scheduleबुधवार आश्विन ६ गते, २०७८

अगुएरो चम्कँदा च्याम्पियन सिटीको फराकिलो जीत, युनाइटेडले वुल्भसलाई हरायो

प्रिमियर लिग ट्रफीका साथ सिटीका खेलाडी

काठमाडौं, १० जेठ । इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यान्चेस्टर सिटीले अन्तिम खेलमा शानदार जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले एभर्टनलाई ५-० ले हराएको हो ।

सिटीको जीतमा सर्जियो अगुएरोले २ गोल गर्दा केभिन डि ब्रुयना, गाब्रियल जेसस र फिल फोडेनले १-१ गोल गरेका थिए ।

खेलको ११औं मिनेटमा डिब्रुयनाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । दोस्रो हाफको ५३औं मिनेटमा फोडेनले गोल गरेपछि सिटी सहज जीततर्फ अघि बढेको थियो ।

क्लबका लागि अन्तिम खेल खेलिरहेका अगुएरो सब्स्चिट्युट भएर आएपश्‍चात् ७१औं र ७५औं मिनेटमा दुई गोल गरेपछि सिटी ५-० को फराकिलो अन्तरले विजयी भयो ।

अगुएरो आगामी सिजन बार्सिलोना जाने लगभग निश्‍चित भइसकेको छ । आउँदो शनिबार हुने च्याम्पियन्स लिग फाइनलमा चेल्सीविरुद्ध अगुएरो खेल्‍ने नखेल्नेबारे निश्‍चित भइसकेको छैन ।

जीतसँगै सिटीले ३८ खेलबाट ८६ अंकसहित लिग अन्त्य गरेको छ । पराजित एभर्टन ५९ अंकसहित १०औं स्थानमा सीमित रह्यो ।

त्यसैगरी गएरातिकै खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्सलाई उसैको मैदानमा २-१ ले हराएको हो । युनाइटेडका धेरैजसो नियमित खेलाडीलाई आराम दिइएको थियो ।

१३औं मिनेटमा एन्थनी एलाङ्गाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा नेल्सन सेमेडोले वुल्भसका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफकै इन्जुरी समयमा जुआन माटाले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई अगाडि राखे । त्यसपछि कुनै गोल भएनन् र युनाइटेड २-१ ले विजयी भयो ।

जीतपछि युनाइटेड ७४ अंकका साथ लिग अन्त्य गरेको छ । पराजित वुल्भस ४५ अंकसहित १३औं स्थानमा रह्‍यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय