यक्तिगत स्वतन्त्रतामाथि आँच आउने र मानिसहरु दु:खद वैवाहिक सम्बन्ध वा हिंसात्मक दाम्पत्य जीवनको बन्धनमा पर्न सक्ने भन्दै नयाँ कानुनी प्रावधानको आलोचना गरिएको थियो ।

तर सरकारी माध्यमसहित कतिपय मानिसले भने नयाँ व्यवस्थाको बचाउ गर्दै आएका छन् । नयाँ व्यवस्थाले ‘पारिवारिक स्थीरता र सामाजिक स्थायित्व’ कायम गर्ने समर्थकहरुको तर्क छ ।

चीन मतभेद हटाउन र मेल मिलापका लागि दम्पतीलाई निश्चित समय तोक्ने पहिलो मुलुक भने होइन । फ्रान्स र बेलायतमा समेत औपचारिक रुपमा सम्बन्ध विच्छेद हुनुपूर्व मेल मिलापका लागि २ देखि ६ हप्ताको समय प्रदान गरिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय