scheduleबिहिवार श्रावण १४ गते, २०७८

ओलीगमनको ‘दोस्रो भेरियन्ट’: प्रतिगमन मात्र कि प्रति–क्रान्ति ?

डम्बर खतिवडा

ओली गल्ती महसुस गर्ने मान्छे हुन्थे त विगत ३ वर्षको राजनीतिक कोर्स नै अर्कै हुन्थ्यो । चाटुकार पक्षले ‘चतुर’, ‘चाणक्य’, ‘दृढ’ भन्नुको खाँटी अर्थ हुन्छ– ‘लम्पट’, ‘धूर्त’ र ‘ज्याद्रो’ । ओलीलाई चाणक्य भन्नु र ज्ञानेन्द्र शाहलाई मैकिलाबेली ठान्नु उस्तैउस्तै हो । ओलीको आत्मामा न कुनै ‘कौटिल्य’ छ न ज्ञानेन्द्र शाहमा ‘द प्रिन्स’ थियो । नारायणहिटीबाट रुँदै नागार्जनु हिंडेको दिन पक्कै शाहको मनका केही बिषाद्, पश्चाताप आए होलान् । ठीक त्यही भावना केही महिना अघि उनको मनमा पलाएको हुन्थ्यो त न उनको गद्दी जान्थ्यो न २४० वर्षको शाहवंश ।

नैतिक भावनाबाट सर्वत्र च्यूत, स्खलित र पतित अतिमहत्वाकांक्षी शासकहरूले आफ्नो वास्तविक हविगत त्यतिखेर बुझ्छन्, जब पतनको पराकाष्ठा आउँछ । रोमानियाली जनताले सडकमा घिसार्दै चोकमा ल्याएर गोली हान्नु केही दिनसम्म निकोलाई चाउचेस्कु आफ्नो सत्ता ढल्छ भन्नु ‘पिपलको बोटमा नास्पति फल्छ’ भने जस्तो भन्दै थिए ।

शाह वा चाउचेस्कु मात्र हैन, संसारमा त्यस्ता दर्जनौं शासक थिए, जो पराकाष्ठाको क्षण आउनु एक मिनेट अघिसम्म आफूलाई संसारकै सर्वाधिक शक्तिशाली ठान्थे । कसैले आफ्नो ‘रौं हल्लाउन’ नसक्ने अट्टहास गर्थे ।

पुस ५ गतेको पहिलो ओलीगमनलाई सर्वोच्त अदालतले फाल्गुन ११ गते बलियो झपाड हानेपछि पनि ओेली सच्चिनु त कता हो कता उल्टै अन्तिम अट्टहास गर्दै थिए । संविधानको धारा ५६ (१) को प्रधानमन्त्री पनि मै, उपधारा २ को प्रधानमन्त्री पनि मै, उपधारा ३ को प्रधानमन्त्री पनि मै, उपधारा ५ को प्रधानमन्त्री पनि मै, धारा ४ बाट चाहिँ ‘कुलेलम ठोकेर भाग्छु’ भन्ने ओली दाबी न कुनै चाणक्यपन थियो न कुनै पराक्रम, त्यो केवल कायरता थियो । त्यस्तो कायरता जुन पतनको पराकाष्ठा नजिक पुगेको एक सर्वाधिक दुष्ट शासकले मात्र प्रदर्शन गर्न सक्दछ ।

जेष्ठ ८ गतेको भनिएको तर, ७ गते मध्यरातको कुन बेला ठहर नहुने गरी रचिएको प्रतिनिधिसभा विघटन गर्ने दोस्रो ओलीगमन त्यही दुष्टताको थप परिचय मात्र हो । बुझ्न के जरुरी छ भने कोभिड–१९ को ‘दोस्रो भेरियन्ट’ पहिलोभन्दा बढी संक्रामक र घातक भएजस्तो ओलीगमनको ‘दोस्रो भेरियन्ट’ झनै निर्मम, क्रुर, आततायी र पाखण्डपूर्ण छ । यो सामान्य ‘प्रतिगमन’ भन्दा बढी ‘प्रतिक्रान्ति’ तिर लक्षित छ ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

चार दाबी, चारै झुठ
ओली गत आम निर्वाचनमा ४ दाबीसहित सत्तामा उदाएका थिए । उनको पहिलो दाबी थियो– कम्युनिष्ट एकता गरेँ, गराएँ । दोस्रो दाबी थियो– राष्ट्रवादको खाँटी प्रतिनिधि मै हो । ‘चाइनाको चुच्चे रेल, चाइनाको सस्तो तेल’ ल्याउँछु, ल्याउँछु । तेस्रो दाबी थियो– राजनीतिक स्थिरता र चौथो– समृद्धिको गफ ।

आज न कम्युनिष्ट एकता बाँकी छ न राष्ट्रवाद । राजनीतिक स्थिरताको तथाकथित संसदीय भाष्य ओलीकालमा पुनश्चः संसदीय विकृतिको युगमा फर्कियो । दुईतिहाईको सरकार ५ वर्ष नटिक्ने नौवत कस्तो राजनीतिक स्थिरता हो ?
समृद्धिको गफबारे धेरै कुरा गर्नै परेन । कहाँ केरुङ–काठमाण्डौं–पोखरा–लुम्बिनी रेलका धमास कहाँ भीमसेन थापाले बनाएको धरहराको जिर्णोद्वार । कहाँ हिन्द महासागरको पानीजहाज र कहाँ प्रताप मल्लले बनाएको रानीपोखरीमा दुईचार इट्टा जोडजाड । जुन कारण, पृष्ठभूमि र भाष्यले ओलीलाई सत्तामा ल्यायो, ती सबै ३ वर्ष नपुग्दै झुठैझुठको पुलिन्दा सावित भएपछि अतिमहत्वकांक्षाको तुष्टिकरण दुष्टताबाट मात्र सम्भव हुन्थ्यो ।

देशका पाँच संकट
ओलीका ५ दाबी एकपछि अर्को झुठ मात्र सावित भएनन्, उनले देशलाई थप ५ संकटमा फसाई दिए । यी संकट यति गहिरा, ठूला र लामा छन् कि ‘महासंकट’ भन्दा हुन्छ । पहिलो त कोभिड–१९ महाव्याधिले सृजना गरेको स्वास्थ्य संकट नै हो । विगत तीन हप्ता यता नेपाल संसारकै सर्वाधिक संक्रमण र मृत्युदर भएको देशमध्ये एक बन्न पुग्यो ।

कोरोना भाइरस संक्रमणको चेन तोड्न लकडाउनले पनि कुनै काम गर्न सकिरहेको छैन । सामाजिक सञ्जालमा श्रद्धान्जली बाहेक अर्थोक देखिन छोडेको छ । अस्पताल बेड, अक्सिजन र भेल्टिलेटरको अभाव सर्वत्र महसुस भएको छ । एकवर्ष पछि बल्ल ओलीले बुझेजस्तो गरे कि बेसार पानी, हिमाली हावा, अम्बाको पातको गार्गिल, ह्याछ्यु र नेपालीको बलियो इम्युनिटीले मात्र कारोना ठेगान लाग्ने हैन रहेछ ।

दोस्रो ठूलो संकट आर्थिक महासंकट हो । गत वर्ष करिब ६ महिना लामो लकडाउन भयो । यति लामो लकडाउन दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने श्रमिक वर्गले कसरी काट्यो, कसैले सोचेन । लाखौंले रोजगारी गुमाए । अर्थतन्त्र १.९ प्रतिशतले ऋणात्मक भयो । १८ प्रतिशतमा झरिसक्यो भनिएको गरिब ७ प्रतिशतले बढ्यो, करिब २५ प्रतिशत पुग्यो । व्यवसायीहरू बैंकको ऋण र किस्ताको तनावले थलिए । निरन्तर दबाब र मागको बाबजुद सरकारले न कुनै राहत कार्यक्रम ल्यायो न कुनै आर्थिक प्याकेज नै बनायो । करिब ७५ लाख गरिब मानिस यो लकडाउनमा के खाएर बाँचेका होलान् भनेर राज्यले सोच्नसम्म चाहेन । यो वर्ष फेरि त्यही परिदृष्य दोहोरिने निश्चितजस्तो भएको छ । अझ भयावह र विकराल बनेर ।

तेस्रो महासंकट राजनीतिको नैतिक गुणस्तर समाप्तप्राय हुनु हो । गत साल बैशाख ८ गतेबाट पहिरो जान थालेको देशको राजनीतिक ढिस्को दिनप्रतिदिन स्खलित छ । राजनीतिक स्थीरताको नारामा चुनाव जितेको सत्तारुढ पार्टी नेकपा (नेकपा) को अस्तित्व नै विलुप्त भएको छ । कम्युनिष्टहरू दर्जनौं टुक्रामा बाँडिएका छन् । एकअर्का विरुद्ध सत्तोश्राप गरेर बसेका छन् । गुट–स्वार्थको रक्षा बाहेक उनीहरूमा कुनै नैतिक भावना र उत्तरदायित्वबोध देखिएको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विपक्षी धर्म निर्वाह गर्न नसकेर लामो समय किंकर्तव्यविमुढ रह्यो । ओलीगमनको दोस्रो भेरियन्टको संत्रासपछि थोरै ब्युझेको छ । तेस्रो ठूलो दल जसपामा कम्युनिष्टहरूको जस्तै कलह संक्रमित भएको छ । अन्य दलहरूको चर्चा नै आवश्यक देखिन्न ।

चौथो संकट मानवीय महासंकट हो । यो पक्षको कमै चर्चा हुने गरे पनि यो आफैंमा विकराल छ । घरघरमा परिवारपरिवार भक्रान्त हुँदा तातो पानी दिने मान्छे छैन । मानवीय सामाजिक व्यवहारहरू पुरै टुटेका छन् । मान्छे अब न बाँच्दाको जन्ती न मर्दाको मलामी भएको छ । कोही कसैलाई सहयोग गर्न सक्ने अवस्थामा छैन । मान्छे निसहाय र एक्लो भएको छ ।

पाँचौं र अन्तिम संकट भूराजनीतिक असन्तुलन हो । न चाइनाको रेल आयो, न चाइनाको तेल आयो । आयो त केवल सि जिन पिङ विचारधाराको प्रशिक्षण त्यो पनि भर्चुअल । ३५०० किमी टाढाको चिनियाँ समुन्द्रले १००० किमी टाढाको भारतीय समुन्द्रलाई विस्थापन गर्न सक्दैन भन्ने सबैलाई थाहा थियो । अन्ततः असोज ५ गतेको मध्यरात सामन्त गोयलसँगको करिब ३ घण्टामा सबै प्लान उलटफेर भए । चुच्चे रेलको कुरै छोडौं, चुच्चे नक्साको गौरव समेत स्खलित भयो ।

ठाकुर–महतो गुटको त्यान्द्रो
सबै सम्बन्ध बिगारिसकेका, सबै उपाय सिद्धिँदै गएका, सबै दाउ हानी सकेका, सबै कौडा ठाडा भइसकेका, सबै बाँकटेले डुब्दै गएका ओलीले अन्ततः जसपाभित्रको ठाकुर–महतो गुटको त्यन्द्रो समात्न खोजे, त्यो पनि आफ्नै बलबुतामा हैन । ठाकुर–महतो गुटसँगको सम्बन्धलाई सहज बनाउन र सामान्यीकरण गर्न समेत उनले अन्यत्रबाटै सहयोग लिनु पर्‍यो, अन्ततः त्यो पनि काम लागेन ।

७ गते ३ बजे ओली बढो नक्कली शानले पत्रकार सम्मेलन गर्दै थिए । ‘विपक्षले वैकल्पिक सरकार बनाओस् स्वागत छ’ भन्दै थिए । आफूलाई सरकार चलाउन झर्को लागिसकेको फोस्रो गफ हान्दै थिए । उनलाई विश्वास थियो कि ठाकुर–महतो त्यत्रोले धारा ७६ (५) लाई बाँध्छ । त्यही कारणले ओलीमैत्री राष्ट्रपतिले भण्डारीले २१ घण्टाको मात्र समय दिएकी थिइन्, जसमध्ये १० घण्टा त रात नै पर्थ्यो । भण्डारी छिटोभन्दा छिटो म्याद गुजारेर ओलीका लागि थप सहजता सृजना गर्न मरिहत्ते लगेर लागेकी थिइन् ।

जब कसैले कल्पना नगरेको १४९ को हस्ताक्षर हतारमा संकलन भयो, ओली तीन चिताङ खाए । उनका फोस्रा गफ घाममै सेकिए, ओठमुख सुकाएर उनी शितल निवास दौडिए देउवाभन्दा छिटो पुग्न । उनको भाँजोको आधार त्यही ठाकुर–महतो गुटको फर्जी चिठ्ठी थियो, जसमा उनले डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको समेत मलाई नै समर्थन छ भनेर दुनियाँ हसाएका थिए । ओलीले ‘त्यो पर्दैन’ भन्दा ‘हिहिहि’ गर्न उहिल्यै बानी परेकी भण्डारी ओलीका लागि सर्वत्र समर्पित छँदै थिइन्, मध्यरातमा उनीहरूले अर्को षडयन्त्र रचे, शुरुवात भइसकेको धारा ७६ (५) को प्रक्रिया कुनै टुंगोमा नपुर्‍याई स्थगन गर्ने र फेरि प्रतिनिधिसभा विघटन गर्ने । त्यसका लागि ठाकुर–महतोले मध्यरातमा शितल निवासमै बसेर लेखेको अर्को फर्जी चिठ्ठीकै त्यान्द्रो समाइयो, जसमा ठाकुरले १२ जना सांसदको हस्ताक्षर अमान्य भन्ने ल्याप्चे लगाएका थिए ।

ओली–गोयल मन्त्रणा र ठाकुर–महतोको शिकार
‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’ भन्ने हिन्दी गीत सामन्त गोयलले मध्यरातमा ओलीलाई सायद राम्रै सिकाएका थिए, मोहनी मन्त्रका रुपमा प्रयोग गर्न । ओलीका लागि बदनाम हुन तयार ‘मुन्नी’ त कति कति । यसको सबैभन्दा नराम्रो शिकार यसपटक ‘ठाकुर– महतो’ भए । अनर्थ नलागोस्, राजनीतिक अर्थमै लिइयोस्– उनीहरू रबरस्टाम्प राष्ट्रपति भण्डारीभन्दा प्रिय ‘मुन्नी’ बने ।

यसको कारण के होला ? धेरैलाई जिज्ञासा छ । तर, कारण धेरै खोतलिरहनै पर्दैन । ठाकुरले त हल्का सिफ्ट लिन चाहेका थिए, जेष्ठ ४ गते उपेन्द्र यादवसँग ८ बुँदे संयुक्त विज्ञप्ति निकालेर । तर, महतोजीले निकटस्थहरूसँग बारम्बार भनेजस्तो– ‘उनी यो सब थोडी आफ्नो रहरले गर्दै थिए, नगरौं त के हो, के हो भन्ने अवस्था छ’ । ठाकुर आफैंले हस्ताक्षर गरेको ८ बुँदे संयुक्त वक्तव्यमा एक घण्टा पनि टिकेनन् । ओलीसँगको आन्तरिक लसपस असोज ५ गतेपछि नै छँदै थियो तर ‘तटस्थता’ को घुम्टो पनि ओडी राखेकै थिए, स्थिति यस्तो आयो अब ठाकुरले घुम्टो फाल्नु पर्ने भयो, उनी जीवनभरिको बह्मचार्य र सन्तगिरी त्याग गरी ओलीका लागि ‘खुलेआम मुन्नी’ हुन राजी भए ।

यो सामान्य संसदीय झगडा हैन
कतिपय मान्छेहरू ठान्छन् कि यो सबै नेताहरूको जुँगाको लडाईं मात्र हो, सामान्य संसदीय झगडा मात्र हो । सतहमा झट्ट हेर्दा ठीकै हो । तर, अन्तर्यमा केही भिन्न दृष्य छन्, जो नियालेर हेर्दा मात्र देखिन्छ । ओलीमा उनले आफ्ना निकटस्थहरूसँग बारम्बार भनेजस्तो सकेसम्म कम्बोडियाको ‘हुन सेन’, नसके बंगालदेशकी ‘सेख हसिना’ सम्म हुने असीमित रहर छ ।

त्यसका लागि चुनावी सरकारको नेतृत्व हत्याउने र सकेको सबै तालतिकडम गर्ने आकांक्षा छ । भाद्रसम्म लकडाउन लगाउने, असोज र कार्तिक चाड पर्वमा हास्स न हुस्स हुने र मंसिरमा प्रायोजित निर्वाचनको नाटक गर्ने बढो राम्रो प्लान ओलीले बनाएका छन् । कोरोनाको महाव्याधिबीच दक्षिण एशियाली संस्कृतिको निर्वाचनमा जनता बाँचून् कि मरून् ओलीको हुन सेन महत्वाकांक्षा अघि त्यसको के माने ? संसारका कुन चाहिँ तानाशाहले मानवीय संवेदना, मूल्य र गरिमालाई महत्व दिएका थिए र ?

सबैले बुझ्नु पर्ने कुरा यो कुनै सामान्य संसदीय झगडा हैन । यो लोकतन्त्र र संविधानवादविरुद्ध हुन सेन वा शेख हसिनापथको लडाईं हो । जसले यो कुरा बुझ्न ढिलो गर्दछ, क्षति उसकै हुनेछ । कांग्रेस सभापति देउवाले यो यथार्थ बुझ्न ढिलो गरिरहेका थिए, जे होस्, आज उनको आँखा पक्कै राम्रो खुलेको हुनु पर्दछ ।

संसदीय लोकतन्त्रमा त्यसै पनि तेस्रो, चौथो पार्टीको अस्तित्व सधै संकटमा हुन्छ । ‘दुभेजर्स ल’ भनिने फ्रान्सेली राजनीतिशास्त्री मौरिस दुभेजर्सको लामो खोज, अनुसन्धानले यसका कारणबारे राम्रो प्रकाश पार्दछ । ठाकुर–महतोले ‘दुभेजर्स ल’ पुष्टि गर्न बलिया आधार दिएका छन् । त्यसै पनि कांग्रेस कम्युनिष्ट ध्रुवीकरण तीव्र भएको नेपाली समाजमा ‘वैकल्पिक शक्ति’ जन्मिन सक्दछ भन्ने विश्वास मतदातालाई कमै थियो । अझ त्यसमाथि साना, नयाँ र वैकल्पिक भनिएका पार्टी ‘झनै बिकाऊ हुन्छन्’ निहुँ पाए पछि अरु के चाहियो ?

तर, हुन सेन वा शेख हसिना मोडलको अन्तिम मार जसपामा हैन, कांग्रेसमाथि पर्ने हो । यो यथार्थ बुझ्न कांग्रेसको संस्थापन पक्ष ढिलो गरिरहेको थियो ।

प्रतिगमन मात्र कि प्रतिक्रान्ति ?
ओलीगमनको ‘दोस्रो भेरियन्ट’ पहिलोभन्दा झनै खतरनाक छ । पहिलो ‘प्रतिगमन’ मात्र थियो भने दोस्रो ‘प्रतिक्रान्ति’ नै हो । प्रश्न उठ्ला कसरी ? पहिलो संक्रमणको समय ओली थोरै ‘शंकाको सुविधा’ दिन सकिन्थ्यो, कतै उनी यो २०४७ सालको संविधानको जस्तो परम्परागत संसदीय लोकतन्त्रको संविधान नै हो भन्ने भ्रममा त थिएनन् ?

फाल्गुन ११ को सर्वोच्चको फैसलापछि ओली यस्तो भ्रममा हुनु पर्ने कुनै कारण बाँकी छैन न त उनलाई शंकाको सुविधा फेरि दिनु पर्ने कुनै आधार नै बाँकी छ । ओली जे गर्दैछन्, सबै जानाजान गर्दैछन्, त्यसका लागि उनले केही आधुनिक विषकन्या ‘मुन्नी’ हरू तयार गरेका छन् । विभत्स कोतपर्वको रगतले लथपथिएका जंगबहादुरका पछाडि इष्ट-इन्डिया कम्पनी भएजस्तो ओलीका पछाडि पनि केही ‘कम्पनीहरू’ को हात छ । यी हात अदृष्य छैनन्, थोरै जादुमयी वा चमत्कारिक छन् तर अदृष्य छैनन् ।

यिनीहरूको उद्देश्य के हो त ? नेपालको संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि बदला दिने । ज्ञानेन्द्र शाह कोरोना बोकेर ल्याउन मात्र कुम्भभेला गएका थिएनन् न त ओलीको कदमको दुईचार मिनेट अघि वा पछि त्यसलाई पुष्टि गर्ने ट्विट कमल थापाले त्यसै गरेका हुन्छन् । यसपटक पनि थापाको ट्वीट प्रमाण छ उनले राष्ट्रपतिलाई १४९ लाई मान्यता नदिन र संसद विघटन गर्न आग्रह गरेका थिए । भन्नलाई ‘दुबैलाई मान्यता नदिन’ भनेका थिए । तर, ओलीको भाँचोपत्रमा महन्थ ठाकुरको मात्र हैन, कमल थापाको पनि सही छ भन्ने कमै चर्चा भइरहेको छ ।

ओलीगमनको दोस्रो भेरियन्टलाई कसैले पनि खेलाँची नठानौं । यसलाई सामान्य संसदीय झगडा नठानौं । यो क्रान्ति र प्रतिक्रान्तिबीचको नयाँ चरणको भीषण संघर्ष हो । यो संघर्षमा क्रान्तिको पक्षमा सामेल हुनु गौरवपूर्ण विषय हो । क्रान्तिको पक्षमा सगौरव सामेल हौं र प्रतिक्रान्तिलाई फेरि एकपटक सबै मिलेर पराजित गरौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय