scheduleबिहिवार श्रावण १४ गते, २०७८

नाङ्गो शासक र चाटुकारहरू

अशोक कुमार पाण्डे

आज हामी जुन राज्यमा छौं, यस प्रकारका जुन राज्य हुन्छन्, तानाशाही राज्य, यस्तो राज्यलाई लेखकहरूसँग सधै डर लाग्दछ । हामीले यो कुरा सधै सम्झना गर्नु पर्दछ कि चाहे हिटलरको जर्मनी होस्, चाहे जिया उल हकको पाकिस्तान, यिनीहरूलाई लेखकसँग धेरै डर लाग्थ्यो ।

यसको कारण के हो त ? यसको कारण यो कि तानाशाह इतिहासको त्यो वर्णन चाहन्छन्, जो उनीहरूको अनुकूलतामा हुन्छ । लेखकसँग उनीहरू यो चाहन्छन् कि कुरा जो यथार्थ हुन, जनतासँग नपुगून्, ती बिषय मात्र पुगून्, जो उनीहरूको अनुकूल हुन्छन् । कविसँग उनीहरू यो चाहन्छ कि उनीहरूको प्रसंशा गरुन् । उनीहरू त्यस्तो लेखन चाहन्छन् जहाँ नाथुराम गोड्सेलाई हिरो र महात्मा गान्धीलाई भिलेन बनाउन प्रयास होस् ।

जब उनीहरूको आलोचना हुन्छ, यी तानाशाहलाई अपराजय वा देवदूतजस्तो देखाउन सम्भव हुँदैन । उनीहरूको वरिपरि केही चाटुकार, केही मिडिया हुन्छन्, उनीहरूले त्यही भाष्य दोहोर्‍याउँछन्, जसले तानाशाहको महान छविलाई तुष्टिकरण गर्दछ । उनीहरूले यो देखाउने निरन्तर प्रयास गर्दछन् कि सबै चिज ठीकठाक चलिरहेको छ । उनीहरूले आफ्नो नेतालाई कुनै नायक, कुनै योद्धाजस्तो गरी प्रस्तुत गर्दछन् ।

जस्तो हेर्नुस् त, अहिले कोरोनाको महाव्याधी छ । तर शब्दाबली के प्रयोग भइरहेको छ- कोरोना विरुद्धको युद्ध । मेरो विचारमा यो कुनै युद्ध हैन । यो मानवता संकटमा परेको समय हो । मानवतालाई जोगाउने बिषय हो । तर युद्ध शब्दले ‘विजेता’ खोज्छ । तानाशाहलाई योद्धा वा विजेता देखाउन हरेक घटनामा युद्ध शब्दको प्रयोग हुन्छ । युद्धमा सधैं कोही हार्छ, कोही विजेता हुन्छ । केही कवि-लेखक सत्ता र दरबारको वरिपरि हुन्छन् । उनीहरूले रचना र भाष्यमा आफ्नो नेतालाई नायक, योद्धा र विजेता बनाउँछन् । ती सत्ताका प्रिय हुन्छन् ।

तर, वास्तविक कवि–लेखकहरू दरबार जाँदैनन् । उनीहरू जनता कहाँ जान्छन् । उनीहरू हेर्छन् के जनताको हालत के छ ? कहाँ अस्पतालको कमि छ । कहाँ अक्सिजनको कमी छ । लेख्न न्यूनतम मानवीय संवेदना त जाग्नै पर्छ । नत्र कसरी कविता बन्छ ? लेख्नु कुनै धन्दा त हैन । यसमा त्यतिधेरै पैसा वा आम्दानी पनि छैन । कसैले जब कलम उठाउँछ, त्यतिखेर पैसा सोचिरहेको हुँदैन । पैसा पछि आउने चिज हो, लेख्न पहिला मानवीय संवेदना हुनु पर्दछ । जो जनताको पक्षमा रहेर लेख्न चाहन्छन्, उनीहरूले सत्ताबाट, शक्तिबाट कहिल्यै कुनै आशा नै राख्नु हुँदैन ।

संसारमा त्यस्ता थुप्रै चाटुकार लेखक थिए, जसले राजा महाराजको जयजयकार गरे । उनीहरूले पुरस्कार पाए । प्रसंशा र सुरक्षा पाए । तर आज उनीहरूलाई कस्ले सम्झिन्छ ? तर, कविर, प्रेमचन्द वा हाम्रा समयको मुक्तिबोधको कुरा गरौं, उनीहरूलाई कस्ले बिर्सन सक्दछ ? उनीहरूले जनताको पक्षमा लेखे । उनीहरूले आफ्नो जीवनकालमा त केही पाएनन् ।

तर, उनीहरू नै त्यो समयका वास्तविक लेखक ठहरिए, आज पनि उनीहरूलाई हामी आदर्श मान्छौं । इतिहास वा भविष्यमा लेखनको महत्व कहिल्यै कम हुँदैन । श्रष्टाहरू आउँछन्, जान्छन्, तर शब्दहरू अमर हुन्छन् ।

चाटुकार मण्डलीले जब कुनै तानाशाहलाई घेरा हाल्छन्, उनले देख्न छोड्छ । ती मानिस तानाशाहले आफ्नो मुहार हेर्ने ऐनाजस्तो बन्दछन् । बिहानै उसको तिनैसँग भेट हुन्छ । तानाशाहले सोध्छ कि म कस्तो देखिन्छु ? चाटुकारले भन्दिन्छन् कि तपाईं संसारकै सबैभन्दा सुन्दर मान्छे देखिनु हुन्छ । तानाशाहले यो बुझ्नै सक्दैनन कि जनता उनको विरुद्धमा हुँदैछन् । कतिपय तानाशाहहरूको पतनको कारण नै यही बन्छ । जसजसलाई भेटेका हुन्छन्, सबैले ठीक, राम्रो भनेका हुन्छन् । फेरि उनीहरूलाई मेरो विरोधी को होला र ? कुन जनता मसँग असन्तुष्ट होलान् र भन्ने पर्छ । तानाशाहलाई भ्रम पर्छ कि मबाट कुनै गल्ती हुनै सक्दैन ।

साहित्यकारले अरु के गर्छ र ? उसको भूमिका सीमित छ । उसले जनताको आवाजलाई शब्दमा उतार्छ र फेरि जनतामै पुर्‍याउँछ । यो क्रममा स्वआलोचना जरुरी हुन्छ । लेखकले आफै आफूमाथि ‘सेल्फ–क्रिटिक्स’ गर्नु पर्दछ । मेरा एक अग्रज थिए, उनी भन्थे- लेखकको संकट त्यतिखेर शुरुवात हुन्छ जब ऊ छापिने समस्याबाट मुक्त हुन्छ । जब कसैको नामकै आधारमा छापिन थाल्छ, जरुरी छैन कि उसले राम्रो लेख्ने प्रयत्न गर्दछ । तर, लेखकलाई यो प्रवृत्तिले पनि राम्रो गर्दैन । लेखकले भरसक एक शब्द पनि गल्ती लेख्न हुँदैन । लेखे क्षमा माग्नु पर्दछ ।

तर तानाशाहहरू ठीक उल्टो हुन्छन् । उनीहरू अनेक गल्ती गर्दछन्, माफी माग्न सक्दैनन् । यदि म नरेन्द्र मोदी हुन्थे भने तुरुन्तै गुजरात जान्थे । ती महिला सामु हात जोडेर माफी माग्थे, जसले कोरोनाले बेहाल गुजरातको चित्रण गरेकी छन् । तर, तानाशाहहरू आफू वरिपरि यस्तो महल बनाउँछन् कि उनीहरू गल्ती र माफी त सोच्नै सक्दैनन् । चाटुकारले उनीहरूलाई त्यही भन्दिएको हुन्छन्– तपाई जस्तो महान मान्छेले पनि कहिँ गल्ती गरेको हुन्छ र ?

यो संकट लेखकहरूको संकट हैन, तानाशाहको संकट हो । सत्ताको संकट हो । लेखक–कविले लेख्छन तर, कसैलाई मान्न कर गर्दैनन् । बुझ्न बाध्य गर्दैनन् । लेखक/कविले लेखेको नबुझ्दा कयौं तानाशाहको सत्ता गुमेको छ । त्यतिखेर पनि शब्द र साहित्य रहन्छ, जब तपाई, हामी रहँदैनौं । भाजपा रहँदैन । मोदी रहँदैनन । भाजपाको सत्ता रहँदैन । भविष्यमा जुन सत्ता आउँछ, उसको लागि ती शब्द आगो जस्ता हुन्छन् । उसले बुझ्नु पर्छ ति हिजाका सत्ताले जे गल्ती गरे, मैले त्यही गल्ती गर्नु हुँदैन । अन्यथा यो शब्दको आगोमा म पनि जल्छु । मेरो सत्ता पनि जल्छ ।

कवि-लेखकको अरु कुनै धर्म हुँदैन । समस्या समाधान गर्ने अरु कुनै उपाय पनि हुँदैन । उनीसँग एक मात्र धर्म, एक मात्र उपाय हुन्छ । निरन्तर लेख्नु, निरन्तर बोल्नु । जब लेखक कवि चुप लाग्दछन्, तानाशाहहरूको मनोबल बढ्छ । गाली आउँछन्, पचाउनु पर्छ । बदनाम गर्ने प्रयत्न हुन्छ, हाँसेर टार्नु पर्छ । जब कवि-लेखकहरू जब निरन्तर आफ्नो काममा लाग्दछ, कतिपय गाली गर्नेहरू आफै पुनर्विचार गर्न बाध्य हुन्छन् । मेरो जीवनमा त्यस्ता थुप्रै अनुभव छन् । जसले मैले लेखेबापत् मलाई बारम्बार भद्दा गाली गरे, तर पनि मैले लेख्न रोकिनँ, ती आफै आएर मसँग माफी मागे ।

तानाशाहहरूमा लघुताभाषी ग्रन्थी हुन्छ । नरेन्द्र मोदीमा त्यो पहिलेदेखि नै छ । उनलाई थाहा छ कि भारतीय स्वतन्त्रताको लडाईंमा उनको पार्टीको कुनै भूमिका थिएन । उनलाई यो पनि थाहा कि राष्ट्रनिर्माणको प्रक्रियामा उनीहरूको कुनै भूमिका छैन । यो त इतिहास हो, यो कुरा कुनै इतिहास लेखकले बदल्न सक्दछ र ? इतिहास लेखकले इतिहास लेख्छ, इतिहास बदल्दैन । तर, इतिहासका यी सत्यहरू भाजपा र मोदीको अनुकुल त हुँदैनन् । तसर्थ यिनीहरू इतिहासमाथि चर्चा नहोस्, इतिहास धुमिल होस् भन्ने चाहन्छन् । इतिहास लेखकसँग उनीहरूको यसै पनि दुश्मनी हुन्छ ।

अशोक कुमार पाण्डे

नरेन्द्र मोदी जब गुजरातमा थिए, त्यहाँ जब ठूलो भुकम्प आएको थियो, भुकम्पपछिको व्यवस्थापनमा उनले राम्रो भूमिका गरेका थिए । जब उनी दिल्ली आए, चाटुकारहरूको ठूलो घेरा बन्यो । अब यिनीहरूले मोदीलाई एकक्षण एक्लै छोड्दैनन । मोदीसँग न जनताको दुःख बुझ्ने समय छ । न गल्ती पर्गेल्ने र कसैसँग माफी माग्ने । आफ्नो विशाल छवि कायम गर्ने भन्दा अरु कुनै काम बाँकी छैन । गुजरात र दिल्लीको मोदीमा व्यापक भिन्नता छ ।

कुनै मजबुत नेताले कुनै संस्था, एजेन्सी वा चाटुकार समूहसामु आफूलाई समर्पण गर्दैन । उनले भन्छ कि गल्ती हुँदैछ, त्यो सच्याउनु पर्छ । मोदीले अहिले सबै शक्तिशालीलाई भन्नु पर्ने हो । धेरै बकबास नगर्नुस् । सबै आआफ्नो काममा लाग्नुस् । मेरो धेरै प्रसंशा जरुरी छैन । म केही समयलाई गुजरात जान्छु । त्यहाँको बेहाल स्थितिलाई सम्हाल्न मद्दत गर्दछु । तर, मोदी अब त्यसो भन्न सक्ने स्थितिमा छैनन् । उनी आफू वरिपरिको घेरालाई नै आफ्नो शक्ति ठान्न थालेका छन् । उनी त्यो गुमाउन चाहँदैनन् ।

मान्छे भन्छन्, मोदी एक विशाल छवि भएका नेता हुन् । तर, मेरो विचारमा उनी एक कमजोर तानाशाह हुन् । त्यसैले उनी कहिल्यै पत्रकार सम्मेलन समेत गर्दैनन् । उनलाई मान्छेका प्रश्नहरूको उत्तर दिन सक्छु भन्ने आत्मविश्वास नै छैन । तर, मैले भनेर हुने हैन । मलाई यो पनि थाहा छ कि यो देशको अधिकांश हिस्साले उनलाई भोट दिएको छ । उनलाई आइकन मान्छ । उनको आव्हानका थाल बजाउन राजी हुन्छ । मोदीको विशाल छवि त्यतिकै लागि मात्र हो त ? यति ठूलो महाव्याधीमा खै कहाँ छन् उनी जनतासँग ।

मेरो त अझै पनि अपेक्षा छ यदि उनी कमजोर तानाशाह हैनन्, बलियो नेताहरू हुन, केही गरेर देखाउन । आफूलाई मजबुत नेता सावित गरुन् । म त इतिहास लेख्ने मान्छे हो, जे हुन्छ, त्यही लेख्छु । मोदीले पुष्टि गरे भने म उनलाई मजबुत नेता भनेर लेखौंला तर, आज त उनलाई म कमजोर तानाशाह नै भन्छु ।

समूहलाई एकताबद्ध गर्ने प्राधिकार जुनसुकै संगठनमा सधै मूल नेतासँग हुन्छ । हाम्रो प्रधानमन्त्रीसँग पनि त्यो अधिकार छ । यदि महामारीको शुरुवातमै मोदीले एक सर्वदलीय बैठक गरेर यो संकटमा सबै एक भएर जानु पर्दछ भनेको भए कस्ले मान्दैनथ्यो होला । कसकसको जिम्मेवारी केके हुने भनेर सल्लाहले बाँड्न सकिनथ्यो । तर, उनी त्यसो गर्दैन । उनी यो एक गम्भीर अवस्था हो भन्ने नै स्वीकार गर्दैनन् । लामो समयसम्म यही भन्दै रहे कि सबै ठीकठाक छ । कोरोनासँगको युद्ध जितियो । फेरि एकपटक योद्धा र विजेता बनिसकियो । तर आज प्रष्ट भयो, स्थिति उनले दाबी गरेजस्तो पटक्कै छैन ।

भनिन्छ, साहित्यका शब्दले मुर्दामा पनि जीवन भर्दछ । तर मुर्दा कानमा कपास खाँदेर सुतेको छ भने जस्तै संगीतले पनि उसलाई ब्युँझाउन सक्दैन । सबैभन्दा पहिला त मोदी यो स्वीकार गर्नु पर्‍यो कि जो उनको विरोध वा आलोचना गर्दछन्, ती सबै उनका दुश्मन हैनन् । प्रधानमन्त्री सबैका कुरा सुन्न राजी हुनु पर्‍यो । कानको कपास निकाल्न पर्‍यो । अन्यथा शब्दले मोदीलाई के फरक पर्ला । लेखले, कविताले मोदीलाई के फरक पर्ला ।

सत्ता कहिल्यै स्थीर हुँदैन । भनिन्छ- हजार वर्षमा पनि केही नबद्लिन सक्दछ तर कुनै क्षण रातारात ठूलो बद्लाव आउन सक्छ । कसैले भन्न सक्दैन भोलि के हुन्छ । सत्ता आउँछन्, जान्छन्, यी समयका खेल हुन् । इतिहास निक्कै क्रुर वा निर्मम हुन्छ । इतिहासको क्रुरताबाट कुनै पनि शासक वा तानाशाहलाई चाटुकारहरूले बचाउन सक्दैनन् ।

पाण्डे प्रसिद्ध भारतीय लेखक तथा इतिहासकार हुन् । यो आलेख सत्यहिन्दी डटकममा निरु व्याससँगको कुराकानीको संक्षेपीकरण हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय