scheduleबिहिवार श्रावण १४ गते, २०७८

संसद विघटनपछि उठेका सवाल-जवाफहरू

मोहन तिम्सिना

अन्त्यतः संसद विघटन भएको छ । यो संगै ‘इतिहासको पुनरावृत्ति’ को स्पष्ट संकेत मिलेको छ । संविधानसभा कालमा दलहरू भन्थे- संविधान बनाउने काम बाँकी रहेकाले राजनीतिक अस्थिरता बढेको हो । संविधान बन्ने बित्तिकै यो समाधान हुन्छ । संविधान निर्माणपछि उनीहरूले भनेका थिए- बहुमतको सरकार नहुँदा राजनीतिक अस्थिरता हुन्छ । त्यसैले बहुमतको सरकार चाहियो ।

समय क्रममा संविधान पनि बन्यो । बहुमतको सरकार पनि गठन भयो । तर सबैले अपेक्षा गरेको त्यो ‘राजनीतिक स्थिरता’ देखा परेन । यता जनता लकडाउन र महामारीको मारमा छन् । उता राजनीतिक रडाको छताछुल्ल छ ।

देश पुनः २०५१ सालतिर फर्किएको आभास हुन थालेको छ । बहुमत प्राप्त सत्तारुढ दल विभाजित छ । प्रतिपक्षी दलहरू पनि विभाजित छन् । संसद गठन–विघटनको खेल पुनः शुरु भएको छ । ठ्याक्कै संसदीयकाल जस्तै । यस्तो लाग्छ- फेरि राजनीतिक अस्थिरताको युग शुरु भयो ।

आज ‘बहुमतको सरकार’ नभएर यो दिन आएको होइन । यसपालीको घटनाले यो पनि प्रष्ट भयो कि, हिजो ‘बहुमतको सरकार’ नभएकै कारण ‘राजनीतिक स्थिरता’ हुन नसकेको पनि होइन रहेछ । किन पटकपटक यस्तो भइरहेछ ? अब यो प्रश्नको भरपर्दो जवाफ नखोजेसम्म कुनै दलको औचित्य पुष्टी हुनेवाला छैन ।

समर्थन र विरोधको अन्तरसम्बन्ध
कुनै कुराको विरोध गर्न, अर्को कुनै कुराको समर्थक बन्नु पर्दछ । वा कुनै कुराको समर्थक बन्न कुनै कुराको विरोधी बन्नु पर्दछ । नत्र समर्थन वा विरोधको औचित्य हुँदैन । यो आम नियम हो ।

भन्न त सरकार विरोधी गठबन्धनले प्रधानमन्त्री ओलीको कदमको राजनीतिक र कानुनी विरोध गर्ने भन्दैछन् । उनीहरूको यो विरोधको त्यतिबेला मात्र सार्थकता हुन्छ जब उनीहरूले समर्थन गरेको बिषय पनि सार्थक हुन्छ । नत्र विरोधको कुनै औचित्य हुँदैन ।

बिषयलाई यदि यसरी हेर्ने हो भने अहिल्यै भन्न सकिन्छ, सरकार विरोधी गठबन्धनले गर्ने ओली विरोधको कुनै औचित्य छैन । किनकी उनीहरू ‘नयाँ बोत्तलमा पुरानै रक्सी’ हाल्न खोज्दैछन् । अर्थात्, उनीहरूसँग ओली विरुद्धको सार्थक विकल्प नै छैन ।

अझ स्पष्ट भन्दा ओलीको विकल्पमा बन्ने सरकारले चाहिँ राजनीतिक स्थिरता, सुशासन, महामारी नियन्त्रण जस्ता बिषयमा राम्रो काम गर्ला भन्ने कुनै ग्यारेन्टी छैन । बहुमतको सरकार हुँदा त यो सब भएन । अब गठबन्धन सरकारले चाहिँ स्थिरता दिन्छ भनेर कसरी विश्वास गर्नु ? नेताहरू यिनै हुन्, सांसदहरू यिनै हुन् । देखी सकियो, यिनीहरूको कथनी र करनी कहिल्यै मिल्दैन । यस्ता पात्रहरूबाट राजनीतिक स्थिरताको ग्यारेन्टी हुन्छ भनी विश्वास गर्नु मुखर्ता मात्र हो ।

मोह र अहंकारको परिणाम
ने.क.पा. भित्रको विग्रहले अन्त्यतः संसद विघटन सम्म ल्याई पुर्‍यायो । यो परिघटनालाई अनेकन कोणबाट बिश्लेषण गर्न सकिन्छ । मनोजीवनको कोणबाट देखिने परिदृश्य भने रोचक छ । कुरा एमाले–माओवादी एकता प्रसंगबाटै शुरु हुन्छ ।

पार्टी एकता गर्नु नराम्रो होइन, तर यिनीहरूले जुन नाटकिय ढंगले एकता गरे, गडबडी त्यहीबाट शुरु भयो । तर्क जे गरे पनि, त्यो एकता जनताप्रतिको करुणाबाट प्रेरित थिएन । यसमा ओलीको मोह र प्रचण्डको भयले काम गरेको थियो । ओलीलाई जसरी भए पनि प्रधानमन्त्री पद सुनिश्चित गर्नु थियो । प्रचण्डलाई पार्टीको साईज खिइने भयबाट मुक्त हुनु थियो । ओलीको मोह र प्रचण्डको भय नै एमाले–माओवादी एकताको आधार थियो ।

तर ओली–प्रचण्डका वैयक्तिक अहंकार ज्युँदै थिए । ओलीलाई ‘म ठुलो पार्टीको अध्यक्ष हुँ’ भन्ने र ‘तेह्र वर्ष जेल बसेको हुँ’ भन्ने अहंकार थियो । प्रचण्डलाई ‘म जनयुद्ध र गणतन्त्रको नायक हुँ’ भन्ने अहंकार थियो । यहि अहंकारको परिणाम, यिनीहरूले ‘एक पार्टी, दुई अध्यक्ष’ को अप्राकृतिक निर्णय गरे । सँगै आधा–आधा कार्यकाल प्रधानमन्त्री पद भोग गर्ने लोभी सम्झौता पनि गरे ।

अर्काको पार्टीको नाम चोर्ने काममा भने दुवै अहंकारको मेल भयो । ‘हामीलाई कस्ले के गर्न सक्छ’ ? दुवैमा सवार भएको यहि अहंकारले उनीहरूले ‘ने.क.पा.’ नाममा ‘जबरजस्ती’ गरे । यो ‘जबरजस्ती’ यति महंगो पर्ला भन्ने यिनीहरूले सायदै सोचेका थिए ।

मोहन तिम्सिना

ओली आफ्नो मिसनमा स्पष्ट थिए । उनले सोचेका थिए, जुन दिन प्रधानमन्त्री भईन्छ, त्यसपछि प्रचण्डसँगका सम्झौताहरू रद्दी टोकरीमा फालिनेछ । पाँच वर्ष अकण्टक प्रधानमन्त्रीको पदभोग गरिनेछ । तर प्रचण्ड यसरी मक्ख परे– एमालेको वैशाखी टेकेर पार्टी खिइनबाट पनि बचाईने भयो, आधा कार्यकाल प्रधानमन्त्री पदभोग गर्न पनि पाईने भो ।

जसै ओली प्रधानमन्त्री बने, उनले प्रचण्डलाई प्रधानमन्त्री पदको भागबण्डा गर्ने सम्झौतै भएको छैन भनिदिए । पछि प्रचण्डले सम्झौताको ‘तमसुक’ नै देखाउनु पर्ने अवस्था आई लाग्यो । यहिँदेखि प्रचण्डमा ओलीप्रति वैरभावको तुष पस्यो ।
यसमा सहयोगी भई दिए, माधव नेपाल । प्रचण्ड र माधव नेपालको अहंकार समान ढंगले निर्मित थियो । यी दुवै पात्र दुई दशकदेखि आ–आफ्ना पार्टीभित्रको सर्वोच्च शासक बनेका थिए । यिनीहरू आफु बाहेक अरु जो कोहीलाई आफ्नो मातहतको मात्र देख्थे । दोस्रो, यी दुवैमा ‘म पटकपटक प्रधानमन्त्री भई सकेको मानिस हुँ’ भन्ने अहंकार पनि थियो । जब ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भएर दुवैतिर शासन गर्न थाले तब माधव नेपाल र प्रचण्डलाई निद्रा लाग्न छोड्यो ।

अब यी दुवै पात्रले कहाँ नेर ओलीको कमजोर छिद्र भेटिन्छ र विरोध गर्ने भनेर दाउ हेरिरहेका थिए । यो बेला पार्टी र सरकार सञ्चालनमा मनपरी गरेर ओली आफैंले दुई पात्रलाई विरोध गर्ने सजिलो अवसर जुटाई दिए । तब ओली–प्रचण्ड–माधव तनावको सिलसिला शुरु भयो ।

ओलीले स्पष्ट बुझेका थिए, चरित्रका हिसाबले प्रचण्ड-माधव समूह आफुभन्दा कति पनि फरक छैनन् । यिनीहरूको केहि दम छैन । उनलाई यो पनि थाहा थियो, प्रचण्ड–माधव समूहको विरोध कुनै सैद्धान्तिक होइन, बरु यिनीहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष पद भोग गरेको देख्न नसकेको हो । तब ओली उनीहरूका विरोधप्रति टसमस भएनन् ।

आखिर अहंकारको लडाईंले पुर्‍याउने भनेको विभाजन र विसर्जनमा नै हो । ओली, प्रचण्ड र माधव नेपालहरूको अहंकारले अन्त्यतः त्यहिँ पुर्‍यायो । बहुमतको सरकार पनि ध्वस्त भयो । पार्टी पनि धुजा-धुजा भयो ।

संकट पहिचानको सवाल
त्यसो भए आजको संकट पैदा हुनमा ओली, प्रचण्ड र माधवजस्ता कम्युनिष्ट नेताहरू नै दोषी हुन् त ? एक अर्थमा हुन् भन्न सकिन्छ । किनकी यिनीहरूसँग बहुमतको सरकार थियो । पाँच वर्षसम्म सरकार चलाउने जनादेश पनि थियो । त्यसैले राजनीतिक अस्थिरताका सबैभन्दा ठूला दोषी सत्तारुढ कम्युनिष्ट नेताहरू नै हुन् ।

यसमा पनि सबैभन्दा ठुला दोषी प्रधानमन्त्री ओली नै हुन् । किनकी उनी नै सर्वोच्च शक्तिमा थिए । उनले आफ्नो ‘घर झगडा’ मिलाउन सकेनन् । जसको असर सिंगो मुलुकले भोग्नु पर्‍यो । महामारीको बेला जनस्वास्थ्यमा ध्यान केन्द्रित गर्नुपर्ने, मुलुक यिनीहरूको ‘घर झगडा’ को बन्दी भयो ।

तर यहि निष्कर्ष अन्तिम सत्य भने होइन । यो तत्कालिक, सतही र स्थुल कुरा मात्र हो । आजको संकटलाई यसरी सतही ढंगले हेर्न मिल्दैन । यहाँसम्म कि अमुक नेता वा राजनीतिक प्रणाली वा सामाजिक/आर्थिक संरचना वा जनतालाई पनि आजको संकटको मूल कारक बनाउन मिल्दैन । निश्चयनै यी चारै तत्वका कमजोरी र सवलता, दुवै छन् । तै पनि यिनीहरू आजको संकटको मुल कारक होइनन ।

माथि उल्लेख गरिएका चार तत्व (नेता, राजनीतिक प्रणाली, सामाजिक/आर्थिक संरचना, जनता) राजनीतिक संकटका स्थुल कारक हुन् । जबसम्म संकटको सुक्ष्म कारक सम्म पुँगिदैन, तबसम्म सही निचोडमा पुग्न सकिँदैन । सुक्ष्म कारकसम्म तब मात्र पुगिन्छ, जब विश्लेषण पद्धति पनि सुक्ष्म नै अपनाईन्छ ।

तर आजसम्म मानिसहरू स्थुल विश्लेषण पद्धतिका आधारमा बोलिरहेका छन् । परिणामतः माथिका चार तत्व कै वरिपरि चक्कर लगाई रहेका छन् । यी चार तत्वलाई अलग–थलग गरेर यिनीहरू मध्ये कुनै एक तत्वमा समस्या वा समाधान खोजी रहेका छन् । विश्लेषणको यो तरिका गलत छ । यहि कारण मानिसहरूका निष्कर्षहरू अर्थहीन भइरहेका छन् ।

वास्तविकतामा माथि उल्लेखित चार कारकहरू अन्तरनिर्भर र परिपूरक छन् । यिनीहरूलाई अलग–थलग गरेर यिनीहरूमध्ये कुनै एक तत्वमा समस्या खोजेर कहिल्यै भेटिँदैन । यदि नेता खराब छ भने राजनीतिक प्रणाली, सामाजिक/आर्थिक संरचना र जनता, सबथोक खराब छ । यदि यी चार तत्वमध्ये कुनै सप्रिएको छ भने एकै चोटी चारै तत्व सप्रिएको हुन्छ । यिनीहरूमध्ये कुनै एकलाई छुट्याएर हेर्ने वा दोष दिने तरिकै गलत हो ।

दोस्रो कुरा, यी चार तत्व जहिल्यै गुण र दोषसहीत नै प्रकट हुन्छन् । न जनता महान हुन्, न नेता तुच्छ हुन् । बरु यिनीहरू दुवै गुण र दोषको संयोग हुन् । राजनीतिक प्रणाली र सामाजिक/आर्थिक संरचना पनि गुण र दोषसहीत कै हुन्छन् । समयसँगै यिनीहरूलाई परिमार्जन गरिरहनु पर्दछ । त्यसैले यिनीहरू कहिल्यै पनि निरपेक्ष सही वा निरपेक्ष गलत हुन सक्दैनन् ।

तेस्रो कुरा, राज्य वा राजनीतिका लागि माथिका चार तत्व, हतियार (साधन) मात्र हुन् । हतियार आफैंमा सही र गलत हुँदैन । यसलाई चलाउने हतियारधारी चाहिँ सही र गलत हुन सक्छ । अर्थात्, माथिका चार तत्व आफैंमा सही र गलत हुन सक्दैनन । यिनीहरूलाई डोर्‍याउने चिन्तन प्रणाली चाहिँ सही र गलत हुन सक्छ । त्यसैले, प्रष्ट भन्न सकिन्छ, आजको राजनीतिक संकटको मुल कारण माथिका चार तत्वमा अन्तरनिहित छैन । यिनीहरूलाई मार्गदर्शन गर्ने चिन्तन प्रणालीमा चाहिँ छ ।

यसको अर्थ, यदि नेता बिग्रिएको छ भने पनि उसको चिन्तन पद्धतिकै दोष हो । राजनीतिक प्रणालीले सही काम गरेन भने पनि त्यसलाई निर्माण गर्ने चिन्तन पद्धतिकै दोष हो । सामाजिक आर्थिक संरचना विभेदकारी भयो भने पनि त्यसलाई रचना गर्ने चिन्तन पद्धतिकै दोष हो । जनताले सही ठाउँमा भोट हालेनन् भने पनि जनताले अपनाएको चिन्तन पद्धतिकै दोष हो । यो केवल सैद्धान्तिक निष्कर्ष मात्र होइन, व्यवहारले पनि यहि देखाई रहेको छ । जुन तल चर्चा गरिने छ ।
यसका अतिरिक्त राजनीतिक संकटको परिघटना हाम्रो राष्ट्रिय परिधिमा सीमित छैन । यसका अन्तरराष्ट्रिय आयाम पनि छन् । संकटको कारक खोज्दा यो पक्षलाई पनि छुटाउन मिल्दैन ।

संकटका त्रिआयाम
अहिलेको राजनीतिक संकटलाई मुलतः तीन आयाममा हेर्न सकिन्छ ।

पहिलो, अवधारणागत संकट

विगत तीन सय वर्ष यता कुनै न कुनै शास्त्रीय विचारधाराहरू (उदारवाद, समाजवाद, राष्ट्रवाद, कल्याणवाद) ले नै विश्वमा शासन गरिरहेका छन् । तर ‘विज्ञानको निरन्तर विकास भई रहन्छ’ भन्ने मान्यता यी विचारधाराहरूको मामिलामा गलत सावित भएको छ । यिनीहरूको सिद्धान्तको विकास शताब्दी यतादेखि अवरुद्ध छ ।

अर्कोतिर आधुनिक विज्ञानका विधाहरूले यिनीहरूको सिद्धान्त र कार्यक्रम अप्राकृतिक र मानव विरोधी छ भन्ने देखाई सकेको छ । तर यिनीहरू अझै त्यहि शास्त्रीय, अप्राकृतिक र मानव विरोधी सिद्धान्तबाटै मानव कल्याण हुने अवैज्ञानिक दावी गरिरहेका छन् । जुन असम्भव छ ।

जब मानिस असम्भव कुरालाई सम्भव बनाउने निरर्थक प्रयत्न गर्दछ, तब ढोग र पाखण्ड गर्नु अनिवार्य हुन्छ । ढोगी र पाखण्डीहरूबीच सहकार्य होइन झगडा नै हुने हो । नेपालका पार्टीहरू भित्र चल्ने आन्तरिक किचलोको एउटा प्रमुख कारण यही हो । जसले गर्दा राजनीतिक अस्थिरता पैदा भई रहेको छ ।

दोस्रो, जीवन मूल्यको संकट

सबैखाले शास्त्रीय विचारधाराहरूले भौतिक सुख (धनसुख, पदसुख र शरीर सुख) बाहेक सब कुरा झुठ हो भन्दछन् । भौतिक सुख प्राप्तिलाई नै वैयक्तिक जीवन र राजनीतिक आन्दोलनको लक्ष्य बनाउनु पर्ने कुरा गर्दछन् । जब भौतिक सुखले सम्पन्न भईन्छ, तब मानव जीवनका सारा समस्या आफैं समाधान भएर जान्छन् भन्ने कुरा गर्दछन् । यो कुरालाई मनोविज्ञानको आधुनिक धाराले त खण्डन गरिसकेको छ । तर हाम्रा दलहरूको जीवन मूल्य यहि हो ।

व्यवहारमा यसखालको मान्यताले विध्वंशक परिणाम दिएको छ । हामीले देखेका छौं, विगत तीन सय वर्ष यता सारा विज्ञान र मानव प्रयत्न ‘प्रकृतिसंग संघर्ष गर्ने’ र ‘भौतिक सुविधा बढाउने’ होडमा दौडियो । ‘असीमित आर्थिक वृद्धि’ एउटा लोकप्रिय नारा भयो ।

आज जुन–जुन राष्ट्र वा व्यक्तिहरू भौतिक सुविधा सम्पन्न भएका छन्, वास्तविक जीवनमा तिनिहरूनै सबैभन्दा बढी असन्तुष्ट र विक्षिप्त देखिएका छन् । तिनीहरू नै लोभ लालचमा युद्ध गर्नसम्म आतुर छन् । तिनीहरू नै लुट खसोटको पागलपनमा बाँचिरहेका छन् । तिनीहरू नै प्रकृति र पर्यावरण ध्वस्त गर्न उद्यत छन् ।

तिनै मुलुकहरूमा युद्ध, अपराध, बेरोजगार, सामाजिक अतिवाद मौलाई रहेको छ । तिनै देशमा नौला नौला शारीरिक तथा मानसिक रोग र आत्महत्याको संख्या बढी रहेको छ । अर्थात्, भौतिक सुख प्राप्तिपछि मनुष्यका समस्याहरू स्वतः समाधान भएर जान्छन् भन्ने कुरा कहिँकतै मिलिरहेको छैन ।

तर हाम्रा दल र नेताहरू यस्तै उल्टो आदर्शमा हिँडिरहेका छन् । उनीहरू भित्र पैदा भएको ‘घर झगडा’ लाई हामीले यहि सन्दर्भसँग जोडेर हेर्नु पर्दछ । हाम्रा दलहरूको जीवन मूल्य नै विध्वंशक छ । जसले प्राकृतिक र सामाजिक पर्यावरण पनि ध्वस्त बनाउँछ । वैयक्तिक जीवनमा पनि केवल धन आशक्त, पद आशक्त र शरीर आशक्त विक्षिप्त र पाखण्डी पात्रहरू जन्माउँछ । ने.क.पा. मात्र होइन, सबै दलहरूमा चलिरहेको आन्तरिक किचलोको मुल कारण यहि हो । यहि आशक्त चरित्रले देशमा राजनीतिक स्थिरता कायम हुन दिई रहेको छैन ।

तेस्रो, ‘सामाजिक प्रविधि’ को संकट
माथि उल्लेख गरिएका स्थुल चार तत्व (नेता, राजनीतिक प्रणाली, सामाजिक/आर्थिक संरचना, जनता) नै ‘सामाजिक प्रविधि’ हुन् । हाम्रा सबैखाले दलहरूको ‘प्रविधि’ ले भन्छ सामाजिक द्वैतमध्ये कुनै एकको निषेध गर, त्यहि समाधान हो । जस्तो कि- उदारवादीहरू ‘समाज’ मेटाउनु पर्छ, ‘व्यक्ति’ बचाउनु पर्छ भन्दछन् । समाजवादीहरू ‘व्यक्ति’ मेटाउनु पर्छ, ‘समाज’ बचाउनु पर्छ भन्दछन् । राष्ट्रवादीहरू ‘परजाति’ मेटाउनु पर्छ, ‘स्वजाति’ बचाउनु पर्छ भन्दछन् । नैतिकतावादीहरू (कल्याणवादी) ‘अनैतिक नेतृत्व’ मेटाउनु पर्छ, ‘नैतिक नेतृत्व’ बचाउनु पर्दछ भन्दछन् ।

जुन असम्भव र अप्राकृतिक कुरा हो । आधुनिक विज्ञान भन्छ, प्राकृतिक वा सामाजिक वा मानसिक द्वैत आपसमा निषेध हुँदैनन् बरु परिपुरक हुन्छन् । त्यसैले यिनीहरूको आपसी निषेध होइन, गतिशील सन्तुलन चाहिँ कायम गर्नु पर्दछ ।
तर जब कोही असम्भव कुरालाई सम्भव बनाउने निरर्थक प्रयत्नमा लाग्छ, तब सिधा कुरा हो, उ असफल हुन्छ । तब दलभित्र आरोप प्रत्यारोप शुरु हुन्छ । अहंकारको टकराव शुरु हुन्छ । असफल हुने नेतृत्वले अनेक तर्क गरेर आफ्नो असफलता ढाकछोप गर्ने प्रयत्न गर्दछ । प्रतिद्वन्दी सहकर्मीले मूल नेतृत्वलाई गद्दारी गरेको, असक्षम भएको आदि आरोप लगाउँछ । तब फुट विभाजनको श्रृंखला शुरु हुन्छ ।

हाम्रा सबै दलहरूको अहिलेको व्यथा यहि हो । जसका कारण राजनीतिक स्थिरता कायम हुन सकिरहेको छैन । यो चर्चाको सार के हो भने, आजको राजनीतिक अस्थिरताका पछाडि अमुक नेताको मात्र हात छैन । अमुक राजनीतिक प्रणाली वा सामाजिक संरचनाको मात्र हात छैन । विगत तीन सय वर्ष यताको चिन्तन पद्धति नै मुल समस्या हो । जसले हाम्रो राजनीतिको तरिकालाई अप्राकृतिक र मानव स्वभाव विरोधी बनाई दिएको छ । यहि कारण मुलकुमा र विश्व स्तरमै यतिबेला राजनीतिक संकट पैदा भई रहेको छ ।

अब के गर्ने ?
जनताको अपेक्षा थियो, गणतन्त्रमा राजनीति पनि सप्रिन्छ । जनताको पनि भलो हुन्छ । तर गणतन्त्र नेपालको प्रारम्भिक अभ्यास मै हिजोको संसदीयकालकै जस्तो राजनीतिक संकट दोहोरियो । जनता पीडितको पीडितै छन् । नेताहरूको पुरानो प्रवृत्ति जस्ताको तस्तै छ । यसले सिंगो गणतन्त्रलाई बदनाम गराउने अवस्था बनेको छ । सामाजिक सञ्जालमा नेताविरुद्ध व्यापक आक्रोश पोखिन थालेको छ ।

यो बेला हामी राजनीतिक संकटको समाधान खोज्छौं भने सर्वप्रथम हाम्रो दृष्टिकोण बदल्न जरुरी छ । विगत दुई सय वर्ष यता केवल ‘सामाजिक प्रविधि’ (नेता, राजनीतिक प्रणाली, सामाजिक/आर्थिक संरचना, जनता) को जोड घटाउबाटै राजनीतिक संकटको समाधान खोज्ने प्रयत्न गरियो । तर त्यो अध्याय अब समाप्त भई सकेको छ । किनकी ‘सामाजिक प्रविधि’ को जोड घटाउ, जे जति हुन सक्थ्यो, त्यो भई सकेको छ । यहाँ भन्दा उता फेरि यहि क्रम दोहोर्‍याउने हो भने, त्यसबाट पुरानै मान्यताहरूको पुनरावृत्ति मात्र हुन्छ । कुनै नौलो समाधान आउँदैन । त्यसैले यो उपाय अब काम लाग्दैन ।

दोस्रो कुरा, हरेक ‘सामाजिक प्रविधि’ यसको ‘अवधारणा/पद्धति’ र ‘जीवन मूल्य’ सँग अभिन्न हुन्छ । राजनीतिको ‘अवधारणा’ र ‘जीवन मूल्य’ चाहिँ यथावत राख्ने अनि ‘सामाजिक प्रविधि’ मात्र फेर्न खोज्दा त्यसले कुनै नयाँ परिणाम दिँदैन । बरु पुरानो ‘अवधारणा’ र ‘जीवन मूल्य’ ले नयाँ भनिएको ‘सामाजिक प्रविधि’ लाई नै आफु अनुकूल उपयोग गर्दछ ।

तेस्रो, समस्या सामाजिक प्रविधिमा मात्र छैन । ‘अवधारणा’/‘पद्धति’, ‘जीवनमूल्य’ र ‘सामाजिक प्रविधि’, यी त्रितत्व मै समस्या छ । त्यसैले त्रितत्वको नै परिवर्तन, अर्थात् राजनीतिको विश्वदृष्टिकोण परिवर्तन (प्याराडाईम सिफ्ट) नै संकट समाधानको एकमात्र उपाय हो ।

अन्त्यमा
हाम्रा दलहरू मात्र शास्त्रीय होइनन्, उनीहरूले नयाँ संविधान पनि शास्त्रीय चरित्रको नै बनाएका छन् । त्यसैले राजनीतिक संकट समाधानका लागि मुलत दुईवटा काम हुनेछन् । पहिलो, राजनीतिमा प्याराडाइम सिफ्टको साझा घोषणापत्र निर्माण । दोस्रो, प्याराडाईम सिफ्टको साझा घोषणापत्र बमोजिमको संविधान संशोधन । के यो तहसम्म पुगेर छलफल शुरु गर्न हामी आँट गर्छौं ? के हामी विज्ञानको शास्त्रीय धारा छोडेर आधुनिक धाराको मार्गदर्शनमा हिंड्न तयार छौं ? राजनीतिक स्थिरता लगायत हाम्रो समग्र भबिष्य यसैमा निर्भर हुनेछ ।
organicworldview@gmail.com

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय